Comments Add Comment

प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

११ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिरासतमै रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

‘हिरासतमा रहेका १९ वर्षीय विजय रामको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले भने, ‘किड्नीमा समस्या रहेकोले उनलाई थप उपचारको लागि वीरगञ्ज पठाएका थियौं । गएराति उपचारकै क्रममा उनको मृत्यु भयो ।’

प्रहरीले हत्याको आरोपमा विजयसहित सात जनालाई पक्राउ गरेको थियो । स्थानीयले भने प्रहरीले हत्याको मुख्य दोषीलाई जोगाउन निर्दोष व्यक्तिहरु उपर मुद्दा दायर गरेर चरम यातना दिएको आरोप लगाएका छन् । स्थानीय दलित समुदायले प्रहरीकै कुटपिटबाट विजयको मृत्यु भएको आरोप लगाएका छन् ।

केही व्यक्तिहरु जोगाउन प्रहरीले हत्याको घटनालाई अर्कै रुप दिएको र वास्तविक दोषीको सट्टा दलितहरुलाई पक्राउ गरेर अन्याय गरेको भन्दै चार दिनअघि दलित अगुवाहरुले इलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रदर्शनसमेत गरेका थिए ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजय कुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवान र विजय महरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment