Comments Add Comment
प्रदेश २ :

कोरोनाको साङ्लोले जोड्दैछ वीरगञ्ज र राजविराज

९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’

प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित भइसकेको छ । अधिकांश जनस्वास्थ्य विज्ञको निष्कर्ष छ, ‘प्रदेश २ को अवस्था कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानको झैं हुनसक्छ ।’

प्रदेश २ मा पनि संक्रमणसँगै मृत्युदर बढिरहेको छ । पछिल्लो एक महिनामा दोब्बरभन्दा बढी संक्रमित भेटिएका छन् भने मृत्युको संख्या त्योभन्दा डरलाग्दो छ ।

साउन १ गतेसम्म प्रदेश नम्बर २ मा ५ जना संक्रमितको मृत्यु भएको थियो, जसमा रौतहट र बाराका २/२ जना र पर्साका १ जना थिए । १ महिनामै (भदौ ८ सम्म) त्यो संख्या बढेर ६३ पुगेको छ, जसमध्ये ५९ जना गएका एक महिनामा मृत्यु भएको छ । पर्सा जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने धनुषामा ११, बारामा ७, सप्तरीमा ५, सिरहामा ४, सर्लाही र रौतहटमा ३/३ जना र महोत्तरीमा २ जना संक्रमितको मृत्यु भएको छ ।

साउन १ गतेसम्ममा प्रदेश २ मा ४ हजार ३६ संक्रमित भेटिएका थिए । एक महिनामा त्यो संख्या बढेर ९ हजार १७ पुगेको छ ।

संक्रमण बढ्नुको कारण : खुल्ला सिमाना र अनुशासन

लकडाउनको समयमा प्रदेश २ मा संक्रमणको जोखिम अहिले जस्तो थिएन । भारतबाट फर्किएकाहरुका कारण संक्रमित भेटिने क्रम त चलिरहेको थियो तर अधिकांश क्वारेन्टिनमा थिए । कोही लुकीछिपी आए गाउँसमाजकै मानिसहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गर्थे, स्थानीय तहको क्वारेन्टिनमा पुर्‍याउँथे ।

असार दोस्रो सातापछि कमजोरी सुरु भयो । भारतबाट छिरेकाहरुमाथि राम्रोसँग निगरानी हुन सकेन । सरकारले जारी गरेको कोरोना परीक्षणसम्बन्धी निर्देशिकाका कारण क्वारेन्टिनमा बसेकाहरु पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरेर धमाधम घर जान थाले भने भारतबाट लुकिछिपी आएकाहरु पनि क्वारेन्टिनको साटो घर परिवारसँग बस्न थाले ।

त्यसको असर साउनको पहिलो साताबाट देखिन सुरु भयो । साउनको पहिलो साता प्रदेशको पूर्वी जिल्ला सप्तरीको सदरमुकाम राजविराज र पश्चिम जिल्ला पर्साको सदरमुकाम वीरगञ्जमा समुदायमा संक्रमण पुगेको संकेतहरु देखिए । वीरगञ्जस्थित कोरोना विशेष गण्डक अस्पतालमा कार्यरत डा. उदयनारायण सिंह भन्छन्, ‘जब असार ३१ गते गण्डक अस्पतालमा एक संक्रमितको मृत्यु भयो त्यसपछि सम्बन्धित निकायहरु झस्किएका थिए ।’

उक्त मृत्यु नेपालको ३९ औं मृत्यु थियो, यतिबेला गण्डक अस्पतालको अधिकांश बेड खाली भइसकेका थिए ।

अहिले अवस्था ठीक उल्टो छ । अधिकांश अस्पतालका बेड भरिएर संक्रमित राख्ने ठाउँको अभाव छ ।

संक्रमितको संख्या बढ्दै गएपछि राजविराज र वीरगञ्जमा निषेधाज्ञा पनि जारी गरियो । अन्य जिल्ला पर्ख र हेरको स्थितिमा थिए । एक जिल्लाबाट अर्को जिल्ला सहजै आउजाउ गर्न सक्ने अवस्था थियो भने भारतबाट मानिसहरु आइरहेका थिए ।

वीरगञ्ज र राजविराजमा देखिएको समुदाय संक्रमणको झिल्को सिंगो प्रदेशभर केहीदिनमै फैलिन सक्छ भनेर स्थानीय प्रशासन, प्रदेश र केन्द्र सरकार कसैले पनि आवश्यक कदम चाल्न सकेनन् । त्यही कारण अन्य जिल्लामा संक्रमण फैलिँदै गएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

१ साउनमा वीरगञ्जमा जम्मा १६८ संक्रमित थिए, अहिले बढेर २ हजार २ पुगेको छ । सप्तरीमा ३ सय ४४ संक्रमित थिए, अहिले बढेर ७४७ पुगेको छ ।

अब विस्तारै पर्सा र सप्तरीको चेन जोडिने संकेत देखिएको छ ।

पर्सासँग सीमा जोडिएको बारामा पनि सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो । त्यहाँ संक्रमितको कुल संख्या ७०६ छ । रौतहटमा पहिला नै संक्रमितको संख्या ५०० माथि थियो । त्यहाँ संक्रमितको संख्या १२३८ बाट बढेर १५६४ पुगेको छ र संक्रमण समुदायमा पुगेका संकेतहरु देखिएका छन् ।

सर्लाहीमा पनि संक्रिय संक्रमितसँग मृत्युदर बढ्दो छ । साउन १ मा ६५६ रहेको संक्रमितको संख्या भदौ ८ मा १२३० पुगेको छ । सर्लाहीसँग जोडिएको महोत्तरीमा ७३८ बाट १११८ पुगेको छ । धनुषामा ५७५ बाट बढेर १२७१ पुगेको छ र, संक्रिय संक्रमितको संख्या ५०० नजिक छ ।

सिराहामा संक्रमितको संख्या ३७३ मात्र छ । त्यहाँ पनि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेकाले संक्रमण बढिरहेको देखिन्छ । र, त्यसलाई समयमै रोक्न सकिएन भने पर्साको वीरगञ्ज र सप्तरीको राजविराजलाई कोरोना भाइरसको साङ्गोले जोड्ने छ र महामारी नियन्त्रण बाहिर जानसक्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, जो दैनिक प्रदेश २ का विभिन्न जिल्लाबाट काठमाडौं आएर कोरोना परीक्षणका लागि आउनेहरुलाई सम्झाइबुझाइ गर्नेहरु गर्ने मध्येका एक हुन्, उनकाअनुसार प्रदेश २ मा संक्रमण र मृत्युको ग्राफ बढ्नुमा मुख्य तीन कारण छन् ।

पहिलो : खुल्ला भारतीय सिमाना

दोस्रो : जनचेतना र अनुशासन

तेस्रो : मानिसको बसोबास

‘अस्पतालमा आउने मानिसले बताएअनुसार संक्रमणको अधिकांश स्रोत भारत हो, मानिसहरुमा चेतना कम भएकाले पनि जनस्वास्थ्यको मापदण्ड पालना भएको छैन’ डाक्टर पुनले अनलाइनखबरसँग भने, ‘मास्क नलगाउने, साबुन पानीले हात नधुने र झुरुप्‍प भएर बस्ने भएकाले संक्रमण बढेको हो ।’

तराई क्षेत्रमा मानिसको बसोबास र पारिवारिक संरचनाका कारण पनि संक्रमण बढैको उनी बताउँछन् । बाक्लो बस्ती र मानिसहरु गाउँ समाजमा ज्यादा घुलमिल भएकाले पनि संक्रमण फैलिएको छ । ‘जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको भए संक्रमण कम हुन्थ्यो’ डा. पुन भन्छन्, ‘सबैतिर संक्रमण व्यापक फैलिनुको एउटा कारण जनस्वास्थ्यको मापदण्ड पालना नगर्न पनि हो ।’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी प्रदेश २ वुहान पथमा लम्किएको बताउँछन् । उनका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा संक्रमणसँगै मृत्युदर बढ्नु स्वाभाविक हो । परीक्षण गरेर भेटिएका संक्रमितभन्दा कयौं गुणा बढी परीक्षण नगरिएका संक्रमित हुनसक्छन्, जसको कारण मानिसहरुले थाहा पाउनु अघि स्वास्थ्यमा समस्या आएर मृत्यु समेत हुनसक्छ ।

‘समुदायमा संक्रमण फैलिएपछि त्यहाँ भएका दीर्घरोगी र वृद्धवृद्धालाई पनि संक्रमण देखिन्छ, उनीहरुलाई आइसोलेसन र आईसीयू नभई बचाउन सकिन्न, त्यसैले नै मृत्युदर बढेको हो’ डा. अधिकारी भन्छन्, ‘समुदायमा संक्रमण फैलिएर नियन्त्रणबाहिर जादैछ भने हामीले अनुमान गर्न नसक्ने क्षति हुँदैछ भनेर बुझ्नुपर्छ र त्यही अनुसार कन्ट्याक्ट ट्रेसिङ र टेस्टको स्पिड बढाउनुपर्छ ।’

समुदायमा संक्रमण फैलिएको अवस्थामा संक्रमणकै रफ्तारमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्न सके मात्र महामारी नियन्त्रणमा सहयोग पुग्ने संक्रामक रोग विशेषज्ञ डा.  अनुप सुवेदी बताउँछन् । उनका अनुसार अहिले समुदायमा भएका संक्रमणको तुलनामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण कम छ । ‘कुनै एक ठाउँमा १ जना संक्रमित भेटियो भने उसले अर्को ५ जनालाई सार्नसक्छ भनेर त्यहीअनुसार कन्ट्याक्ट ट्रेसिङ र टेस्ट गर्न सक्यो भने मात्र महामारी नियन्त्रण प्रभावकारी हुन्छ’ उनी भन्छन्, ‘त्यो हामी कहाँ हुन सकेको छैन ।’

मृत्युको सङ्ख्या बढ्नुको अर्को कारण आईसीयू र भेन्टिलेटर बेडको कम उपलब्धता र उपलब्ध भएका स्थानमा त्यसको प्रयोगमा दक्ष जनशक्तिको अभाव पनि भएको उनले बताए । ‘त्यसै पनि हामीसँग क्रिटिकल केयरको क्षमता कम छ, सबै अस्पतालमा क्रिटिकल केयरका लागि चाहिले दक्ष जनशक्ति छैनन्’ डा. सुवेदी भन्छन्, ‘कतिपय त अस्पताल पुग्न नपाइ मर्छन्, यसले पनि मृत्युदर बढ्छ ।’

समुदायस्तरमा संक्रमण

संक्रमितको संख्या बढेसँगै प्रदेश २ का जिल्लाजिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा संक्रमण पुगेकाले निषधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भन्छन्, ‘सबैतिरका मानिस संक्रमित भइरहेका छन् । संक्रमण समुदायमा पुगिसकेकाले निषेधाज्ञा जारी गरेर नियन्त्रण गर्न लागेका छौं ।’

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल पनि समुदायस्तरमै संक्रमण देखिन थालेको बताउँछन् । उनले भने, ‘जिल्लामा भिडभाड हुन दिएका छैनौं र परीक्षणको दायरा बढाउँदै उपचारमा विशेष ध्यान दिएका छौं ।’

जनस्वास्थ्य विज्ञहरुका अनुसार महामारी रोक्न संक्रमण जुन रफ्तारमा बढेको छ, त्यसअनुसार सम्भावित सक्रमितको पहिचान र परीक्षण गर्नुपर्ने हुन्छ । तर कट्याक ट्रेसिङ प्रभावकारी हुन सकेको छैन भने परीक्षणको गति बढ्न सकेको छैन ।

पछिल्लो एक हप्तामा संकलन भएका झण्डै ६ हजार स्वाबको नतिजा समेत आएको छैन ।

वुहानसँग तुलना किन ?

जब वीरगञ्ज र राजविराजमा समुदायमा संक्रमणको संकेत देखियो, भाइरसको चेनले दुई शहरलाई जोड्यो भने वुहान बन्छ भन्नेमध्ये एक थिए इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व महानिर्देशक बाबुराम मरासिनी ।

वुहान पहाडभन्दा तलको विशेष शहर हो । प्रदेश २ मा पनि मधेसका ८ जिल्ला छन् । जनसंख्या पनि ५० लाखभन्दा बढी अनुमान छ । मरासिनी भन्छन्, ‘बेलामा सतर्क भएनौं भने ठूलो संख्यामा महामारी फैलिनसक्छ र नियन्त्रण गर्न सकिन्न भनेर मैले वुहानसँग तुलना गरेको हुँ । तर कसैले ध्यान दिएनन् ।’

अब वुहानमा जसरी चीनले संयन्त्रण नियन्त्रणमा लियो, त्यसरी प्रदेश २ मा काम गर्न गाह्रो छ ।

वुहानमा महाशक्ति राष्ट्र चीनले आफ्नो सम्पूर्ण शक्ति लगायो । वुहान प्रवेश गर्ने सबै नाका पूर्णरुपमा बन्द गर्‍यो, शहरका हरेक मानिसलाई होमक्वारेन्टिनमा राख्यो । उनीहरुलाई आवश्यक पर्ने, औषधि लगायतका सामाग्री ढोकाढोकामा पुर्‍याउने व्यवस्था गर्‍यो । रातारात १००० वेडको अस्पताल तयार भएको थियो । र, महामारी नियन्त्रणपछि वुहान पुरानो अवस्थामा फर्किएको छ ।

डा. मरासिनी भन्छन्, हाम्रोमा त्यो अवस्था छैन । मानिसहरु कुनै पनि बेला अवैध नाकाबाट आउन सक्छन् । अस्पतालको अवस्था पनि निकै कमजोर छ । त्यत्रो सर्लाहीमा ५० वेडको एउटा अस्पताल छ, सिराहामा २ वटा अस्पताल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment