Comments Add Comment

‘उपत्यकामा १५ हजार संक्रमित हुनसक्छन्’

कन्ट्याक्ट ट्रेसिङमा परेका २८ हजार परीक्षण गर्ने तयारी

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) का २२४ संक्रमित थपिएका छन् । पछिल्लो ८ दिनमा मात्र उपत्यकामा १५१९ संक्रमित थपिएका छन् । संक्रमितको सख्ंया बढेसँगै ३ भदौबाट उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तर यो अवधिमा पनि कट्याक ट्रेसिङ प्रभावकारी हुन नसकेको जनश्वास्थ्य विज्ञहरुले बताएका छन् ।

त्यसलाई सम्बोधन गर्न अब संक्रिमतहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन टोलटोलमै गर्न थालिएको छ । सोमबार मात्र काठमाडौं महानगरपालिकाले वडा नम्बर ९, ३०, ३१ र ३२ मा गरेर २६० भन्दा बढीको स्वाब संकलन गरेको छ । ‘संक्रमितको परिवारका सदस्य र प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिएका हौं’ महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले भने ।

उपत्यका नगरपालिका फोरमले पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । समूदायस्तरमै संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिएको फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘भोलिबाट तालिका बनाएर उपत्यकाका १८ वटै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेष्टलाई अघि बढाउँछौ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुभवी टिम पनि हाम्रो साथमा रहनेछ ।’

सोमबार साँझको तथ्यांकअनुसार उपत्यकामा कुल संक्रमितको संख्या ३४८६ पुगेको छ, जसमध्ये काठमाडौंमा २७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ जना छन् । तर उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजारभन्दा बढी हुनसक्ने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए । ‘हामीले त्यो चेन तोड्न सकेनौं भने अवस्था भयावह हुनसक्छ’ उनले भने ।

सम्भावित संक्रमितहरुको पहिचानका लागि १५ गतेसम्म कट्याक ट्रेसिङमा परेका करिव २८ हजारको परीक्षण गरिने मेयर शाक्यले बताए । ‘कन्ट्याक्ट ट्रेसिङको दायरामा परेकाहरु लुकेर बसेका रहेछन् भने पनि खोजेर परीक्षण गर्छौं’ उनले भने ।

त्यसका लागि भदौ ९ सम्म रहेको निषेधाज्ञा १५ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । ‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनलाई निषेधाज्ञा अवधी भदौ १५ गतेसम्म बढाउन आग्रह गरेका छौँ,’ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

निषेधाज्ञाको अवधिभित्रै कन्ट्याक्ट ट्रेसिङको काम सक्ने स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले पनि सहयोग गर्न तयार रहेको बताए । ‘ट्रेस, टेस्ट र आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस्, हामी सहयोग गर्न तयार छौँ,’ उनले भने । स्वास्थ्य विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment