+
+
Shares

युरिया मल नपाएपछि किसानको आक्रोश : कृषि मन्त्रीलाई कारबाही गर

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ ६ गते १२:३५
बजारमा मल नपाएपछि भारतबाट किसान आफैंले ल्याएको मल प्रहरीले बरामद गरेको विरोधमा भेला भएका ओमसतियाका किसान

६ भदौ, बुटवल । रुपन्देहीको ओमसतिया–५ पट्खौलीका किसान आशिष चौधरीको परिवारको खर्च धान्ने मुख्य आम्दानीको स्रोत धान खेती हो । पाँच बिघा खेत भएका चौधरी रोप्ने बेलामा राम्रो वर्षा भएको र मल पनि पाइएकाले धान उत्पादन बढ्ने आशामा थिए । तर झार गोडेपछि युरिया राख्ने समय घर्किन लाग्दा पनि मल नपाएपछि अहिले उनी निराश बनेका छन् ।

खेतमा झार गोडिसकेपछि उत्पादन बढाउन सामान्यतः धान रोपेको एक महिनामा खेतमा युरिया मल राख्नुपर्ने हुन्छ । तर युरियासहित सबैखाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा एक बोरा पनि युरिया मल छैन । धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले खेतमा मल राख्न पाएका छैनन् । मल नपाउँदा आशिष चौधरीजस्तै अधिकांश किसान धान उत्पादन र आम्दानी घट्ने चिन्तामा छन् ।

कतिपय किसान भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य छन् । विगतमा पनि कृषि सामग्री केन्द्रले मागअनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट विभिन्न माध्यमबाट आएको मल किनेर प्रयोग गर्ने गर्थे । तर यो वर्ष त कोरोना महामारीका कारण दुवै देशमा लकडाउन र निषेधाज्ञा जारी भएकाले भारतबाट विगतमा जसरी मल आउन पाएको छैन । छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिई भन्सार चलान गर्ने गरेको छ । बुधबार मात्रै रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकाबाट दुईजनाको घरबाट ७६ बोरा मल बरामद गरेर लग्यो । त्यस क्रममा स्थानीय र प्रहरीबीच केहीबेर तनाव पनि भयो ।

कानूनी हिसाबले भन्सार छलेर ल्याइएको मल बरामद गर्नु प्रहरीको कर्तव्य भएपनि किसानहरु यो मान्न तयार छैनन् । बरु किसानहरु प्रहरीले ‘घुस’ नपाएका कारण किसानले किनेर ल्याएको मल खोसेर अमानवीय काम गरेको आरोप लगाउँछन् । राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष रहेका ओमसतियाका अगुवा किसान देव धवल आक्रोश पोख्दै भन्छन्, ‘धानमा मल राख्न ढिला भइसक्यो, सरकारले न आफूले मल उपलब्ध गराउंँछ, न किसानले आफैं जोहो गरेको मल राख्न दिन्छ ।’

किसानले धानमा छर्नका लागि जोहो गरेको भारतीय मल प्रहरीले कानुनी दाउपेच देखाइ घर–घरमा खानतलासी गरेर कब्जा गर्नु सरासर गलत भएको धवलको धारणा छ ।

किसानलाई युरिया मल उपलब्ध गराउने जिम्मेवारी पाएका सरकारी निकायलाई मल दिन नसकेको र कालोबजारी गरेको आरोपमा कृषि मन्त्रीलगायत सम्बन्धित सबैलाई कारबाही गर्न उनले माग गरेका छन् । ‘कारबाही गर्न नसके हातमा चुरा लगाए बस तर अबोध कृषकलाई सताउने काम बन्द गर,’ धवलले भने ।

सरकारले आफूले मल दिन नसकेपछि कोरोना महामारीको असहज अवस्थालाई हेरेर लचकता र व्यवहारिकता हेर्नुपर्नेमा प्रहरीले घर–घरमा आएर मल खोसेर लैजानु ज्यादती भएको रुपन्देहीको रोहिणी गाउँपालिका अधयक्ष सनोज यादव बताउँछन् । भारतबाट साइकलमा एक–एक बोराका दरले किसानले जोहो गरेको मल खेतमा राख्न दिनुपर्नेमा भन्सारमा लगेर ६ महिना थन्काएर काम नलाग्ने बनाउनु ‘किसानमारा’ काम भएको यादवले बताए ।

ओमसतियाकै किसान एवं जनता समाजवादी पार्टी रुपन्देहीका नेता देवेन्द्र पाण्डे विगत वर्षहरुमा किसानले आफ्नो खेतमा राख्न भारतबाट एक–दुई बोरा मल ल्याउँदा ‘नजरअन्दाज’ गरेर सहयोग गरेपनि अहिले विषम परिस्थितिमा प्रशासन झन् अव्यवहारिक बनेको बताउँछन् । ‘सरकारले सहजरुपमा पर्याप्त मल उपलब्ध गराएको खण्डमा कसैले पनि कानुन विपरीत जोखिम मोलेर महंगोमा किन्दैन,’ पाण्डेले भने, ‘मलको समस्याको दीगो समाधान खोजिनुपर्छ, किसानले ल्याएको दुई–चार बोरा मल खोसेर समस्या समाधान हुन्न ।’

कृषि सामग्री केन्द्र प्रादेशिक डिपो कार्यालय भैरहवाका सहायक प्रवन्धक एवं सूचना अधिकारी गणेशप्रसाद घिमिरे धान रोप्ने बेलामा डीएपी मल पर्याप्त उपलब्ध भएपनि साउनयता युरिया मल आउन नसकेको बताउँछन् । ‘कृषि मन्त्रालयले साउन पहिलो हप्ता आउँछ भनेको मल भदौसम्म पनि आएको छैन,’ उनले भने, ‘पर्याप्त वर्षा भएकाले धेरै रोपाइँ हुन पायो अन्यथा मल नहुँदा उत्पादन धेरै घट्ने रहेछ ।’ समयमा युरिया मल उपलब्ध गराउन सकेको भए यो वर्ष धान उत्पादन कम्तीमा १० प्रतिशतले बढ्ने अवस्था रहेपनि अब समय घर्किसकेको स्वीकार गरे ।

प्रदेश कृषि विकास निर्देशनालयका मल फोकल पर्सन अनिल बानियाका अनुसार प्रदेश ५ मा वार्षिक करिब ८० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । विगत वर्षहरुमा पनि मागको तुलनामा ३० प्रतिशत कम परिमाण मात्रै आयात हुने गर्दथ्यो । प्रादेशिक डिपो भैरहवाबाट गत वर्ष ५४ हजार १ सय ४४ मेट्रिक टन युरिया, ३९ हजार २६३ मेट्रिक टन डीएपी, ५६६ मेट्रिक टन एसएसपी जिंक, १ हजार ४ सय ४ मेट्रिक टन पोटास, २७ मेट्रिक टन बोरोन, ५ हजार ६ सय ६७ मेट्रिक टन एसएसपी र एक हजार ४ सय ८४ मेट्रिक टन एमुनियम सल्फेट वितरण भएको बानियाले बताए ।

प्रदेश ५ मा ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर खेतमा धान खेती हुन्छ । गत वर्ष ९०.०२ प्रतिशत खेतमा धान रोपाइँ हुँदा १२ लाख ५३ हजार ८९ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले बताए । यो वर्ष धान रोपाइँ ९५ प्रतिशतभन्दा बढी भएको छ । तर युरिया मल बेलैमा नपाउँदा धान उत्पादन बढ्ने अवस्था छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले अवैधरुपमा ल्याइने मल वा जुनसुकै वस्तु कानून अनुसार नियन्त्रणमा लिएर भन्सार चलान गर्नु प्रहरीको कर्तव्य भएको बताउँछन् । ‘अरु सामानका हकमा जस्तै मलमा पनि गैरकानुनी तरिकाले आयात गरेको भेटिएपछि छाड्ने कुरा हुँदैन, छाड्नु भनेको तस्करीलाई वैधता दिनु हो,’ उनले भने ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?