Comments Add Comment

रुकुमपश्चिममा गोली हानेर दुई जना पक्राउ

१० भदौ, काठमाडौं । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो ।

गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

केही दिनअघि रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मंगलबार दुई व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट लागुऔषध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment