Comments Add Comment

कोरोनाबाट मृत्यु भएका पुरुषको रिपोर्ट : कहिले नेगेटिभ, कहिले पोजेटिभ !

१० भदौ, कैलाली । एक महिना अगाडि भारतबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका–११ का ४५ बर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भयो ।

भारतमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साउन ११ गते नेपाल आए । गोदावरी नगरपालिकाले त्यही दिन उनको स्बाब संकलन गर्‍यो । त्यसको रिपोर्ट नआउँदै स्वास्थ्यमा समस्या भएपछि उनी १३ गते सेती अस्पतालमा भर्ना भए ।

अस्पतालले त्यही दिन स्वाब संकलन गर्‍यो र भोलिपल्ट नेगेटिभ रिपोर्ट आयो । त्यसपछि पनि अस्पतालमा उपचाररत उनी त्यतिबेला अप्ठ्यारोमा परे, जब ११ गते नगरपालिकाले संकलन गरेको स्वाबको रिपोर्ट १९ गते पोजेटिभ आयो ।

‘हामीले पहिला स्वाब संकलन गरेका थियौं, तर ढिलो आयो’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवर भन्छन्, ‘हाम्रो रिपोर्टमा पोजेटिभ छ, अस्पतालले नेगेटिभ आयो ।’ नगरपालिकाले अस्पतालको रिपोर्टलाई नै स्वीकार गर्‍यो ।

उनी २४ गते अस्पतालबाट डिस्चार्ज भए । तर स्वास्थ्यमा समस्या आएपछि उनी ३२ गते निसर्ग अस्पताल पुगे । अस्पतालले सेती प्रादेशिक अस्पतालको रिपोर्ट हेरेर उपचार सुरु गर्‍यो । तर धेरै समयसम्म पनि निको नभएपछि सोमबार पुन : स्वाब संकलन गरेको गोदावरी ११ का वडाध्यक्ष शिव विकले बताए ।

उनको रिपोर्ट मंगलबार पोजेटिभ आयो ।

लगत्तै उनलाई सेती अस्पतालमा लगिएको थियो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘आईसीयूमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भयो ।’

उनकी श्रीमती, छोरा र छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment