Comments Add Comment

गौरा पर्व शुरु, कोरोनाले हरायो रौनक

फाइल तस्वीर

७ भदौ, कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारी एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाई महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय रमेश पाण्डेयले बताए ।

महिलाले माङ्गलिक गीत गाउँदै गाउँका पँधेरो, खोला र नदीका मुहानमा बिरुडा भिजाउने कार्य गरेको उनले जानकारी दिए । षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र ( दुव धागो) धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत विद्यमान छ । सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।

विगतमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहे पनि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण महिलाले घरपरिवारका सदस्य मिलेर गौरा भित्राएका छन् । गौरा पर्वको महत्वपूर्ण दिन अष्टमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर नाच्ने गर्दछन् ।

अठेबालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेबाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारी बताउँछन् । अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औंला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।

यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो । अहिले मानिसले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घरघरमा भिजाउने गरेका छन् ।

हिमालयकी छोरी पार्वतीले शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको भण्डारीको भनाइ छ । पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् । व्रत बसेको अठेबालीका दिन महिलाले गौरादेवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।

धुमारी र ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले ठाडो खेल र देउडा खेलेर धुमधामसँग मनाउने गर्छन् । गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिलाहरु निराहार हुन्छन् र कसैले फलाहार गर्छन् ।

यसअघि महिलाहरुले आफना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेबालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भन्ने गरिएको संस्कृतिका जानकार टेकबहादुर हमाल बताउँछन् ।

अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुशी बनाउन अठेबालीका दिन पुरुष विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।

महिलाहरुले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भने चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ ।

अठेबालीका दिन पुरुषहरुले आफ्नो जनै समेत फेर्ने गर्छन् भने व्रत बसेका महिलाले नयाँ दुबो धागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् ।

गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यस वर्ष विदेशबाट फर्कनेहरु अगाडि नै घर फर्के पनि गौराको रौनक भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment