Comments Add Comment

विदेशबाट विमानमा नेपाल आउन सरकारका शर्तैशर्त

१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् । यसैगरी १ सेप्टेबरपछि स्वदेशी वायुसेवा कम्पनीबाटै चार्डर्ड उडान हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको उडान तालिका उल्लेख भएअनुसार नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न शर्तको पालना गर्नुपर्नेछ । ती शर्तहरू यसप्रकार छन् ।

पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य

अब नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ, त्यो पनि ७२ घण्टा भित्रको । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिंग पास दिनुपर्ने भएको छ ।

सबै यात्रु पीसीआर नेगेटिभ भए घर जान पाइने

अब एउटै उडानबाट आएका सबै यात्रुको साथमा पीसीआर परीक्षणको नेगेटिभ नतिजा रिपोर्ट भएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ व्यवस्थापन केन्द्रले गर्नेछ । यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारी समेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनुपर्ने गरी शर्त राखिएको छ ।

अनलाइन फारम अनिवार्य

अब नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनुपर्ने शर्तसमेत राखिएको छ ।

पीसीआर भएको र नभएका यात्रु मिसाउन नपाइने

अब एउटै जहाजबाट पीसीआर नेगेटिभ आएको र परीक्षण नै नगरेका यात्रुलाई ल्याउन वायुसेवा कम्पनीले पाउने छैनन् । कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ ।

परीक्षण नगरेका यात्रु ल्याए कारबाही

सरकारले पीसीआर परीक्षण सम्भव नहुने नेपाली रहेका स्थानमा चार्टर्ड उडान राखेको छ । तर नियमित उडानमा भने अब पीसीआर नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको शर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय वायुसेवा कम्पनीले पाउने भएका छन् । त्यसरी ल्याएमा एकातर्फ कानुनअनुसार कारबाही हुने र अर्कोतर्फ यात्रुको खर्चसमेत एयरलाइन्सले भर्नुपर्ने गरी शर्त राखिएको छ ।

विदेशीको हकमा परिचयपत्र अनिवार्य

सरकारले पहिलो चरणको नियमित उडानका दौरान विदेशबाट नेपाली नागरिकबाहेक कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई मात्र आउन अनुमति दिएको छ।

यस्ता व्यक्तिलाई बोर्डिङ पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नुपर्नेछ । कन्सुलर विभागले जारी गरेको परिचय पत्र नभएमा आफू कार्यरत संस्थाले जारी गरेको परिचयपत्रलाई आधार मानेर वायुसेवा कम्पनीले जहाज चढाउन सक्ने भएका छन् ।

भिसाको जिम्मा विभागलाई

कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई दिने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशनअनुसार निर्णय हुने भएको छ । विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ।

नियुक्तिपत्रबाट छुट

कुनै पनि कूटनीतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइने भएको छ । यस्ता व्यक्तिको पनि पीसीआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाई सरह लागू हुनेछ ।

स्वास्थ्यको मापदण्ड अनिवार्य

नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भएको छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै  निर्देशनसमेत जारी गरेको छ । वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलको सूची सार्वजनिक भइसकेको छ । क्वारेन्टिनमा बस्नैपर्ने यात्रुले अग्रिम होटेल बुकिङ गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुन सक्ने समेत मन्त्रालयले राखेको शर्तमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment