Comments Add Comment
सरकारी नीतिमाथि प्रश्न :

लकडाउन, लकडाउन र फेरि लकडाउन ?

कोरोना संकटका नाममा स्थानीय स्तरमा फेरि लकडाउन र निषेधाज्ञा घोषणाका श्रृंखला शुरु भएका छन् । जनजीवन पुनः ठप्प हुन थालेको छ । समाज पूरै आतंकित छ ।

संक्रमण विश्वव्यापी भएको लगभग ६ महिना बितिसक्दा पनि यो समस्या कहिले र कहाँ पुगेर समाधान हुन्छ, कसैलाई थाहा छैन । समाधानको सही उपाय के हो ? कुनै स्पष्ट धारणा बन्न सकेको छैन । समाधानका नाममा एउटै उपाय अपनाइएको छ, लकडाउन, लकडाउन र फेरि पनि लकडाउन ।

अब यस प्रकारको सरकारी नीतिमाथि प्रश्न गर्न जरुरी भएको छ । के कोरोना संकट हाम्रो सरकार र हाम्रा सञ्चारमाध्यमहरुले प्रचार गरेजस्तै भयावह महामारी हो ? कोरोनाका नाममा सारा समाजलाई आतंकित बनाउन जरुरी छ ? रोग पहिचानका नाममा कथित ‘पीसीआर’ परीक्षणमा सारा राज्यकोष खर्च गर्न जरुरी छ ? माक्सले भाइरस संक्रमणलाई रोक्न सक्छ ? लकडाउन नै समस्या समाधानको एक मात्र अचूक उपाय हो ?

यी प्रश्न गर्न किन पनि जरुरी छ भने हिजो शुरुवातमा कोरोना भाइरस सबैका लागि रहस्यकै विषय भए पनि आजसम्म आउँदा यसबारे धेरै कुराहरु स्पष्ट भइसकेका छन् ।

स्पष्ट भएको पहिलो तथ्य यो हो कि कोरोना भाइरसको संक्रमण दर अन्य सरुवा रोगको भन्दा उच्च छ । तर मृत्युदर नगन्य छ ।

दोस्रो, यसले दीर्घरोगी, बृद्धबृद्धा र कमजोर स्वास्थ्य अवस्था भएका मानिसलाई घातक असर गर्छ । तर, अन्य मानिसलाई यो साधारण ज्वरो तथा रुघाखोकीको संक्रमणजस्तो मात्र हो, जो सजिलै निको हुन्छ ।

तेस्रो, कथित पीसीआर परीक्षणले रोगको ‘संरचना’ पहिचानमा प्रभावकारी काम गर्न सक्दैन । साथै यो आम प्रयोगका लागि बनेको पनि होइन । त्यसैले कथित पीसीआर परीक्षणकै आधारमा रोग लागेको ठोकुवा गर्नु बिल्कुलै फट्याइँ मात्र हो ।

आज नेकपाका नेताहरुको हालत यस्तो छ कि यत्रो संकटका बेला सरकारमाथि पार्टीको नियन्त्रण पनि छैन । संकट समाधानको स्पष्ट नीतिगत कार्यदिशा पनि छैन । दुईतिहाई जनताको आशा र भरोसा बोकेको सरकार निरीह, लाचार, अर्कमण्य र दिशाहीन अवस्थामा रुमल्लिइरहेको छ ।

चौथो, कोरोना भाईरसलाई कुनै पनि माक्सले रोक्न सक्दैन ।

पाँचौं, कोरोनाका नाममा कथित विषेशज्ञहरुले जे–जे दाबी गरेका थिए, आजसम्म आउँदा ती दाबीहरु अधिकांशतः हावादारी सावित भएका छन् ।

छैठौं, जति पनि संक्रमितहरु निको भएका छन्, ती कुनै औषधिले होइन, आफ्नै आरोग्य क्षमताले निको भएका हुन् ।

सातौं, जति नै लकडाउन गरे पनि संक्रमण फैलन रोकिएको छैन, बरु यो आफ्नै सुरमा बढिरहेको छ । आजसम्म हामीलाई माक्स र लकडाउनले होइन, हाम्रै आरोग्य क्षमताले जोगाएको हो ।

यी यस्ता तथ्य हुन्, जसले हाम्रो सरकार र कथित विषेशज्ञहरुका नीतिहरुमाथि प्रश्न उठाउँछन् । त्यसैले, अब हामीले माथिका प्रश्नहरुलाई थप उच्च स्वरमा विस्तार गर्न जरुरी भएको छ ।

सरकारी नीतिमाथि प्रश्न गर्नुपर्ने थप अर्को कारण यो हो कि कोरोना भाइरससँग सम्बन्धित केही प्रश्नहरु अझै पनि अनुत्तरित छन् । जस्तो कि– कोरोना भाइरस कहाँबाट पैदा भयो र कसरी सर्छ भन्ने विषय अझै पनि रहस्यकै गर्भमा छ । पशु पंक्षीबाट यो पैदा भएको हो, भनिएको छ । यदि यही कुरा सत्य हो भने त कोरोना भाइरसको संक्रमणबाट पशु पंक्षीहरु पनि प्रभावित हुनुपथ्र्यो । तर, आजसम्म त यसले मानिसलाई मात्र सताइरहेको छ । किन कोरोना संक्रमण पशु पंक्षीहरुमा देखा परेन र किन यसले मानिसलाई मात्र प्रभावित गर्यो ? यो प्रश्नलाई आज कुनै पनि विषेशज्ञहरुले उत्तरित गर्न सकेका छैनन् । तर, अन्धाधुन्ध लकडाउन गर्नुपर्ने सिफारिस भने गरिरहेका छन् । यस कारण पनि कोरोना भाइरस संक्रमण रोकथामका नाममा अपनाइएको सरकारी नीतिमाथि प्रश्न गर्न जरुरी भएको छ ।

सरकारी नीतिमाथि प्रश्न गर्नुपर्ने अर्को गम्भीर कारण यो हो कि कथित लकडाउन एकथरीलाई बरदान र अर्कोथरिलाई अभिशाप बनिरहेको छ ।

विषेश गरी सरकारलाई स्वेच्छाचारी बन्न, प्रशासन संयन्त्रलाई मनपरी गर्न र सरकार संरक्षित तस्कर, माफिया र कालोबजारीयाहरुलाई कालो धन थुपार्न यो बरदान सावित भइरहेको छ । श्रमजीवीलाई यो अभिसाप बनिरहेको छ । यसकारण पनि सरकारी नीतिहरुमाथि प्रश्न गर्न जरुरी भएको छ । कतिपय मुलुकमा यसखालका सरकारी नीतिविरुद्ध विरोधका स्वरहरु बाहिर आउन थालिसकेका छन् । अब हामीले पनि यसतर्फ सोच्नु जरुरी भएको छ ।

शास्त्रीय पद्दतिको संकट

कतिपयले कोरोना भाइरस नै राजनीतिक षडयन्त्रद्वारा रचना गरिएको हो, भनेका छन् । तर, यसका लागि अहिलेसम्म त्यस्तो कुनै विश्वसनीय प्रमाण फेला परेको छैन । त्यसैले बिना तथ्य कोरोना भाइरसको विश्वव्यापी संक्रमण, राजनीतिक षडयन्त्रकै उपज हो भनेर निश्कर्ष निकाल्नु युक्तिसंगत हुँदैन । तर, इतिहाससिद्ध एउटा तथ्यचाहिँ स्पष्ट छ, जुनसुकै सामाजिक संकटमा पनि केही व्यक्ति, कर्पोरेट हाउसहरु र राज्यहरु ‘धमिलो पानीमा माछा मार्ने’ प्रयास गर्दैछन् ।

यसपालि कोरोना संकटलाई पनि यिनीहरुले यस्तै मौकाका रुपमा उपयोग गरिरहेका छन् । कथित पीसीआर सामाग्रीको व्यापार, माक्सको व्यापार, सरकार संरक्षित तस्करी, कालोबजारी र भ्रष्टाचार आदि यसकै उदाहरण हुन् ।

यति हुँदा पनि कोरोना संकट मूलतः चिन्तनगत समस्या नै हो । यो स्वास्थ्यसम्बन्धी पाश्चात्य÷यान्त्रिक÷शास्त्रीय दृष्टिकोण (बायो मेडिकल मोडेल) को संकट नै हो ।

बायो मेडिकल मोडेलको आधारभुत प्रस्थापनाले भन्छ, रोग एक ‘स्थानीय परिघटना’ हो, रोगको सुनिश्चित ‘संरचना’ हुन्छ । शरीरलाई ‘अंश’ मा टुक्रा गरेर हेर्दा रोगको‘संरचना’ बारे ज्ञान हुन्छ । किटाणुका कारणले वा शरीर‐यन्त्रको गडबडीका कारणले जीवलाई रोग लाग्छ । डाक्टरको यान्त्रिक हस्तक्षेपले वा उपयुक्त प्रतिरोधी औषधिको प्रयोगले रोगलाई ठीक पार्न सकिन्छ । यही प्रस्तावनालाई आज स्वास्थ्यसम्बन्धी पाश्चात्य वा शास्त्रीय दृष्टिकोण भनिन्छ ।

‘किटाणु सिद्धान्त’ (जर्म थ्योरी) का प्रवर्तक लुई पाश्चर स्वयं यो प्रस्तावनामा विश्वास गर्दैन थिए । उनले किटाणुले स्वस्थ व्यक्तिलाई आक्रमण गर्न नसक्ने, केवल कमजोर स्वास्थ्य भएकालाई मात्र आक्रमण गर्न सक्ने तथ्य थाहा पाएका थिए । उनले रोग पैदा हुनुमा किटाणुको मात्र भुमिका हुँदैन, वातावरणीय परिवेशको पनि उत्तिकै भुमिका हुन्छ भन्ने तथ्य पनि थाहा पाएका थिए । तर, उनले यस विषयमा धेरै काम गर्न भ्याएनन् । साथै उनी यान्त्रिक चिन्तनको बोलवाला भएको समयमा थिए । त्यसैले उनको ‘किटाणु सिद्धान्त’ लाई पछि गएर यान्त्रिक मोडेलमै व्याख्या गरियो । अर्थात रोगको निर्णायक कारण किटाणु नै हो भनियो ।

आज स्वास्थ्य विज्ञानमा ‘प्याराडाइम सिफ्ट’ भइसकेको छ । अर्थात आजको आधुनिक स्वास्थ्य दृष्टिकोणले स्वास्थ्यसम्बन्धी माथिको प्रस्तावनालाई मान्दैन । आधुनिक स्वास्थ्य विज्ञान पूर्वीय आयुर्वेदसँग निकट आएको छ । स्वास्थ्य विज्ञानको आधुनिक धाराले भन्छ, रोगलाई किटाणुमा सीमित हुने ‘स्थानीय परिघटना’मान्नुहुँदैन, बरु शारीरिक, मानसिक, सामाजिक र वातावरणीय असन्तुलनको ब्रम्हाण्डीय (अस्थानीय) परिघटना मान्नु पर्दछ ।

अर्थात, रोगका कारणहरु सर्वाङ्गीण हुन्छन् र समाधान पनि सर्वाङ्गीण नै हुनु पर्दछ । त्यसैले रोगको उपचारका नाममा शरीरलाई ‘अंश’ मा टुक्रा गर्ने र रोगको ‘संरचना’ खोज्ने विधिमा होइन, रोगको समग्र उपचार खोज्ने विधिमा लाग्नुपर्छ भन्ने मानिन्छ । तर, विश्व स्वास्थ्य संगठन, धेरैजसो राज्यहरु र तथाकथित विषेशज्ञहरुले कोरोना समस्यालाई शास्त्रीय नजरले नै हेर्ने र शास्त्रीय विधिबाटै समाधान खोज्ने प्रयास गरे ।

विश्वभर भयावह भाइरस फैलिँदै छ भन्ने प्रचार गरियो । कथित भाइरसको ‘संरचना’ को पहिचानमा र भाइरस मार्ने औषधिको खोजीमा सारा प्रयत्न केन्द्रित गरियो । कथित आरडीटी र पीसीआर परीक्षणको जाल फैलाइयो । थुप्रै ‘एलोपेथिक’ कम्पनीहरुलाई यसको ‘बिजिनेश’ उपलब्ध गराइयो ।

तर, महिनौंको प्रयत्नले पनि कुनै समाधान दिन सकेन । यसले केवल बायोमेडिकल मोडेलको निकम्मापन र बेइज्यतीमात्र गरिदियो । आरडीटी र पीसीआर परीक्षण पद्दतिका गल्तीहरु पटक–पटक देखा परिरहे । वीचवीचमा थुप्रैले औषधि पत्ता लगाएको दाबी गरे । तर, ती प्रत्येक दाबीहरु क्षणभरमा हावादारी सावित भए ।

अर्कोतिर व्यवहारिक तथ्यहरुले पनि कोरोना रोगबारे कथित विषेशज्ञहरुले भनेका कुराको ठीक उल्टो तथ्य देखाए । जस्तो कि– कोरोना भाइरस संक्रमणको असर सबै व्यक्तिहरुमा एक समानको देखिएन । व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र वातावरणीय परिवेशको विशिष्टताअनुसार यसको असर व्यक्तिपिच्छे फरक–फरक देखियो । साथै यसको मृत्युदर पनि नगन्य देखियो । गर्मी मौसममा यो आफैं नष्ट हुन्छ भन्ने धारणा पनि गलत देखियो । यो मानवीय काबुभन्दा बाहिरकै समस्या हो जस्तो पनि देखिएन ।

वैकल्पिक चिकित्सा पद्दतिका प्रयोगहरुको अनुभवबाट यो सिद्ध भयो कि यदि समग्र उपचार (शारीरिक, मानसिक, सामाजिक र पर्यावरणीय) का केही न्यूनतम पक्षलाई मिलाइयो भने मात्र पनि कोरोना, नियन्त्रण गर्न सकिने रोग नै हो

त्यसैले, आज यो स्पष्ट भन्न सकिन्छ, कोरोना संकट मूलतः शास्त्रीय स्वास्थ्य विज्ञानको संकट हो । यदि स्वास्थ्यसम्बन्धी आयुर्वेदीय वा आधुनिक ‘प्याराडाइम’ अनुसारको समाधान खोज्ने हो भने यो साधारण र नियन्त्रण गर्न सकिने समस्या नै हो । जसका लागि लकडाउन गरेर सारा समाजलाई भयावह ‘जेल’ मा परिणत गर्न जरुरी नै छैन । केवल स्वास्थ्य र उपचारसम्बन्धी सोच र पद्दति बदल्नु नै पर्याप्त छ ।

तर, विश्व स्वास्थ्य संगठन, कथित विषेशज्ञहरु र सरकारहरु आजसम्म पनि यो तथ्य आत्मसाथ गर्न तयार देखिँदैनन् । बरु यिनीहरु समाजमा कोरोना संक्रमणको भय फैलाउनमै उद्यत छन् । जसले जनजीवनलाई कष्टकर बनाएको छ ।

दिग्भ्रमित दलहरु

संकटपूर्ण परिस्थितिमा राजनीतिक दलको अभिभारा व्यापक हुन्छ । यस्तोबेला जिम्मेवार राजनीतिक शक्तिहरुले संकटका सर्वाङ्गीण आयामहरुको समीक्षा गर्ने, संकटको परिभाषा गर्नेर समाधानको उपयुक्त नीति तय गर्न जरुरी हुन्छ ।

तर, कोरोना प्रकरणमा हाम्रा दलहरु अत्यन्तै दिग्भ्रमित देखिए । सत्तारुढ नेकपाका नेताहरु केहीले सुविधा ‘त्याग’ को भावुक वैयक्तिक घोषणा त गरे । केहीले ‘सर्वदलीय संयन्त्र’ को कुरा उठाए । तर, संकट समाधानको नीतिगत छलफल गर्न जरुरी ठानेनन् । बरु शास्त्रीय सोचको रुढीग्रस्त हल्लालाई नै सदर गर्दै बसिरहे ।

आज नेकपाका नेताहरुको हालत यस्तो छ कि यत्रो संकटका बेला सरकारमाथि पार्टीको नियन्त्रण पनि छैन । संकट समाधानको स्पष्ट नीतिगत कार्यदिशा पनि छैन । दुईतिहाई जनताको आशा र भरोसा बोकेको सरकार निरीह, लाचार, अर्कमण्य र दिशाहीन अवस्थामा रुमल्लिइरहेको छ ।

यो समस्या सत्तारुढ दलको मात्र होइन । प्रतिपक्षी दलहरुको हालत पनि यस्तै देखियो । प्रतिपक्षीहरुले सरकारको भ्रष्टाचारका कदमहरुको त विरोध गरे । ‘सर्वदलीय संयन्त्र’ को कामचलाऊ माग पनि उठाए । तर, संकट समाधानको नीतिगत प्रस्ताव तयार गर्ने कुरामा भने उनीहरुले पनि कुनै पहल र प्रयत्न गरेनन् । बरु लकडाउन कडा गर्नुपर्ने र पीसीआर परीक्षण बढाउनुपर्ने जस्ता रुढीग्रस्त मागलाई नै उनीहरुले सडक आन्दोलनको नारा बनाए ।

यत्रो संकटका बेला हाम्रा दलहरुले किन नविन ढंगले सोच्न सकेनन् ? किनकि, हाम्रा दलहरु (सत्तापक्ष र प्रतिपक्ष सबै) स्वयं नै शास्त्रीय विचाराधाराको जगमै उभिएका छन् । राजनीति र स्वास्थ्य नीति दुवैका विषयमा उनीहरु शास्त्रीय पाराले नै सोच्छन् । लकडाउन र पीसीआर परीक्षणमा जोड दिने कथित स्वास्थ्य विशेषज्ञहरुसँग उनीहरुको सम्प्रदाय मिल्छ । त्यसैले हाम्रा सबै दलहरु यस्तै रुढीग्रस्त विशेषज्ञहरुको लोलीमा बोली मिलाउँदै दिन काटिरहे । दलहरुका तर्फबाट समस्या समाधानको सार्थक पहलकदमी नै हुन सकेन ।

जागृत बिद्रोह गरौं

कोरोना संकट प्राकृतिक प्रकोप होइन, यो मूलतः मानव सृजित संकट हो । यो किटाणुजन्य समस्या मात्र होइन, यो हामीले विगत तीन सय बर्षदेखि अपनाउँदै आएका चिन्तन र मूल्य मान्यताका खराबीहरुकै अभिव्यक्ति हो । खासगरी यो प्रकृति, जीवन र समाजको स्वभाव बिरुद्धका मानवीय कृयाकलापले पैदा गरेको समस्या हो । यो हामी मनुश्य जातिको भौतिक सुख (धन सुख, पद सुख र शरीर सुख) को अस्वाभाविक महत्वाकांक्षाले पैदा गरेको समस्या हो ।

सारमा यो भौतिकवादी दर्शन र शास्त्रीय विचारधाराहरुका अप्राकृतिक र पागलपनयुक्त सोच र क्रियाकलापका कारणले पैदा भएको समस्या हो । यो समस्याका पछाडि असीमित ‘आर्थिक बृद्धि’ले जीवन गुणस्तरीय बन्छ भन्ने उदारवाद र ‘उत्पादन छ्याल–ब्याल भयो भने समाजवादको आधार तयार हुन्छ’ भन्ने साम्यवाद, दुवै बराबर जिम्मेवार छन् ।

त्यसैले आजको कोरोना संकट वा भोलि आउन सक्ने यस्तै समस्याहरु ‘भ्याक्सिन’ खोजेर समाधान हुँदैनन् । बरु हाम्रो चिन्तनको ‘प्याराडाइम’ बदल्दा, स्वास्थ्यसम्बन्धी बैकल्पिक पद्दति अपनाउँदा मात्र समाधान हुन्छन् । अर्थात शास्त्रीय चिन्तन र पद्दतिको ठाउँमा जैविक चिन्तन र पद्दतिले मात्र समस्याको दिगो समाधान दिन सक्छ । त्यसैले हाम्रा पहलहरु अब यतातिर लक्षित हुनु पर्दछ ।

तर, आजसम्मका सरकारी कदमहरु त ठीक उल्टो दिशातिर लक्षित भइरहेका छन् । सरकारको मूर्खताले हद पार गरिसकेको छ । त्यसैले यतिबेला नागरिक स्तरबाट तत्काल निम्न आवाज उठाउन जरुरी भएको छ :

पहिलो, अन्य रोगले मृत्यु भएका वा स्वाभाविक मृत्यु भएकालाई पनि तथाकथित पीसीआर परीक्षण गर्ने र कोरोना संक्रमण पुष्टि गर्ने अनि ‘आज यतिजना संक्रमित थपिए’, ‘यतिको मृत्यु भयो’, भन्दै सञ्चार माध्यमहरुमा भयावह समाचार बनाएर प्रसार गर्ने काम तत्काल बन्द गर्नु पर्दछ । किनकि, यहाँ कोरोना संक्रमणले मृत्यु हुनेभन्दा लकडाउनको पीडाले आत्महत्या गर्ने वा भयका कारणले मृत्यु हुनेको संख्या बेसी भइसक्यो ।

दोश्रो, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारको प्रयत्न मात्र पर्याप्त हुँदैन । यसमा मूलतः नागरिक सचेतना र सक्रियताचाहिँ निर्णायक हुन्छ । हामीले आ–आफ्ना गाउँ टोलहरुमा विशेष अभियान सञ्चालन गर्न जरुरी हुन्छ । सबै टोल समितिहरुले आ–आफ्ना ठाउँमा वृद्धवृद्धा, दीर्घरोगी र कमजोर स्वास्थ्य भएकाहरुका लागि अलग र शंकास्पद संक्रमितहरुका लागि अलग स्याहार केन्द्र व्यवस्था गर्नुपर्छ । यो कामका लागि सरकारी साधन श्रोत उपयोग गर्न सकिन्छ । तर, सारा गाउँ बस्ती र बजार नै बन्द गर्ने, अनि माक्स लगाएर बस्ने जुन बिधि अपनाइएको छ, यसलाई तत्काल खारेज गर्नु पर्दछ ।

तेस्रो, पीसीआर परीक्षणका नाममा राज्यकोषको दोहन बन्न गर्नुपर्दछ । अति संवेदनशील केसमा मात्र यसको उपयोग गर्नु पर्दछ । बाँकी व्यक्तिहरुका लागि विषेश स्याहार केन्द्रहरुमा सावधानी अपनाउने र आयुर्वेद वा वैकल्पिक चिकित्साका विधिबाट उपचार गर्ने उपाय अपनाउनुपर्छ । सरकारले संक्रमण रोकथाम र उपचारका लागि बैकल्पिक चिकित्सा (आयुर्वेद, होमियोप्याथी आदि) मा आधारित ‘प्रोटोकल’ लाई लागु गर्न विषेश जोड गर्नुपर्छ ।

चौथो र अन्तिम कुरा, लकडाउन कुनै पनि अर्थमा समस्याको समाधान होइन । यसको सट्टा हाम्रो सोच, खानपान र जीवनशैलीमा परिवर्तन जरुरी छ । हाम्रो घर, करेसाबारी र गाउँटोलहरुको सुधार जरुरी छ । हाम्रो स्वास्थ्य चेतनामा परिवर्तन जरुरी छ ।

त्यसैले अब लकडाउनलाई मौन समर्थन गरेर घरमा नबसौं । आफ्नै सोच र जीवनशैली परिवर्तन गरौं । आफ्नै टोल र बस्तीको वातावरण र संस्कृति सुधार्नपट्टि लागौं । रोग सर्छ भनेर भय ग्रस्त नबनौं । गलत सरकारी नीति र लकडाउनका विरुद्ध आ–आफ्ना ठाउँबाट जागृत नागरिक बिद्रोह शुरु गरौं ।

(इटहरी निवासी तिम्सिना समसामयिक विषयमा कलम चलाउँछन्)

यो पनि पढ्नुहोस राजनीतिमा ‘प्याराडाइम सिफ्ट’को रुपरेखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment