Comments Add Comment

कोरोना संक्रमितका लागि भक्तपुरमा १०० शय्याको अस्पताल

९ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या बढेपछि भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने तयारी गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णय अनुसार भक्तपुर अस्पतालले कोभिडका बिरामीका लागि एक सय शय्याको अस्पताल बनाउने तयारी गरेको हो ।

अस्पतालले अहिले सम्भावित कोरोना संक्रमितलाई स्वाब दिएपछि बस्नको लागि १० शय्या र संक्रमण पाइएका बिरामीलाई राख्नको लागि १५ वटा शय्याबाट सेवा दिदै आएको छ । त्यस्तै, ५ वटा आईसीयू कोरोना संक्रमितको लागि छुट्याइएको छ ।

अब बन्ने अस्पतालमा सम्भावित संक्रमितलाई राख्नको लागि १० शय्या, संक्रमितलाई राख्नको लागि १०० शय्या र पाँच वटा आईसीयू सेवा कोरोना संक्रमितको लागि छुट्याउने तयारी भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

अहिले भक्तपुर अस्पतालले सम्भावित कोरोना संक्रमितलाई पनि भर्ना गरेर उपचार गर्ने र स्वाब दिँदा पोजेटिभ आयो भने त्यसपछि छुट्टै आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अहिले रहेको बेड अपुग हुन सक्ने देखेर विस्तार गर्न लागेको डा. गौतमले जानकारी दिइन् ।

खरिपाटीमा ५ सय शय्याको अस्पताल बनाउन प्रस्ताव

त्यस्तै, भक्तपुर अस्पतालबाटै सञ्चालित भक्तपुरको खरिपाटीमा रहेको २०० शय्याको कोरोना अस्पताललाई ५ सय शय्याको बनाउन प्रस्ताव गरिएको छ ।

यो प्रस्ताव भने प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय लगायत केन्द्र सरकारका निकायले निर्णय गरेपछि मात्रै विस्तार गर्न सकिने भएकोले खरिपाटीको हकमा भने प्रस्ताव मात्रै गरिएको मेसु डा. गौतमले बताइन् ।

प्रस्ताव अनुसार खरिपाटीमा ५ सय शय्याको अस्पताल सञ्चालनमा आयो भने भक्तपुरमा कोरोना संक्रमितको लागि मात्रै ६ सय शय्याबाट सेवा प्रवाह हुनेछ । अस्पतालकी मेसु डा. गौतमका अनुसार विद्युत् प्राधिकरणको तालिम केन्द्र भएकोले प्राधिकरणसँगै केन्द्र सरकारका सरोकारवाला सबै निकायमा प्रस्ताव पठाइसकिएको छ ।

‘खरिपाटीको अस्पताल विस्तारको लागि सीडीओ, स्थानीय निकाय, गृहमन्त्रालय र विद्युत् प्राधिकरणको तालिम केन्द्र भएकोले सोको समेत स्वीकृति आवश्यक हुन्छ । ती निकायबाट स्वीकृति प्राप्त भयो भने भक्तपुर अस्पताल अन्तर्गत मात्रै ६ सय शय्याको कोरोना अस्पताल सञ्चालनमा आउँछ ।

अहिले भक्तपुर अस्पतालमा १० जना र खरिपाटीमा १२ जना कोरोना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment