Comments Add Comment

कति सफल भयो विपन्नका लागि खुलेको ‘फुड बैङ्क’ को अवधारणा ?

तस्वीर पप्पु साहको फेसबुकबाट

काठमाडौं । कोरोना भाइरसको महामारी रोक्न लकडाउन सुरु भएको केही दिनपछि चैतको तेस्रो साता धादिङको गजुरी गाउँपालिकाले फुड बैंकको नयाँ अवधारणाको विकास गर्‍यो । यो समयताका गजुरीमात्रै नभएर धेरै स्थानीय तहहरूले फुड बैंकको मोडल अपनाए ।

गजुरीले विपन्न परिवारलाई चार किलो चामल, एक पोका नुन, परिवार अनुसार एक वा आधा लिटर तेल र एउटा साबुन वितरण गर्ने तय भयो । त्यसको खर्च गाउँपालिकाले नै व्यहोर्ने र कोही दाताले दिएको सहयोग पनि लिने भन्ने तयारी थियो । अहिलेसम्म आइपुग्दा त्यो सेवा बन्दप्रायः छ ।

गाउँपालिकाले अत्यावश्यक नभएसम्म एक परिवारलाई एक पटक मात्रै सो सेवा दिने भनेको थियो । अहिले कोही पनि लिन आउँदैनन् र स्टक पनि सकिने अवस्थामा पुगेको छ । गाउँपालिकाका सूचना अधिकारी विवेक नेपाल भन्छन् ‘अहिले त स्टक पनि सकिन लाग्यो । कहिलेकाहीँ आउँछन् मान्छे अहिले स्टक थपेको पनि छैन ।’ यसलाई असफल भएको भन्न नमिल्ने उनी बताउँछन् ।

गजुरीले समातेको फुड बैंकको बाटो त्यसको एक सातापछि रौतहटका स्थानीयले पनि अपनाए । दैनिक ज्यालादारीबाट गुजारा गर्नेको लागि भनेर राजविराजस्थित गजेन्द्र चोकमा झोलामा राहत सामग्री छोडेर जाने अभियान सुरु भयो । त्यतिबेला राहत दिएर सामाजिक सञ्जालमा तस्वीर खिचाउने चलन बढी नै थियो ।

त्यसको विरोध स्वरूप पनि झोलामा राहन छाडेर जाने र राहत चाहिनेले त्यही झोला बोकेर जाने गरी अभियानले केही समय काम गर्‍यो । तर राहत लिने धेरै तर दिन चाहने देखिनै छाडेपछि त्यो अभियान पनि रोकियो । उनीहरूले दाल, चामल, तेल, नुन लगायतका खाद्यान्न राहत स्वरूप वितरण गर्ने गरेका थिए ।

अहिले सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्वीर छ मोरङको केराघारी गाउँपालिकामा यस्तै फुड बैंक सञ्चालन सम्बन्धी । गाउँपालिकाको तरुण दलको सक्रियतामा सुरु भएको फुड बैंकले ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ भन्ने स्लोगन राखेको छ । फुड बैंक सञ्चालक पप्पु साहका अनुसार अहिले राहत लिन आउने र दिन आउनेको संख्या बराबर जस्तै छ । कुनै पनि व्यक्ति तथा संस्थाले दिएको सहयोगबाट दुई किलो चामल नुन, तेल, सोयाबिन र दाल दिने गरिएको साहले बताए ।

शनिबारदेखि सुरु भएको फुडबैंकमा पहिलो दिन ६० जनाले सेवा लिए । दोस्रो दिन ८० जना र तेस्रो दिन २५० जनाले एकै पटक सेवा लिन आएपछि यही मोडलमा सेवा सञ्चालन गर्न नसक्ने मनस्थितिमा पुगेको सञ्चालक साहले बताए । ‘एकै दिन साढे २ सय जना सेवा लिन आएपछि हामी यही मोडलमा सेवा सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं ।’ अनलाइनखबरसँग उनले भने ‘अब हामी वडा अनुसार फरक फरक दिन सेवा दिन सुरु गर्छाैं ।’ समग्रमा फुड बैंकको अवधारणा सफल भएको उनी बताउँछन् ।

फुड बैंकको अवधारणा नेपालमा नयाँ भए पनि विदेशतिर भने पहिलेदेखि नै चल्दै आएको अवधारणा हो ।

लकडाउनको समयमा कहाँ कहाँ चल्यो फुड बैंक ?

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले पनौतीमा ‘फुड बैंक’ सञ्चालन गर्ने निर्णय गरेर चैत तेस्रो साता नै काम सुरु गरेको थियो ।

हरेक वडाका दश परिवारलाई प्याकेज मार्फत् खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाले वडा नं. ७ मा २० परिवार र अन्य वडामा प्रतिवडा दश परिवारलाई एक साताको लागि खाद्यान्न उपलब्ध गराउने गरी फुड बैक सञ्चालनमा ल्याइएको थियो ।  राहतमा १७ प्रकारका दैनिक उपभोग्य वस्तु वितरण गरिने छ । चामल, दाल, नुन, गेडागुडी, तेल, बेसार प्याज, लसुन, चाउचाउ, बिस्कुट, चिनी, चियापत्ती, लुगा धुने साविन, नुहाउने साबुन, हात धुने साबुन, आलु, चिउरा र दालमोठ वितरण गरिएको थियो ।

पनौती नगरपालिकी उपमेयर गीता बञ्जारा फुड बैंकको अवधारणा प्रभावकारी रहेको बताउँछिन् । अहिले पनि मापदण्ड तयार पारेर ३ महिनालाई पुग्ने खाद्यान्न एवं अरू सामग्री उपलब्ध गराइसकेको र यसबाट धेरैलाई खाद्यान्नको समस्या नरहेकोले यसलाई प्रभावकारी रहेको बताउन सकिने उनी बताउँछिन् ।

लकडाउनको समयमा यसबाहेक बागलुङ नगरपालिका, पाँचथर उद्योग वाणिज्य संघ आदिले पनि आफ्नो क्षेत्रमा फुड बैंकको अवधारणा अनुसार सेवा दिएका थिए । यसमध्ये कतिपयले अहिले सेवा बन्द गरिसकेका छन् भने कतिपयको सेवा अझै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment