Comments Add Comment

‘कोभिड अन्त्य भएपछि अर्थतन्त्र पहिलेभन्दा चलायमान हुन्छ’

राष्ट्रिय वाणिज्य बैङ्कका सीईओ भन्छन्- हाम्रोमा अब ढिलासुस्ती छैन

१० भदौ, काठमाडौं । मुलुकको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क एक समय धराशायी अवस्थामा थियो । खारेजीको विन्दुमा पुगेको बैङ्क अन्ततः विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो र ५ वर्षपछि उकासियो ।

त्यसबेला बैङ्कले प्रवाह गरेको कुल कर्जामध्ये ६१ प्रतिशत खराब कर्जा थियो । बैङ्क ५ अर्ब नोक्सानीमा थियो । त्यही बैङ्क मुनाफाका हिसाबले अहिले पहिलो नम्बरमा छ । ब्याजदर पनि सस्तो यही बैङ्कमा छ ।

कुनै बेला डुब्न लागेको बैङ्क अहिले कसरी बन्यो त नम्बर वान ? बैङ्कमा दोस्रो कार्यकाल बिताइरहेका सीईओ किरणकुमार श्रेष्ठ भएका श्रोत र साधनको सदुपयोग नै मुख्य ओखती भएको बताउँछन् । सीईओ श्रेष्ठसँग हामीले कोभिडले बैङ्किङ क्षेत्रमा पारेको असरबारे पनि कुराकानी गर्‍यौं । कोभिडको भ्याक्सिन बनेपछि अर्थतन्त्र पहिलेको भन्दा धेरै चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

कोभिडको असरले बैङ्किङ क्षेत्रलाई कत्तिको समस्यामा परेको देख्नुहुन्छ ?

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई समस्यामा पारेको छ । अर्थतन्त्रसम्बन्धी पछिल्लो समयका अध्ययन प्रतिवेदनहरू हेर्ने हो भने पनि यो तथ्य स्पष्ट नै छ । विश्व अर्थतन्त्रलाई असर पारेपछि यसबाट नेपालको अर्थतन्त्र अछुतो रहने कुरा भएन ।

मुलुकको अर्थतन्त्रमा असर परेपछि बैङ्किङ क्षेत्रमा पनि परिहाल्छ । बैङ्किङ क्षेत्रमा कति असर परेको छ भन्ने कुरा गत आर्थिक वर्षको वित्तीय विवरणहरू हेर्ने हो पनि पक्कै देखिन्छ ।

गत आर्थिक वर्षको वित्तीय विवरणमा अधिकांश बैङ्कको मुनाफामा गिरावट आएको छ भने निष्कृय कर्जा बढेको छ । यो कोभिडको मात्रै असर हो कि यसका अन्य कारण पनि छन् ?

धेरै हदसम्म कोभिडको असर नै मान्नुपर्छ । चैत्र ११ गतेदेखि असारसम्मै लकडाउन भयो । यति लामो समय लकडाउन हुँदा व्यापार व्यवसायहरू चल्न सकेनन् । नयाँ व्यवसायहरू सञ्चालनमा आउने त कुरै भएन ।

अन्य कारोबार नभएपछि त्यसको असर बैङ्किङ क्षेत्रमा पर्छ । उद्योग व्यवसायहरू चल्न नसकेपछि त्यहाँ गएको ऋण पनि उठ्न सकेन, ब्याज समयमा उठेन । यो असहज अवस्थालाई सहज बनाउनका लागि केन्द्रीय बैङ्कले बैङ्कहरूलाई छुट दिन भन्यो ।

हामीले चैत्र महिनामा पनि ब्याज छुट दियौं । फेरि ब्याज तिर्ने समय पनि पर सारिएको छ । बैङ्कको खर्चहरू भने घटेन । खर्चहरू नघट्ने र आम्दानीमा केही ह्रास आएका कारण बैङ्कको नाफामा गिरावट आएको हो ।

अब रहृयो निष्कृय कर्जाको कुरा । निष्कृय कर्जा औसतमा पक्कै पनि बढेको छ । अहिले जुन निष्कृय कर्जा छ त्यो त्यति ठूलो भने होइन । औसतमा हाम्रो बैङ्किङ क्षेत्रमा भएको निष्कृय कर्जा कम नै हो । यद्यपि यो वर्ष केही बढ्यो । हामीसहित केही बैङ्कले भने घटाएका पनि छौं ।

तिर्नुपर्ने ऋण समयमा नै तिरेका छैनन् । अलि पुराना ऋणहरू भुक्तानी नहुँदा असर परेको छ । पुस मसान्तभन्दा अगाडि नै भुक्तानी गर्नुपर्ने कर्जामात्रै खराब कर्जामा राखिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा तिर्ने समयावधि ६ महिनादेखि २ वर्षसम्म पर सारिदिएको छ, यसले बैङ्कहरूमा कस्तो असर पर्ला ?

यो बेलामा आम्दानी हुन गाह्रो पक्कै छ । त्यसैले हामीले पनि केही सोचेर सहुलियत दिनैपर्छ । यसले पक्कै पनि बैङ्कहरूमा असर पर्छ नै । हामीले जुन किसिमले नाफा कमाउने सोचेका छौं त्यसमा रोकावट हुन्छ । हामीले सोचेको नाफा कमाउन निकै गाह्रो छ ।

यो गाह्रो अवस्था २ वर्षसम्म नै रहला ?

यसको असर २ वर्षसम्म नै पर्ने देखियो । कोरोनाको जोखिम कहिलेसम्म हो भन्ने पनि केही थाहा छैन । अहिले पनि निकै गाह्रो अवस्था छ । यसले पक्कै पनि केही समय असर गरिरहन्छ ।

४ महिना लामो लकडाउनपछि अहिले पुनः काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ, अब बैङ्किङ क्षेत्रले झेल्नुपर्ने सम्भावित समस्याहरू के-के हुन् ?

४ महिना लकडाउन हुँदा हाम्रो व्यवसायहरू विस्तार हुन सकेन र लगानीको वातावरण बनेन । जब लकडाउन खुल्यो, व्यवसाय बिस्तारै चल्मलाउने देखिएको थियो । कर्जाको माग बिस्तारै बढ्ने सम्भावना देखिएको थियो । लगानीको वातावरण बन्छ कि भन्ने आश देखिँदै गएको थियो ।

तर काठमाडौं उपत्यकामा नै कोरोनाको धेरै जोखिम देखिएपछि अहिले पुनः निषेधाज्ञा लागू गरिएको छ । जोखिम देखिएपछि यो गर्नै पनि पर्ने थियो । तर हाम्रो व्यवसाय विस्तार जुन किसिमले हुने क्रममा थियो अब त्यो नहुने भयो । निषेधाज्ञा भएपछि त यसै पनि रोकियो ।

काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका जिल्लाहरूमा पनि अहिले जोखिम बढेको छ । जोखिम धेरै भएपछि बैङ्कले सहज रूपमा सेवा दिन पाएका छैनन् । लगानीको वातावरण बिगि्रएको छ ।

कोरोनाको प्रभाव दिनानुदिन बढ्दै गएको छ । चाँडै यो टर्‍यो भने त समस्या समाधान होला, नत्र गाह्रो छ । अझै असहज अवस्था हुने, जोखिम बढ्दै जाने हो भने त झन् ठूलो समस्या बैङ्किङ क्षेत्रले भोग्नु पर्नेछ ।

अघिल्लो वर्षसम्म बैङ्कलाई लगानी योग्य पुँजी (तरलता) अभावको निकै समस्या थियो । जब कोभिड आयो, अहिले बैङ्कमा ठीक विपरीत समस्या सिर्जना भएको छ । बैङ्कमा तरलता अभाव होइन अधिक तरलताले पो पिरोल्ने देखियो होइन ?

एकदमै हो, निश्चित रूपमा अहिले तरलता अधिक देखिएको छ । जतिबेला असहज अवस्था थियो, त्यसबेला हामीसँग तरलता अभाव थियो ।

अहिले सीसीडी रेसियो पनि एकदमै सहज अर्थात् तल झरेको अवस्था छ । यो भनेको हाम्रो रिसोर्सहरू हामीले परिचालन गर्न पाएका छैनौं । यो परिचालन गर्दा हामीले पाउने केही मार्जिन हुन्छ । यो हामीले पाएका छैनौं । यसले समग्र बैङ्किङ क्षेत्रलाई नै समस्या पारेको छ ।

कृषि क्षेत्रमा त अहिले पनि लगानी हुनुपर्ने हो, किन कर्जाको माग हुन सकेको छैन ?

पहिलो कुरा त मान्छेलाई जीवन नै ठूलो कुरा हो । मान्छेले अहिले अन्य कुराभन्दा पनि स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । फेरि यो कोरोना कहिलेसम्म रहन्छ भन्ने ठेगान पनि त छैन । यसले गर्दा मान्छेहरू लगानी गरिहाल्न डराएको अवस्था छ ।

यसले गर्दा आर्थिक गतिविधिहरू हुन पाएका छैनन् । जसका कारण बैङ्कमा कर्जाको माग हुन नसकेको हो । तपाईंले भनेको ठीक हो, कृषिमा यो समयमा लगानी हुनुपर्ने थियो । लकडाउन खुलेपछि कृषिमा कर्जा माग पनि बढेको थियो ।

निकै सुधार हुन्छ कि जस्तो देखिएको पनि हो । मान्छेहरू निकै आकषिर्त देखिएका थिए, यो क्षेत्रमा लगानी गर्नका लागि । तर पछिल्लो समय पुनः त्यस्तो वातावरण बनेको छैन । कोरोनाको जोखिम बढेको हुनाले धेरै जिल्लाहरूमा लकडाउन गरिएको छ । यसले गर्दा पनि कर्जाको माग हुन सकेको छैन ।

लकडाउनकै अवधिमा माग भएका थोरै कर्जाहरू पनि भइरहेका परियोजनालाई पूरा गर्नका लागि हुने गरेको थियो । नयाँ व्यवसायका लागि कर्जा माग हुन सकेको थिएन । लकडाउनपछि साना तथा मझौला उद्योग व्यवसायहरूमा कर्जा माग हुन थालेको थियो तर अहिले यो पनि माग हुन सकेको छैन । तर कोभिडको असर अन्त्य भएपछि भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।

भोलि कोभिडको भ्याक्सिन बनेपछि आर्थिक गतिविधि ‘बुम’ हुनसक्ने सम्भावना देख्नुहुन्छ ?

एकदमै, अहिले त अन्योल छ कहिले यसको असर सकिन्छ भन्ने । यदि कोभिडको भ्याक्सिन बन्यो र त्यो सबैतिर पुग्न सक्यो भने आर्थिक क्रियाकलाप एकदमै तीव्र हुन्छ । कोभिडको भन्दा अगाडि जुन किसिमको आर्थिक गतिविधि थियो, यदि भ्याक्सिन बन्यो भने त्योभन्दा पनि बढी हुन्छ ।

अब राष्ट्रिय वाणिज्य बैङ्कको कुरा गरौं । कुनै बेला निकै खराब अवस्था झेलेको बैङ्क अहिले मुनाफाका आधारमा नम्बर वान छ, यो कसरी सम्भव भयो ?

कसरी सम्भव भयो भन्ने कुरा गर्नुपर्दा पहिलो यसको पृष्ठभूमि हेर्नुपर्ने हुन्छ । राष्ट्रिय वाणिज्य बैङ्क निकै समस्याबाट गुज्रेको बैङ्क हो । तपाईंले भने जस्तै कुनै बेला यो बैङ्क निकै अप्ठ्यारो अवस्थामा पुगेको थियो ।

हामीसँग धेरै श्रोत-साधनहरू थिए । तर हामीले यसको सदुपयोग गर्न सकेका थिएनौं । २०५९/६० सालमा वित्तीय क्षेत्र सुधारका जुन कार्यक्रमहरू ल्याइयो, त्यसले पनि परिवर्तनका लागि राम्रै मद्दत गर्‍यो । पछि विभिन्न प्रयासहरू भए ।

हामीसँग भएको स्रोतको उपयोग हामीले क्रमशः बढाउँदै लग्यौं । पर्याप्त निक्षेप हुने तर त्यो लगानी कम हुने हुँदा पनि केही समस्याहरू भए । जस्तो म बैङ्कको नेतृत्वमा आउँदा पनि ५८ प्रतिशत मात्रै सीसीडी रेसियो थियो । त्यसलाई हामीले क्रमशः बढाउँदै लग्यौं ।

हामीले ५८ प्रतिशत रहेको सीसीडीलाई ६२, ६५, ७२ हुँदै ८० प्रतिशतसम्म पुर्यायौं । हामीले व्यवस्थापनका तर्फबाट भइरहेको सुधारलाई निरन्तरता दियौं । यसकारण अहिले राष्ट्रिय वाणिज्य बैङ्क यो स्थानसम्म आइपुगेको छ । हामीले सिकेको पाठ पनि के हो भने आफूसँग भएको स्रोत र साधनको राम्रो सदुपयोग गर्न सक्यौं भने सफल भइन्छ ।

यो बैङ्क त ढड्डाबाट चलेको पुरानो बैङ्क, अहिलेचाहिँ ढड्डा युगको अन्त्य भइसक्यो कि अझै बाँकी छ ? 

हामीले ढड्डा युगको अन्त्य गरिसकेका छौं । तर अझै पनि हामीले कम्प्युटराइज सिस्टममा गर्नुपर्ने केही कामहरू बाँकी छन् । अन्तर्राष्ट्रियस्तरको सीबीएस प्रणाली हामीसँग छैन । अहिले हामी कम्प्युटराइज सिस्टममा छौं, अझै यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।

अन्तर्राष्ट्रिय बजारमा चलेको सफ्टवेयरहरू हामीले लागू गर्ने तयारी गरिरहेका छौं । हामी बैङ्कलाई प्रविधिमैत्री बनाउने सोचमा छौं । अबको बैङ्किङ सेवा डिजिटाइजेसनमा जानुपर्छ । राष्ट्रिय वाणिज्य बैङ्क डिजिटाइज बैङ्किङको दिशामा अगाडि बढिरहेको  छ ।

दोस्रो कार्यकालको लागि जिम्मेवारी पाउनुभएको छ, आफ्नो पहिलो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

मैले गत चैतदेखि दोस्रो कार्यकालको जिम्मेवारी पाएको छु । बैङ्कको विगतको अवस्था कस्तो थियो भन्ने कुरा जानकारीमै छ । हामीले बैङ्कको नाफामा सुधार ल्याएर अहिले नम्बर वान बन्न सफल भएका छौं । मेरो पहिलो कार्यकालमा बैङ्कले सरकारलाई १२ प्रतिशत लाभांश दिन सफल भयो । यो ऐतिहासिक थियो ।

अर्को भनेको जनशक्तिको कुरा पनि छ । हामीले नयाँ दक्ष युवा जनशक्तिहरू भित्र्यायौं । सरकारी पाराको बैङ्क भन्ने छापलाई परिवर्तन गर्नेगरी काम गयौर्ं । यसमा धेरै हदसम्म हामी सफल भएका छौं ।

अर्को कुरा हामीले शाखा विस्तारमा पनि निकै राम्रो प्रगति गरेका छौं । म आउँदा ६५ जिल्लामा मात्रै शाखा सञ्जाल थिए । अहिले हामीले ७ प्रदेशका ७७ जिल्लामै शाखा विस्तार गरेका छौं । हामीले व्यवसाय विस्तारमा पनि निकै राम्रो प्रगति गरेका छौं ।

हाम्रोमा अहिले साना तथा मझौलादेखि ठूला कर्पोरेट हाउसहरू पनि धेरै ग्राहक हुनुहुन्छ । देशका ठूला प्रतिष्ठित उद्योगी घरानाहरूलाई हामीले बैङ्कभित्र ल्याउन सफल भयौं । बैङ्कलाई हामीले स्मार्टनेसमा अघि बढाएका छौं । बैङ्कको सुधारका लागि आधारभूत कामहरू पहिलो कार्यकालमा भएका छन् ।

अब दोस्रो कार्यकालमा के-कस्ता योजना छन् त ?

अहिले त भर्खर मेरो पहिलो कार्यकाल सकिएको छ । दोस्रो कार्यकालमा पनि गर्नुपर्ने कामहरू धेरै छन् । मुख्यतः दुईवटा काम गर्नैपर्ने छ । एउटा डिजिटाइज्ड बैङ्क बनाउनु छ । डिजिटाइज्ड बैङ्किङमा अरूभन्दा कम नहुने हाम्रो योजना छ ।

अर्को भनेको बैङ्कमा दक्ष जनशक्तिको अभाव हुन नदिनु हो । अहिले पनि हाम्रो बैङ्कका कर्मचारीहरूको औसत उमेर ३६ वर्ष छ । यहाँ युवाहरू धेरै आइसक्नु भएको छ । आगामी दिनमा पनि हरेक हिसाबले अन्य बैङ्कसँग प्रतिस्पर्धी हुन सक्नेछौं । यी दुई कुरामा प्राथमिकता दिनुपर्छ भन्ने मलाई लागेको छ ।

सरकारी बैङ्क भए पनि सेवा सुविधामा निजी क्षेत्रको बैङ्कभन्दा कम हुनेछैन । छिटो-छरितो र भरपर्दो बैङ्िकङ्ग सेवा हाम्रो प्राथमिकतामा हुनेछ । सरकारी संस्थानहरू, सरकारी निकायहरू कमजोर हुन्छन्, घाटामात्रै खुवाउँछन् भन्ने त हामीले गलत सावित गरिसक्यौं ।

सार्वजनिक संस्थानहरूको सेवा प्रवाहमा ढिलासुस्ती हुन्छ भन्ने सोचको अन्त्य राष्ट्रिय वाणिज्य बैङ्कले गराउने छ । अब बैङ्कमा ग्राहक आएपछि छिटो छरितो रूपमा स्मार्ट बैकिङ्ग सेवा पाउनेछन् । बैङ्कमा सरकारको जुन किसिमको लगानी छ र सहयोग छ, त्यसको सार्थकताका लागि पनि हामी ग्राहकको चाहनाअनुसारको नयाँ सोचको आधुनिक बैङ्िकङ्ग सेवा दिन तत्पर छौं ।

बैङ्कको बेस रेट सबैभन्दा कम राख्न सफल हुनु भएको छ, बेसरेट देखेर यस बैङ्कमा कर्पोरेट क्षेत्रका ऋणीहरू कत्तिको आकर्षित छन् ?

अहिले त लगानी हुने वातावरण नै कम छ । अहिले हाम्रो आधार दर (बेसरेट) ५.८० छ । हामीले पि्रमियम पनि १.२५ प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म मात्रै लिन्छौं । अधिकतम पि्रमियम जोड्ने हो भने पनि हाम्रो बैङ्कमा ब्याजदर ९ दशमलव ०५ प्रतिशत मात्रै मात्रै हुन आउँछ ।

स्वाभाविक रूपले बैङ्किङ क्षेत्रमध्येकै ब्याजदर सस्तो देखिएको छ । हाम्रो बैङ्किङ सेवा प्रतिस्पर्धी भएकै कारण अहिले पनि राष्ट्रिय वाणिज्य बैङ्क आकर्षणको केन्द्रमा छ । कर्पोरेट क्षेत्र, एसएमईलगायत धेरैका लागि बैङ्क आकर्षणको विषय बनेको छ ।

व्यवसायीहरूको धेरै प्रस्ताव हामी कहाँ आएका छन् । रा.वा. बैङ्कलाई तपाईंको आफ्नै बैङ्कको रूपमा अगाडि बढाएका छौं । सहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको प्रमुख रोजाइको बैङ्कको रूपमा अहिले राष्ट्रिय वाणिज्य बैङ्क  छ ।

नाफामा पहिलो छ, ब्याजदर सबैभन्दा सस्तो छ तर निष्कृय कर्जा अधिक छ । त्यसलाई अन्य बैङ्कको हाराहारीमा कहिले ल्याउनुहुन्छ ?

यो कुरामा चाहिँ मलाई पनि बडो दुःख लाग्छ । धेरै पत्रकारहरूले मलाई यो कुरा सोध्नुहुन्छ । हामी धेरै हिसाबले नम्बर वान छौं तर हाम्रो एनपीएल सबैभन्दा धेरै छ । तपाईंले जुन प्रश्न सोध्नुभयो यो सबैभन्दा धेरै सोधिने प्रश्न पनि हो ।

औसतमा हेर्ने हो भने हाम्रो बैङ्किङ क्षेत्रकै एनपीएल कम छ । केहीको १ प्रतिशतभन्दा कम केहीको २ प्रतिशत हारहारीमा छ । हामी सहित केहीको ४ प्रतिशत हाराहारीमा छ । हामीलाई ६० सालभन्दा अगाडिका केही कर्जाहरूका कारण पनि समस्या भयो ।

हामीले केही कर्जाहरू उठाउन सकेनौं । प्राविधिक केही समस्याहरू भएका कारणले पनि हो । पछिल्लो समय हामीले घटाइरहेका छौं, अझै घटाउछौं । एनपीएल अन्य बैङ्कको हाराहारीमा ल्याउनका लागि हामी लागिपरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment