Comments Add Comment

कोरोना संक्रमितको मनोबल बढाउन बुटवलमा ‘होम भिजिट’ अभियान

४  भदौ, बुटवल । देशका कतिपय स्थानमा कोरोना संक्रमितको घरमा ब्यानर राखिदिने, दुर्व्यवहार–अपहेलना गरेका समाचार आइरहेका छन् । तर, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भने कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकाहरुको घरमै गएर भेटेर हौसला दिने अभियान चलाएको छ ।

आयुर्वेद औषधि र स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र बोकेर मेयरसहितको टोली संक्रमितहरुको घरमै पुगेर भेट्ने कामको थालनी गरिएको हो । यसरी घरमै आएर उपमहानगरका प्रतिनिधिले भेटेर हौसला दिन थालेपछि कोरोना संक्रमितहरुको मनोबल बढेको उनीहरुको भनाइ छ । ‘कोरोना देखिएपछि स्वास्थ्यमा कुनै समस्या नभए पनि एक खालको तनाव हुँदो रहेछ,’ होम आइसोलेसनमा रहेका बुटवल–११ का केशवराज ज्ञवालीले भने, ‘मेयरसहितको टोली घरमै औषधि लिएर भेट्न आउँदा हौसला र मनोबल बढेको छ ।’

ठाउँ–ठाउँमा कोरोना संक्रमितमाथि समाजबाटै दुव्र्यवहार र मनोबल गिराउने काम समाचारमा पढ्दा दुख लाग्ने गरेकामा बुटवल उपमहानगरपालिकाले शुरु गरेको यस्तो काम सह्रानीय रहेको ज्ञवाली बताउँछन् ।

मंगलबारसम्म बुटवलमा ९५ जना संक्रमित हुँदा २४ महिला र ३४ पुरुष आफ्नै घरमा आइसोलेटेड भएर बसेका छन् । लक्षण नदेखिएका संक्रमितहरु सरकारले ताकेको मापदण्ड पूरा गरेर घरमै आइसोलेसनमा बस्न पाउने केन्द्रीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्देशिकामा व्यवस्था छ ।

सोही व्यवस्था अनुसार लक्षण नदेखिएका बुटवलका संक्रमितहरुमध्ये बुधबारसम्म ५८ जना होम आइसोलेसनमा छन् । उपमहानगरको टोली होम आइसोलेसना बसेका सबै संक्रमितको घरमा पुगेर भेटघाट गर्दै रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि दिने र उनीहरुको हौसला बढाउने अभियान शुरु गरिएको मेयर शिवराज सुवेदी बताउँछन् ।

घरमा आइसोलेसनमा बस्ने संक्रमितहरुलाई हरेक दिन स्वास्थ्यकर्मीको निगरानीमा बस्नु पर्ने र स्वास्थ्य अवस्थाको विवरण हरेक दिन स्वास्थ्यकर्मीलाई दिनु पर्ने व्यवस्था गरिएको सुवेदीले बताए । संक्रमितलाई भेटघाट गर्ने क्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको र अरुलाई पनि अपनाउन अपिल गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले बताए ।

बुधबार साँझसम्म बुटवलका संक्रमितको संख्या १ सय २७ पुगेको छ । अधिकांश संक्रमितहरु लक्षण नभएका रहेकाले होम आइसोलेसनमा बस्नुपर्ने हुँदा समाज र समुदायले उनीहरुप्रति भेदभावपूर्ण व्यवहार गर्न हुँदैन भन्ने सन्देश दिन ‘होम भिजिट’ अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment