Comments Add Comment

महामारीमा कसरी गर्ने तथ्याङ्क संकलन ?

महामारी वा आर्थिक संकटका बेला समाजमा विकसित पछिल्ला घटना वा परिस्थितिका सन्दर्भमा जानकारी राख्ने उत्सुकताका लागि वा नीति निर्माताका लागि वा समाजका आमनागरिकलाई सूचना दिनका लागि उच्च आवृतिका तथ्याङ्क वा सूचनाले ठूलो महत्व राख्छ । यस्तो बेला विकसित परिस्थिति अतिगतिशील हुन्छ । विकसित परिस्थितिको मूल्याङ्कन र भविष्यमा यसले लिने म्याग्नेच्युट (आयतन) प्रवृत्ति र अवाञ्छित दिशालाई नियन्त्रण गर्न उच्च आवृतिका तथ्याङ्कले पूर्वसूचना वा संकेत गर्छ । यस्ता तथ्यमा आधारित निर्णयहरू गर्नसकेमा समाजलाई दुर्घटनाबाट बचाउन सहयोग पुर्‍याउँछ । अति सुक्ष्म स्केलमा समयक्रम अनुसार संकलित तथ्याङ्कलाई उच्च आवृत्तिको तथ्याङ्क भन्ने गरिन्छ ।

प्रविधिको विकास अनुसार तथ्याङ्कलाई मिनेट, घण्टा र दिनको आधारमा अभिलेख गरिन्छ । भूकम्पका बेला बारम्बार हल्लिरहने जमिनको त्रासबाट कहाँकहाँ कति स्केलको भूकम्प गयो र  त्यसको क्षति कति भयो भन्ने जान्न हामी उत्सुक रहृयौं । नाकाबन्दीको बेला कति इन्धन, प्याज र तरकारी कतिबेला भित्रियो भन्ने कुरामा हामी टेलिभिजन वा रेडियो सुन्नमा व्यस्त रहृयौं । पेण्डामिकका बेला कति संक्रमित, कहाँ र कसरी फैलिएको छ, त्यो सूचना प्राप्त गर्न हामी प्रतीक्षारत हुन्छौँ ।

कोरोनाले पारेको आर्थिक, सामाजिक प्रभाव त झनै जटिल हुन्छ । यस्ता प्रभावको जानकारी आर्थिक तथा सामाजिक चरहरूको सूचकबाट मिल्छ । राजस्व कति उठ्यो, कति सरकारी ढुकुटीबाट खर्च भयो, कहाँ खर्च भयो ? बैङ्किङ क्षेत्रमा कति ऋण गयो ? कति उठ्यो ? निक्षेप कति आयो ? मूल्यमा कति उतारचढाव आयो ? कति निर्यात भयो ? कति आयात भयो ? आदि सूचना उच्च आवृत्तिमा संकलन भयो भने जनतालाई सुसूचित गर्न सहयोग पुग्ने र समयसापेक्ष निर्णय गर्न सरकार तथा नीति निर्मातालाई सहयोग पुर्‍याउँछ ।

त्यसो त सम्बन्धित सरकारी निकायले यस्ता तथ्याङ्कहरू अभिलेख गरेका पनि हुन्छन् तर प्रशोधन र प्रकाशनको अर्को पक्ष अलपत्र नै हुन्छ । सलह मुलुकभित्र प्रवेश गरेको, त्यो कहाँ पुग्यो भनि पछ्याएको सूचना त दिइयो तर हाल त्यो कहाँ छ त्यो सूचना छैन । त्यसको तथ्याङ्क संकलन सजिलो पनि छैन । यो काम उच्च तालिम प्राप्त जनशक्तिले गर्न सक्छ किनकि तथ्याङ्क प्रशोधन जटिल छ र त्यसको वर्गीकरण अर्थपूर्ण ढंगबाट गर्नुपर्ने हुन्छ ।

प्रायः सरकारी निकायमा तथ्याङ्कको कामलाई कर्मचारीले रूचाउँदैनन् र न्यून प्राथमिकताको विषय बनाउँछन् । बैङ्िकङ क्षेत्रमा पनि यसको अवस्था उस्तै छ । यसलाई अतिरिक्त भार र खर्चिलो रूपमा लिने गरेको पाइन्छ । त्यसैले शुद्ध तथ्याङ्क पाउन गाह्रो छ । तथ्याङ्कको विश्वसनीयतामा पनि प्रश्न उठ्ने गर्दछ ।

तथ्याङ्कको प्रकाशनलाई निकै ढिलाइ गर्ने रोग वा परम्परा छ । अपेक्षित नतिजा आएन भने लुकाउने वा ढाकछोप गर्ने गरिन्छ । जस्तै, केही समयअघि बाघको गणनाको तथ्याङ्कमा यस्तै खबर पत्रपत्रिकामा आयो । केन्द्रीय बैङ्कले भारतीय रुपैयाँको चलनचल्तीको सर्वेक्षण गर्दा निस्केको परिणाम अनपेक्षित रहृयो । अर्थ मन्त्रालयले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर अपेक्षित भएन भने त्यसलाई पुनरावलोकन गर्न वा बढाउन दबाब दिने गरेको पनि सुन्नमा आउँछ । यी कामहरू भइरहँदा तथ्याङ्कको असल विशेषता गुमाउँदै जाने हुन्छ र तथ्याङ्कले गलत बाटो निर्देश गरेको हुन्छ ।

उच्च आवृत्तिका तथ्याङ्कहरू सामान्यतया प्राथमिक र द्वितीय स्रोतबाट प्राप्त हुने गर्छन् । आफूले अभिलेख गरेको तथ्याङ्क आफैँद्वारा प्रयोग गर्नुलाई प्राथमिक र अरू निकायले तयार पारेको तथ्याङ्कलाई आफ्नो प्रयोजनमा गरिएका दि्वतीय स्रोतबाट भन्ने गरिन्छ । तर जुनसुकै स्रोतबाट तथ्याङ्क प्राप्त भए पनि त्यो तथ्याङ्कले केही सिद्धान्तको अनुसरण भने गरेको हुनुपर्छ । जुन यसप्रकार छन्ः

१. उपयुक्तता, निष्पक्षता र समान पहुँच

२. व्यावसायिकस्तर र नैतिकता

३. जवाफदेहिता र पारदर्शिता

४. दुरूपयोगमा रोक

५. गोपनीयता -कुनै परिवार वा कम्पनीको व्यक्तिगत विवरण)

६. वैधानिकता

७. राष्ट्रिय समन्वय

८. अन्तर्राष्ट्रियस्तर अनुसारको विधा

तथ्याङ्कको शुद्धता, पूर्णता, विश्वसनीयता र समय सापेक्षताका अतिरिक्त उपरोक्त विषयहरूले पनि महत्व राख्छ । संयुक्त राष्ट्र संघले आधिकारिक तथ्याङ्कको सन्दर्भमा उल्लेख गरेको माथिका विषयहरू हाम्रा तथ्याङ्क अभिलेख वा उत्पादन गर्ने निकायले पनि ख्याल गर्नुपर्ने हुन्छ । कतिपय संसारभर र्फम वा कम्पनी तहमा आफ्नो तथ्याङ्कलाई दुई किसिम वा दुईभन्दा बढी किसिमले तयार गर्न वैधानिक हुँदैन । गतवर्ष अर्थ मन्त्रालयले उद्योग वा कम्पनी तहमा सिर्जना गरेको तथ्याङ्क कर प्रयोजन, ऋण प्रयोजन र अन्य निकायलाई दिने तथ्याङ्क वा वित्तीय विवरण एउटै हुनुपर्छ भनी जारी गरेको सूचनाले कतै हाम्रा तथ्याङ्कहरू व्यावसायिक मापदण्ड, नैतिकता, जवाफदेहिता र राष्ट्रिय समन्वयको अभावमा गुजि्रएका हुन् कि भन्ने शंका उत्पन्न हुन्छ ।

ती निकाय पनि त कानुनी ढाँचामा स्थापना भएका संस्था हुन् । तिनीहरू सरकारी निकायमा दर्ता हुन्छन् र आफ्ना वित्तीय विवरण आवधिक रूपमा तोकिएको निकायमा सम्प्रेषण गर्छन् । यस्तै, समान प्रकृतिका तथ्याङ्कहरूको योगाङ्क निकाल्दा यदि तथ्याङ्कमा त्रुटि रहछ भने त्यो संस्थाको जवाफदेहिता र पारदर्शीताको सिद्धान्त पालना गरेको ठहरिँदैन । तथ्याङ्कको उत्पादन र वितरणमा निष्पक्षता र समान पहुँच नहुँदा लोकतान्त्रिक पद्धतिविरुद्धको सोच उत्पन्न हुुने हुँदा सम्बन्धित निकाय वा र्फमले त्यसतर्फ आफ्नो ध्यान केन्दि्रत गर्नु जरुरी हुन्छ । त्यसकारण तथ्याङ्कको उत्पादन गर्ने संस्थाहरूबीच समन्वयकारी भूमिका आवश्यक पर्छ । यस्तो समन्वयले तथ्याङ्कबीच तादात्म्यता ल्याउँछ वा एकरूपता कायम गर्न सक्छ ।

तथ्याङ्क संकलन गर्ने निकायले कुनै घर, परिवार, व्यक्ति, उद्योग वा व्यावसायिक संगठनको तथ्याङ्क संकलन गर्दा उसको वैयक्तिक गोपनीयताको रक्षा गर्नु जरुरी छ । यस्तो तथ्याङ्क संकलन गर्दा प्राथमिक श्रोत प्राप्त भएको जानकारी अन्य कुनै प्रयोजनका लागि प्रयोग हुन दिनु हुँदैन । अर्थात्, कर प्रयोजन, सम्पत्ति शुद्धीकरण, समाजमा यसले फैलाएको प्रदूषण आदि । तथ्याङ्क संकलन गर्ने व्यक्ति त्यस्तो घर परिवारको दैलोमा पुग्दा वा उद्योगधन्दाको ढोकामा पुग्दा तथ्याङ्क संकलन गर्ने व्यक्तिसँग कुनै डर, त्रास वा अकमकाउपन हुनुहुँदैन । अर्थात् न्यानो र मैत्री भावमा तथ्याङ्कको संकलन हुनु आवश्यक छ ।

जस्तै, ब्याजदर घटेमा बचतकर्ताले प्राप्त गर्ने ब्याज आम्दानी घट्ने छ । मुद्दती खाता र बचत खातामा बैङ्कले दिएको ब्याजदर कटौतीले बचतकर्ताको आम्दानी कति प्रतिशतले घट्यो त्यो प्रोक्सीको रूपमा प्रयोग गर्न सकिन्छ । बेरोजगारीको सम्बन्धमा स्थानीय सरकारले आफ्नो कार्यक्षेत्रभित्रका उद्योग व्यवसायबीच निकट सम्बन्ध कायम गरेका कारण महत्वपूर्ण सूचना संकलन गरेर राखेका हुन्छन् । त्यस्ता व्यावसायिक संगठनबाट स्थानीय तहले बेरोजगारी वा व्यवसाय नचलेका बेला, कर्मचारी र मजदुरलाई अवकास वा बेतलबी बिदा दिएको बेलाको तथ्याङ्क सूक्ष्म स्केलमा संकलन गर्न सकिन्छ । तर यस्तो संयन्त्र हरेक स्थानीय तहमा हुनु जरुरी छ र यसको अभ्यास बसाल्नु पनि पर्छ ।

उच्च आवृतिको तथ्याङ्क संकलनको अर्को नमुना विधा छनोट (स्याम्पल कलेक्सन) पनि हो । ठूला र महत्वपूर्ण संख्याको कारोबारको नमुना छनोट गरी यस्तो तथ्याङ्क संकलन गर्न सकिन्छ ।

ठूला सहरका ठूला मालपोत कार्यालय, धेरै राजस्व संकलन हुने बैङ्क, ठूला भन्सार कार्यालय, महानगरपालिका क्षेत्रमा सांगठनिक सुधार गरी तथ्याङ्क संकलन गर्ने संयन्त्र विकास गरेमा उच्च आवृत्तिका तथ्याङ्क संकलनमा सुधार ल्याउन सकिन्छ । यस्ता प्रगति वा कारोबारका योगले मुलुकको प्रतिनिधित्व गरेका हुन सक्छन् । त्यसैले सम्बन्धित निकायले अनिश्चित समयमा उद्देश्यअनुसारको आर्थिक चर पहिचान गरी उच्च आवृतिका तथ्याङ्क संकलनको व्यवस्था गर्न आवश्यक छ ।

संगठन, जनशक्ति र वित्तीय साधन

नीति निर्माण, कार्यान्वयन र पृष्ठपोषण सूचनाका लागि संगठन, जनशक्ति र वित्तीय साधन अपरिहार्य हुन्छ । तथ्याङ्कको अभिलेख, वर्गीकरण, तालिकीकरण, योगाङ्कीकरण आदि कामहरू जटिल हुन्छन् । यो प्राविधिक काम हो । उद्देश्यअनुसारको वर्गीकरण र त्यसका विशेषता आर्थिक, सामाजिक र भौतिक विज्ञानको सिद्धान्तका आधारमा गर्नुपर्ने हुन्छ । जस्तो जलवायु र वातावरणीय तथ्याङ्कहरू प्राकृतिक विज्ञानसँग सम्बन्धित हुन्छन् भने कुनै अर्थशास्त्र, कुनै भूगोल, कुनै समाजशास्त्र त कुनै राजनीतिक विज्ञान वा संस्कृति तथ्याङ्क अभिलेख गर्ने काम तथ्याङ्क अधिकृतको र यसका सहायकको हुन्छ ।

त्यसैले ती कर्मचारीहरूमा बहुविषयको ज्ञान आवश्यक हुन्छ ।त्यो काम जटिल छ । ती कर्मचारी तालिम प्राप्त हुनुपर्छ । ती उच्च नैतिकवान र कर्मठ साथै व्यावसायिक निष्ठामा अडेको हुनुपर्छ । सबै स्थानीय वा जिल्लास्तरीय कार्यालयमा आ-आफ्ना फिल्डअनुसार जनशक्ति राख्न असम्भवप्रायः हुन्छ । त्यस्तो त तथ्याङ्क संकलनमा विषयगत विधि पुस्तिका भएमा काम गर्न सहज हुन्छ । निजामती प्रशासनतर्फ कर्मचारीहरूको उच्च फुर्तीफार्ती, अधिकार र क्षेत्र जति फराकिलो छ त्यति तथ्याङ्कशास्त्रीको नहुन सक्छ । एउटै कार्यालयमा बसेर काम गर्दा तथ्याङ्कशास्त्रीलाई त्यति प्रोत्साहन नहुने हुन्छ र आफ्नो व्यावसायिक क्षेत्रमा त्यति लगाव नहुन सक्छ । त्यसैले तथ्याङ्कशास्त्रीको उत्प्रेरणाका उपायहरू जस्तै वित्तीय सुविधा वृत्ति विकास जस्ता तालिमहरू उनीहरूलाई दिनुपर्ने हुन्छ ।

बैङ्किङ क्षेत्रमा तथ्याङ्कसम्बन्धी काम गर्न कुनै कर्मचारीलाई सरुवा गरियो भने उसले आफूलाई सजाय दिएको महसुस गर्न सक्छ । यस्तो भावना कर्मचारीमा उठ्ने वातावरण भएमा संस्थालाई नै बाधा पुग्छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभाग, जहाँ मुलुकको म्याक्रोइकोनोमिक तथ्याङ्कहरू संकलन, वर्गीकरण र अर्थ व्यवस्थाका प्रमुख सूचकहरूको व्याख्या हुने गर्छ । त्यहाँ बैङ्कका असजिला कर्मचारी सरुवा गर्ने प्रचलन पनि बढ्दै गएको छ । त्यहाँको उच्च अधिकारी सम्झन्छन ‘त्यस विभागको काम जुनसुकै कर्मचारीले पनि गर्न सक्छ ।’ यसको अर्थ हुन्छ कार्य सम्पादन र गुणस्तरमा सझौता । त्यसैले पछिल्लो समयमा त्यस विभागको कामकारबाहीको गुणस्तर खस्किँदै गएको विश्लेषण समाजमा गर्ने गर्छन् । संगठनको विश्वसनीयताको क्षयीकरण यहीँबाट सुरु हुन्छ ।

प्रदेशस्तरमा संविधानले दिएको अधिकारलाई त्यहाँबाट महत्वपूर्ण तथ्याङ्कहरू संकलन गरी प्रादेशिक योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन गर्नुपर्ने हुन्छ । प्रदेशभित्रको स्रोतको भण्डार, क्षमता र उपयोगका सन्दर्भमा विस्तृत सूचना आवश्यक पर्छ । स्थानीय र क्षेत्रीयस्तरका तथ्याङ्कहरूको उच्च आवृत्तिमा संकलन गर्ने व्यवस्थाले समयमा नै महत्वपूर्ण सूचना प्राप्त हुने हुन्छन् र प्रदेश सरकारलाई शीघ्र निर्णय लिन पनि सहयोग पुर्‍याउँछ । जनसंख्याको वृद्धि, बसाइँसराइ, गरिबी, रोजगारी सिर्जना, उत्पादन वृद्धि, शिक्षाको विकास, जनस्वास्थ्यका सन्दर्भमा उच्च आवृत्तिका तथ्याङ्कले आफ्नो नीतिको मूल्याङ्कन, लोक कल्याणकारी कार्यहरू सम्पादनमा सघाउ पुर्‍याउने हुँदा यसतर्फ ध्यान केन्दि्रत गर्नु आवश्यक छ ।

वस्तुको र सेवाको मूल्यस्तर ज्यालादर, सहर तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच असंगठित क्षेत्रको ब्याजदरको भिन्नताले प्रदेशस्तरमा मुद्रा बजारको अवस्थालाई जनाउने गर्छ । ग्रामीण क्षेत्रमा हुने अमौदि्रक कारोबारलाई मौद्रीकरण गर्न यस्ता तथ्याङ्कले सहयोग पनि पुग्दछ । महानगरपालिकाभित्र पनि चाडपर्व र साप्ताहिक रूपमा लाग्ने हाटबजारले बिचौलियालाई दुरुत्साहन गर्छ । तरकारी, हाँस, कुखुरा, खसीबोका, माछाको कारोबार प्रत्यक्ष उपभोक्ता र उत्पादकबीच सोको सम्बन्ध हुने हुनाले स्थानीयस्तर र प्रदेशस्तरको बजारको सुधारका लागि दूरगामी निर्णय लिन सघाउ पुर्‍याउँछ । बजारलाई पूर्ण प्रतिस्पर्धामा लैजान पनि यसले सहयोग पुर्‍याउँछ ।

तथ्याङ्क संकलन, प्रशोधन तथा वर्गीकरणका कामहरू सजिलो छैन, यो खर्चिलो पनि छ । तथ्याङ्क संकलन गर्न फिल्ड नै पुग्नुपर्ने हुनाले परिवहन, इन्धन र दैनिक भत्ता जनसम्पर्क खर्च, कार्यालयमा आवश्यक पर्ने टेलिफोन, फ्याक्स, कम्प्युटर, इमेल, तालिमजस्ता कारणले यो काम मितव्ययी हुन सक्दैन । मितव्ययिताले तथ्याङ्कको गुणस्तरमा कतै प्रश्न उठाउन सक्छ कि भन्ने डर सधैं हुन्छ । कार्यालयमा बसेर कतिपय तथ्याङ्कहरू फोनबाट संकलन गर्दा त्यसमा अनेक त्रुटिहरू हुन सक्छ । जिल्ला कार्यालयले प्रदेशलाई र प्रदेशले केन्द्र वा मन्त्रालयलाई यस्ता यथार्थ परीक्षण पनि खर्चिलो हुन्छ ।

तथ्याङ्कहरू समयमा नै संकलन गर्दा त्यसले अर्थ राख्छ । ढिलो गरी संकलन गर्ने, प्रशोधन गर्ने र प्रकाशन गर्दा धेरै परिवर्तन भइसकेको हुन्छ । त्यसले समाजको सही अवस्था नदिने हुँदा सम्बन्धित निकाय सचेत हुनु जरुरी छ । तथ्याङ्कसम्बन्धी आवश्यक दक्ष जनशक्ति पर्याप्त वित्तीय श्रोत र संगठन बलियो भएमा भरपर्दो सूचनाहरू समयमै पाउने सन्दर्भमा शंका गर्नु पर्दैन । तर जवाफदेहिता सबैमा चाहिन्छ ।

स्वास्थ्य संकटको बेला आमनेसामने भई प्रत्यक्ष तथ्याङ्क प्रत्यक्ष तथ्याङ्क संकलन असम्भवप्रायः हुन्छ । आवागमनमा बन्देज, सामाजिक दुरी जस्ता कारणले टेलिफोन नै उपयुक्त, तथ्याङ्क संकलन माध्यम बन्छ । मोबाइल फोन सेवा हाल धेरै व्यक्तिहरू र ग्रामीण क्षेत्रसम्म पुगेकाले यो उपयुक्त माध्यम हुन सक्छ । यो छिटो माध्यम पनि हो तर जब फोन उठ्दैन, उत्तर आउँदैन र त्यतिबेला समस्या हुन्छ ।

अहिले विद्युतीय माध्यम वा अनलाइन माध्यमबाट पनि तथ्याङ्क संकलन गरिन्छ । नेपालको बैङ्किङ प्रणाली तथ्याङ्क अनलाइनमार्फत केन्द्रीय बैङ्कले संकलन गर्छ । तर लकडाउनका बेला तथ्याङ्क संकलन समयमा हुँदैन । एउटा उदाहरण २०७६ चैत महिनाको राष्ट्र बैङ्कले वर्तमान आर्थिक अवस्थाबारेको प्रतिवेदन चार महिना बितिसक्दा पनि प्रकाशन गर्न सकेको छैन । पेण्डामिकको बेला सामना गर्ने एउटा समस्या यो पनि हो । तर सबै तथ्याङ्क विस्तृत रूपमा प्रकाशन गर्न नसकिए पनि जेजति तथ्याङ्क उपलब्ध हुन्छ त्यसलाई प्रकाशन गर्दा यसरी स्टेक होल्डरलाई फाइदा नै पुग्ने थियो । तथ्याङ्क शास्त्रमा ‘डेटा मिसिङ’ का लागि गर्ने छुट्टै विधि त छँदैछ ।

अहिले प्रादेशिक क्षेत्र, अनुसन्धान, कार्यालयहरू सामाना गर्नुपरेको समस्या समयमा तथ्याङ्क उपलब्ध नहुनु हो । तर तथ्याङ्क प्रकाशन गरी गोप्यता राख्नु एउटा नैतिक संकट पनि हो ।

डेटा गभर्नेन्सको आवश्यकता

व्यावसायिक संगठन वा सरकारले आफ्नो उद्देश्य प्राप्तिका लागि आवश्यक तथ्याङ्क संकलन र भण्डारण गरेका हुन्छन् । आफ्नो भूगोलभित्रका जनता वा ग्राहकहरूका गोप्य सूचना पनि यसमा राखिएका हुन्छन्। महत्वपूर्ण निर्णयहरू जसले वर्तमान समयमा आ-आफ्नो प्रशासन वा कारोबार सञ्चालन गरेका हुन्छन् । त्यसको अभिलेख पनि आवश्यक पर्छ । कुनै लेखा परीक्षकले संगठनभित्र भएको कारोबारको वैधानिकता खोजेमा त्यसको निर्णय प्रस्तुत गर्न सक्नुपर्छ । मुलुककै सीमाका सन्दर्भमा आफ्नो डेटा ठीक दुरुस्त राख्ने र त्यसलाई अद्यावधिक गर्दै जाने परम्पराको अभावले आफ्नै सीमा मिचिँदा यथेष्ट प्रमाणका अभावले आफ्नै स्वर मलिन हुन जान्छ । संगठनभित्रका ऐतिहासिक निर्णयहरूको डेटा सुरक्षित राख्नु, प्रयोग भएको शब्दावली एकै भाषामा बुझ्नु, डेटाको गुणस्तर कायम गर्न चाहेको समयमा उपलब्ध हुनु, डेटामा विरोधाभाष नहुनु, डेटा सुरक्षित हुनु र त्यसमा प्रयोग भएका प्रविधि सुरक्षित बनाउने आदि व्यवस्थापकीय प्रक्रियालाई डेटा गभर्नेन्स भनिन्छ ।

पेण्डामिकका बेला संकलित तथ्याङ्कहरू सुरक्षित रहेमा भविष्यका पिँडीले यसलाई प्रयोग गर्नेछन् । रिफेन्समा लिनेछन् । महाभारतकालीन घटनाहरूको सुरक्षित हुने नहुँदा वेदव्यासले भनेका र लेखेेका रामायणमा आधारित भएर हामी उनीहरूको नीति र भौगोलिक क्षेत्र र स्थानको अवस्थितिकोे परिचय खोज्दैछौं । डेटालाई सुरक्षित राख्न हरेक व्यावसायिक संगठन वा सरकारी कार्यालयमा सिङ्गो समिति वा युनिट रहनुपर्छ । त्यस समितिलाई डेटा गभर्नेन्ससम्बन्धी नीति, नियम अधिकार दिएको हुनुपर्छ । बैङ्किङ क्षेत्रमा डेटा गभर्नेन्सको सन्दर्भमा चीनले सन् २०१८ मा छुट्टै निर्देशिका (गाइडलाइन) जारी गरेको थियो ।

त्यसमाथि व्यवस्थापकीय तहदेखि संगठनको तलसम्म एकीकृत प्रणालीको व्यवस्था गरेको छ । बोर्ड डाइरेक्टर, सुपरभाइजर बोर्ड र वरिष्ठ अधिकृतहरूको छुट्टाछुट्टै जिम्मेवारी समेत तोकिएको छ । हरेक बैङ्क वित्तीय संस्थामा प्रमुख डेटा अधिकृत तोक्ने व्यवस्था गरेको छ । नेपालमा पनि सबै सरकारी निकाय, पब्लिक कम्पनीहरू र नीति कम्पनीहरूमा समेत डेटा गभर्नेन्सका सन्दर्भमा नीतिगत व्यवस्था र निर्देशनहरू दिन आवश्यक छ । यसले सुशासनलाई बढावा नै दिन्छ ।

अन्त्यमा

उच्च आवृत्तिका तथ्याङ्कको पेण्डामिक वा आर्थिक संकटको बेला अतिआवश्यकता हुन्छ । परम्परागत रूपमा मासिक वा त्रैमासिक वा चौमासिक रूपमा प्रकाशन गर्ने तथ्याङ्कले यस समयमा त्यति अर्थ राख्दैन । समयमा समस्या पहिचान गर्न र निर्णय गर्न यस्ता तथ्याङ्क संकलन गर्ने प्रशोधन वर्गीकरण र प्रकाशन गर्नाले निर्णय प्रक्रियालाई सघाउ पुर्‍याउने कुरामा दुईमत नभए पनि यो काम सहज र सरल छैन ।

संस्थागत रूपमा यस्ता कामलाई निरन्तरता दिन आवश्यक छ । त्यसैले ती कार्यमा जनशक्ति र वित्तीय साधनको अभाव खडि्कन दिनुहुँदैन । विश्वमा प्रचलित असल अभ्यासलाई हामीले पनि प्रयोग गर्नेतर्फ निरन्तर प्रयास जारी राख्नुपर्छ । तथ्याङ्कलाई नजरअन्दाज गर्नु आफ्नो अज्ञानतालाई छताछुल्ल पार्नुमात्र हो ।

(पंगेनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment