
काठमाडौं । कन्जक्टिभाइटिस आँखामा देखिने एक किसिमको विकार हो । जसले कन्जक्टिभामा जलन गराउले गर्छ । कन्जक्टिभा वास्तवमा कोषहरूको पातलो पारदर्शी तह हो, जसले परेलाको भित्री भाग र आँखाको सेतो भागलाई ढाकेको हुन्छ ।
कन्जेक्टिभाइटिसको समस्या हुँदा एक वा दुवै आँखामा एकै पटक पनि समस्या हुन सक्छ । केन्जक्टिभाइटिसका केही प्रकारहरू अत्यधिक संक्रामक पनि हुन सक्छन् । यो आँखाको एउटा सामान्य समस्या जस्तो देखिन्छ । तर कतिपय समयमा यो ठूलो समस्याको रूपमा पनि विकास हुने गर्छ ।
कन्जेक्टिभाइटिसबाट पीडित मानिसमा यस्ता लक्षण देखिन सक्छ :
–एक या दुईवटै आँखाको भित्री भागमा समस्या सिर्जना हुनु ।
–एक वा दुवै आँखामा जलन हुने वा चिलाइरहनु ।
–आँखाबाट अधिक मात्रामा पानी बहनु ।
–एक वा दुवै आँखाको सेतो भागमा गुलाबीपन देखिनु ।
–आँखाले प्रकाश स्पष्ट नदेख्नु ।
कन्जक्टिभाइटिस का कारणहरूः
कन्जक्टिभाइटिस का मुख्य कारणहरूमा विशेषतः एलर्जी, संक्रामण र रासायनिक कारण रहेका छन् ।
एलर्जीबाट हुने कन्जक्टिभाइटिस
एलर्जीबाट हुने कन्जक्टिभाइटिस प्रायः ती मानिसहरूमा देखापर्छ जुन मौसम परिवर्तन हुने समयमा एलर्जीको समस्याबाट ग्रस्त हुन्छन् । मौसम परिवर्तनको समयमा एलर्जी हुने व्यक्तिलाई कुनै यस्तो तत्वको सम्पर्कमा आएपछि मात्रै कन्जक्टिभाइटिस हुन्छ, जसबाट आँखामा एलर्जिक रिएक्सन सुरु हुन्छ ।
संक्रामक कन्जक्टिभाइटिस
हाम्रो छाला वा श्वासप्रणालीबाट स्टेफाइलोकोकल वा स्ट्रेप्टोकोकल ब्याक्टेरियाको कारणले पनि कन्जक्टिभाइटिस को समस्या हुने गर्छ । फोहोर हातले आँखालाई छुँदा वा दूषित श्रृङ्गारको आँखामा प्रयोग गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । मेकअपका सामग्रीहरू एकभन्दा धेरै मान्छेले प्रयोग गर्ने वा फोहोर चस्मा या अरूको चस्मा प्रयोग गर्दा पनि संक्रामक कन्जक्टिभाइटिस को समस्या निम्तिन सक्छ ।
सामान्य प्रकारको संक्रमण चिसोसँग सम्बन्धित भाइरसहरूबाट सर्ने गर्छ । यो माथिल्लो श्वासनलीमा संक्रमण भएका कसैले खोक्दा या हाच्छ्युँ गर्दा आउने भाइसरका कारणले हुन सक्छ । यसले धेरै गम्भीर समस्या पनि निम्त्याउन सक्छ । यसको तुरून्त उपचार गरिएन भने यसले आँखामा स्थायी समस्या सिर्जना गर्न सक्ने चिकित्सकहरू बताउँछन् ।
रासायनिक कन्जक्टिभाइटिस
रासायनिक कन्जक्टिभाइटिस हावाको प्रदूषण, पौडी पोखरीमा हुने दुर्गन्ध र हानिकारक रसायनका कारण हुन सक्छ ।
कन्जक्टिभाइटिस को फैलावट रोक्नको लागि मुख्यगरी हामीले निम्न उपायहरू आफैँले पनि अपनाउन सकिन्छ ।
–सकेसम्म आँखालाई हातले नछुनुहोस् ।
–समयसमयमा हातलाई राम्रोसँग साबुन पानीले धुनुहोस् ।
– आफूले प्रयोग गर्ने तौलिया र कपडा सकेसम्म दैनिक बदल्नुहोस् र अरूलाई सकेसम्म प्रयोग गर्न नदिनुहोस् ।
–आँखाको सौन्दर्य प्रसाधनमा विशेषगरी गाजलको प्रयोग रोक्न पनि आँखा चिकित्सकहरू सुझाव दिन्छन् ।
–चस्माको प्रयोगपूर्व चिकित्सकसँग सल्लाह लिनुहोस् ।
आँखाको समस्याको पहिचान
आँखामा देखिन सक्ने समस्याको पहिचान समयसमयमा गरिरहनुपर्छ । कन्जक्टिभाइटिस रोगको लागि मात्रै नभएर अन्य समस्याबाट बच्नको लागि पनि आँखामा कुनै समस्या छ कि छैन भनेर जाँच गरिरहनुपर्छ । आँखाको जाँच आफैंले यसरी गर्न सकिन्छ ।
–टाढा या नजिकको वस्तु देखाएर त्यसको दृश्यता मापन गरेर ।
–उज्यालो प्रकाश र म्याग्निफिकेसनको प्रयोग गरेर आँखाको बाहिरी कोशिकाहरूको आकलन गर्ने जस्ता विधिबाट समस्याको पहिचान गर्न सकिन्छ ।
प्रतिक्रिया 4