+
+
Shares

राति १२ बजेदेखि बिहान ९ बजेसम्म कालीमाटी र बल्खु तरकारी बजार खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते १२:०५

५ भदौ, काठमाडौं । कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न  पसल दिनभरि सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।

तर चार बजे आएको कोभिड परीक्षण नतिजापछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमित थपिएको भन्दै दिनभरि बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उनले सुनाए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी वृतका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

तरकारी आयातमा निषेधाज्ञा प्रभाव

तरकारीको ठूलो खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिमा सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।

बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?