Comments Add Comment

प्रदेश २ का प्रयोगशालामा ४ हजार स्वाब थुप्रियो

११ भदौ, सप्तरी । गाउँमा एक संक्रमितको सम्पर्कमा पुगेका कारण बलान बिहुल गाउँपालिकाका विनोद रजकले साउन ३१ गते कोरोना परीक्षणका लागि स्वाब दिएर होम क्वारेन्टिनमा बसे ।

उनले २/३ दिनमा रिपोर्ट आउने आंकलन गरेका थिए । तर, रिपोर्ट ६ भदौमा आयो । ‘रिपोर्ट नआउँदासम्म धेरै तनाव खेप्नुप¥यो’ रजक भन्छन्, ‘स्वाब दिनुअघि मैले पनि केही साथीसँग भेटेको थिएँ । ती साथीहरु पनि तनावमा परे ।’

धनुषाको शहीदनगर नगरपालिकास्थित इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत किरणकुमार मिश्रलाई दुई साताअघि स्वास्थ्यमा समस्या देखियो । उनी विदा लिएर घर बसेकै दिन १०१ डिग्री ज्वरो आयो । त्यस दिन पारासिटामोल खाएका उनको ज्वरो हरायो । तर भोलिपल्ट टाउको र शरीर दुख्न थाल्यो ।

‘त्यसपछि घरभित्रै आइसोलेट भएर परिवारसँगको सम्पर्कबाट टाढिएँ’ मिश्रले भने, ‘३२ साउनमा जाँचका लागि स्वाब दिएँ ।’ उनले दिएको स्वाबको नतिजा भने १० दिनपछि ९ भदौमा आयो ।

प्रदेश २ मा मृत्यु भएको व्यक्तिको दाहसंस्कार गरिसकेपछि पनि रिपोर्ट आएको घटना छ ।

जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उपहानगरपालिका– १६ का ४३ वर्षका पुरुषको ३० साउनमा मृत्यु भयो । अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो । परिवारजनले अन्तिम संस्कार समेत गरिसकेपछि भदौ १ गते रिपोर्ट आयो ।

महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ बर्षीय पुरुषको २६ साउनमा जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भयो । सोही दिन उनको स्वाब संकलन गरियो ।

शव गाउँमा अन्तिम संस्कार गरिसकिएको अवस्थामा २८ साउनमा रिपोर्ट पोजेटिभ आएको थियो ।

सिरहाको मिर्चैया नगरपालिका–४ का ६८ बर्षीय पुरुषको ३ गते स्वाब संकलन गरिएको थियो । उनको ४ गते मृत्यु भयो । रिपोर्ट भने दाहसंस्कार गरिसकेपछि भदौ ५ गते आयो ।

प्रदेश २ मा कोरोना परीक्षणको नतिजा ढिलो आउँदा स्वाब दिनेहरु मारमा परेका छन् । लामो समयसम्म नतिजा नआउँदा उनीहरु समुदायमा घुलमिल भइसक्ने खतरा पनि बढेको छ ।

ढिलो गरी दिने रिपोर्टले सम्बन्धित मानिसलाई मानसिक तनाव दिने गरेको प्रदेश सरकारको सल्लाहकार समितिका विज्ञ डा. रामकेवल साह बताउँछन् ।

स्वाब दिएर मान्छेहरु आफ्नो परिवारसँग बस्ने गरेको साथीभाइसँग भेट्ने गरेको र जथाभावी घुमफिर गर्ने गरेको पनि पाइएको उनी बताउँछन् । ‘यस्तो व्यक्तिको रिपोर्ट १० दिनपछि पोजेटिभ भए कति जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने ?’ उनी भन्छन्, ‘१० दिनपछि दिइने रिपोर्टको के फाइदा ?’

डा. साह देशैभरिमा मेसिनको संख्या कमी र भएका मेसिनको क्षमता पनि थोरै भएकाले यस्तो समस्या भएको बताउँछन् । ‘परीक्षणको दायरा बढाउन केन्द्र सरकारले तदारुकता देखाउनुपर्ने हो’ उनी भन्छन्, ‘तर केन्द्र सरकार शिथिल भएको अवस्था छ ।’

४ हजारभन्दा बढी स्वाब परीक्षण बाँकी

प्रदेश २ मा ४ हजाभन्दा बढी स्वाब अहिले पनि थन्किएको छ । बुधबारसम्मको तथ्यांक हेर्दा ४ हजार १ सय १३ स्वाबको नतिजा आउन सकेको छैन ।

सबैभन्दा बढी सप्तरीमा १ हजार २७, सर्लाहीमा ८ सय, धनुषामा ७ सय, महोत्तरीमा ४ सय ५०, बारामा ३ सय ८१, सिरहामा ३ सय २२, रौतहटमा २ सय ५८ र पर्सामा १ सय ७५ वटा स्वाबको नतिजा आउन बाँकी छ ।

प्रदेशमा कोरोना परीक्षणका लागि ४ प्रयोगशाला छ । राजविराज, जनकपुरधाममा एक/एक प्रदेश सरकारले दिएको मेसिन छ भने बीरगंजमा केन्द्र सरकार र महानगरपालिकाले खरिद गरेको दुई वटा मेसिन छ ।

राजविराजको मेसिनमा दैनिक ३ सय ५० वटासम्मको स्वाब संकलन गर्न सकिन्छ । जनकपुरधामको मेसिनमा अहिले ५ सय जति दैनिक परीक्षण भइरहेको प्रयोगशाला प्रमुख वणकुमार मिश्र बताउँछन् । वीरगञ्जको दुबै मेसिनले दैनिक ५ सय जतिको स्वाब परीक्षण गरिरहेको छ ।

सबैभन्दा बढी स्वाब थन्किएको सप्तरी स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादव जिल्लाको स्वाब अन्य प्रयोगशालाले लिन नमानेको बताउँछन् । ‘पहिला यहाँ मेसिन नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौंको टेकु र विराटनगर प्रयोगशालाले पनि स्वाबको परीक्षण गर्दै आएको थियो’ यादव भन्छन्, ‘ती प्रयोगशालामा अहिले स्वाब लिन मानेका छैनन् ।’

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना जाँच्ने मेसिन संचालन भए यता यहाँ सप्तरी र सिरहाको जाँच भइरहेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा यहाँ दैनिक ३ सय ५० जनाको जाँच भइरहेको बताउँछन् ।

‘५ सय स्वाब संकलन गरिएको अवस्थामा थप ५ सय स्वाब संकलन भएपछि त केही दिन थन्किने नै भयो’ उनी भन्छन्, ‘झन् सिरहाबाट समेत दैनिक २ सय देखि ३ सय स्वाब आइरहेको छ ।’

उनले ढिलामा तीन दिनसम्म रिपोर्ट दिने गरे पनि बढी स्वाब संकलन भएका बेला ५ दिनसम्म लाग्ने गरेको बताउँछन् ।

प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख श्रवण कुमार मिश्र दैनिक रुपमा बढी स्वाब संकलन भइरहेकाले केहि स्वाब रोकिएको बताउँछन् ।

‘जति परीक्षण हुन्छ, त्योभन्दा बढी संकलन हुन्छ’ उनी भन्छन्, ‘त्यही भएर स्वाबको रिपोर्टमा केही ढिलाइ हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment