Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमितले नै चलाउँछन् रेडियो

९ भदौं, वीरगञ्ज । वीरगञ्जका सञ्चारकर्मी शिवनाथ यादवलाई भदौ ७ गते कोरोना संक्रमण पुष्टि भयो । स्थानीय नारायणी एफएममा कार्यरत उनी कोरोना संक्रमित भएपछि पनि रेडियोमा नियमित काम गरिरहेका छन् ।

भदौ ७ गते यादवसँगै दुई जना प्राविधिक, प्रशासन प्रमुख र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी एकैपटक कोरोना संक्रमित भए । त्यस दिनदेखि उनीहरु रेडियोको कार्यालयमा नै बसेका छन् र रेडियोमा प्रशारण नियमित गरिरहेका छन् ।

यादवले बिहान साढे ५ बजे, १० बजे, दिउँसो २ बजे, अपरान्ह ४ बजे, साँझ ६ बजेको नेपाली भाषाको समाचार र बिहान ८ बजेको भोजपुरी समाचार भन्छन् । समसामयिक विषयमा साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको एक घण्टा ‘हल्ला बोल’ कार्यक्रम चलाइरहेका छन् ।

‘कामको समयमा काम गर्छौ, तातोपानी पिउने, शारीरिक व्यायाम गर्ने, फुर्सदमा नाच्ने गाउने, रमाइलो पनि गर्छौ’ उनले भने ‘आइसोलेसनको जस्तै बन्दोबस्त कार्यालयमा मिलाएका छौं ।’

भदौ ६ गते बेलुका पीसीआर रिपोर्ट नेगेटिभ छ भन्ने खबर पाएपछि यादवले ७ गते विहान ८ बजेको भोजपुरी समाचार भने । त्यसपछि भने उनलाई उनी संक्रमित भएको खबर दिइयो । ‘रिपोर्ट त पोजेटिभ छ भन्ने जानकारी आयो । त्यसपछि घर गइन । त्यसपछि पनि स्थानीय समाचार रोकिएको छैन’ उनले भने ।

रेडियोका प्रशासन प्रमख विदुर गौतम पनि कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमै आइसोलेसनमा बसेका छन् । संक्रमित हुँदा पनि कार्यालयको जिम्मेवारी निर्वाह गरिरहेको उनी बताउँछन् ।

‘कामको समयमा काम गर्छौ, तातोपानी पिउने, शारीरिक व्यायाम गर्ने, फुर्सदमा नाच्ने गाउने, रमाइलो पनि गर्छौ’ उनले भने ‘आइसोलेसनको जस्तै बन्दोबस्त कार्यालयमा मिलाएका छौं ।’

कार्यालयमा साथीहरुसँगै बस्दा संक्रमित भएको अनुभव पनि नभएको गौतम बताउँछन् । ‘कोरोनाको लक्षण केही थिएन, एक्कासी आइसोलेसन जान तयार हुनस् भनेपछि एकपटक झसँग भए’ गौतम भन्छन् ‘घरबाट व्याग बोकेर अफिस आइयो, अफिस आएपछि साथीहरुसँगै भएकोले परिवारसँगै बसेको जस्तै छ ।’

साउन १८ गते रेडियोका स्टेशन म्यानेजर क्रान्ति साहमा कोरोना संक्रमण पुष्टि भयो । साहको सम्पर्कमा रहेको हुनाले रेडियोमा कार्यरत कर्मचारी क्वारेन्टिनमा बसे । सबै क्वारेन्टिनमा बसेपछि साउन १९ गतेदेखि एक जना प्राविधिकको भरमा मात्र रेडियो सञ्चालन गरी समाचारमूलक कार्यक्रम बन्द गरिए ।

पीसीआर परीक्षण नगरी रेडियो सञ्चालन गर्दा संक्रमित नभएकाहरु पनि संक्रमित हुने अवस्था थियो । पहिलो चरणमा साउन २६ गते गरिएको ५ जना कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट साउन ३० गतेमात्रै आयो । १ जना प्राविधिकमा कोरोना संक्रमण देखियो । त्यसपछि कोरोना संक्रमण नभएका ३ जना कर्मचारीले साउन ३२ देखि रेडियो प्रशारणलाई निरन्तरता दिए ।

रेडियोका बाँकी ६ जना कर्मचारीले भदौ ४ गते परीक्षणका लागि स्वाब दिए । भदौ ७ गते रिपोर्ट आउँदा उनीहरुमध्ये ५ जनामा संक्रमण देखियो । हाल तिनै ५ जना कार्यालयमा नै आइसोलेसनमा बसेर रेडियो प्रशारणलाई निरन्तरता दिइरहेका छन् ।

संक्रमित भएपनि उनीहरुमा कोरोना संक्रमणको लक्षण देखिएको छैन । आइसोलेसनमा जस्तै उनीहरुले अलग अलग सुत्ने ठाउँ बनाएका छन्, खानेकुरा, पानी तताउने भाँडो र सरसफाइका समाग्री जुटाएका छन् ।

रेडियोका कार्यकारी निर्देशक गोविन्द देवकोटा स्रोतालाई सूचनाबाट वञ्जित नगर्ने उद्देश्यले रेडियोलाई नै आइसोलेसन बनाउनुपरेको बताए ।

‘बाहिर आइसोलेसन सेन्टरको पनि अभाव छ । संक्रमित कर्मचारी सबैको घरमा होम आइसोलेसन पनि संभव थिएन । संक्रमित कर्मचारीलाई अन्यत्र राख्दा रेडियो नै बन्द गर्नुपर्ने स्थिति थियो’ उनले भने ‘उनीहरुमा लक्षण थिएन, रेडियोमै छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएका छौं । बाहिरकाले पनि जिम्मेवारी अनुसारको काम गर्छन् । जे होस रेडियो चलिरहेको छ ।’

सामुदायिक रेडियोको मूल मर्म नै जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सूचना प्रवाह गर्नु रहेको सामुदायिक रेडियो प्रशारक संघका महासचिवसमेत देवकोटा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment