Comments Add Comment

बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु

१० भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ ।

अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको थियो भने मृत्यु हुनुभन्दा केही अगाडि मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।

उनका बुबाको २० दिनअघि मात्र मृत्यु भएको थियो । बुबाको काजक्रिया गर्दैगर्दा उनको स्वास्थ्यमा सामान्य समस्या थियो । तर परिवार शोकमा परेका कारण तत्काल उपचार गर्न ध्यान पुगेन ।

बुबाको नेगेटिभ, छोरीको पोजेटिभ

परिवारका सदस्यहरुका अनुसार ७० वर्षीय बुवाको साउन २३ मृत्यु भएको थियो । स्वास्थ्यमा पहिलेदेखि समस्या भएका कारण कोरोना संक्रमणको आशंकामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

काजक्रियाका क्रममा छोरी बिरामी परिन् । तर परिवार नै शोकमा भएका कारण खासै ध्यान दिएनन् । मंलबार गाह्रो भएपछि अस्पताल त लगियो तर ढिला भइसकेको थियो । मृतकका भाइले भने, ‘पहिले पनि निमोनिया भएको थियो, फेरि बल्झिएछ । कोरोना संक्रमण पनि भएछ ।’

उनको पारिवारको उपस्थितिमा अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले हाटखोलाको पूर्वतर्फ रहेको परमविश्रान्ति घाटमा अन्त्येष्टि गरेको हो ।

उच्च अदालत विराटनगरले सोमबार मात्र आफन्तले चाहे मृत्यु संस्कारमा उपस्थित गराउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment