Comments Add Comment

चीनले भन्यो : एक महिनादेखि नै कोरोना खोपको प्रयोग भइरहेको छ

९ भदौ, काठमाडौं । चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सार्वजनिक प्रयोग भइरहेको बताएको छ । चीनले जुलाईको अन्तिमबाट अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको हो ।

चीनको दाबी अनुसार रुसले आधिकारिक रुपमा दाबी गर्नुभन्दा तीन साता पहिला नै चीनले कोरोना खोपको प्रयोग शुरु गरेको हो । यद्यपि दुवै खोपले स्ट्याण्डर्ड मापदण्ड भने पूरा गर्न बाँकी नै छ ।

शनिबार चिनियाँ अधिकारीहरुले जुलाईको अन्तिमबाट नै केही स्वास्थ्यकर्मी र राष्ट्रिय कम्पनीका कर्मचारीहरुलाई खोप दिइएको उल्लेख गरेका छन् ।  चीनले आपतकालीन प्रयोगको प्रोटोकल अन्तर्गत खोप दिएको हो ।

अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप सकेसम्म छिटो कसरी ल्याउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस्तो अवस्थामा खोप निर्माणको लागि तोकिएका धेरै चरण पूरा गर्नुभन्दा पहिला नै खोप तयार गर्ने गरी धेरै कम्पनीहरुले काम गरिरहेका छन् । तर, केही मुलुकहरुले भने अनिवार्य गर्नुपर्ने परीक्षणका प्रक्रिया पनि पूरा नगरी खोपको लागि अनुमति दिइरहेका छन् ।

गत साता पपुवा न्युगिनीसँगको कूटनीतिक विवादपछि चीनले खोपको घोषणा गरेको हो । पपुवा न्युगिनीले चीनबाट गएका खानीमा काम गर्ने कामदारको समूहलाई फिर्ता पठाएको थियो । उनीहरुलाई अहिले परीक्षणको क्रममा रहेको कोरोना खोप दिइएको बताइएको थियो ।

कोरोनाविरुद्धको खोप सन् २०२१ सम्म बजारमा आइपुग्न सक्ने अनुमान गरिएको छ । तर, रुस र चीनले भने समयभन्दा अगाडि नै यो खोपको प्रयोग शुरु गरेका छन् ।

यद्यपि चीनले खोप दिन थालेको एक महिनापछि मात्र किन घोषणा गर्‍यो भन्ने विषय भने रहस्यमय छ । एक महिनाभित्रमा कुनै साइड इफेक्ट देखिएको खण्डमा यसको प्रयोगमा रोक लगाउने तयारीका साथमा यो खोपको प्रयोग शुरु भएको हुन सक्ने समाचारहरुमा जनाइएको छ ।

स्रोत : वासिङटन पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment