२४ कात्तिक, रुकुमपूर्व । १० वर्षे सशस्त्र जनयुद्धको आधारभूमि मानिने रोल्पाको थबाङमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जोडिएको छ ।
थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठूलो गाउँमा विद्युत आपूर्तिको औपचारिक सुरुआत गरिएको हो ।
लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले स्वीच थिचेर विद्युत प्रवाह सुरु गरेका हुन् । उनले रोल्पामा पछिल्लो दशकमा ३६ हजारभन्दा धेरै घरमा विद्युत पुगेको उल्लेख गर्दै २०६४ अघि १९ प्रतिशतमा सीमित विद्युत पहुँच अहिले ७५ प्रतिशत नाघेको बताए ।
उनका अनुसार, रोल्पाबाट अर्थमन्त्री हुँदा बजेट ल्याउन सजिलो भयो, त्यसकै परिणाम आज थबाङसम्म बिजुली पुगेको हो ।
रोल्पामा कुल एक अर्ब ४ करोड रुपैयाँ बराबरको बजेट विद्युत विस्तारमा खर्च भइसकेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका प्रमुख अशेश्वर शाहले वर्षौंको प्रयासपछि केन्द्रीय लाइन थबाङ पुर्याउन सफल भएको बताए । ‘बत्ती बाल्नु मात्रै होइन, यो थबाङको आर्थिक रूपान्तरणको सुरुआत हो’, उनले भने ।
बाँकी वडामा अर्को वर्ष लाइन विस्तार गर्ने तयारी प्राधिकरणले गरेको छ ।
गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार विद्युत पुगेसँगै करिब २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ‘पढाइदेखि सञ्चार र व्यवसायसम्म सहज हुँदैछ’, उनले भने ।
प्रतिक्रिया 4