Comments Add Comment

टोखा नगरपालिकाबाट केही सिक्ने कि !

११ भदौ, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ३३७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिए । यससँगै संक्रमितको कुल संख्या ४ हजार नाघेको छ । जसरी संक्रमितको संख्या बढेको छ, उनीहरुलाई आसोलेसनमा मात्र होइन, कन्ट्याक्ट ट्रेसिङ पनि अर्को समस्या बनेको छ ।

कट्याक्ट ट्रेसिङको जिम्मा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्थानीय तहलाई दिएको छ । तर गत साता काठमाडौं–१४ की वडाअध्यक्ष शोभा सापकोटाले भन्दै थिइन्, ‘पीसीआर टेस्ट गर्नुपर्नेहरुको लिस्ट एक हप्ता अघि पठाएका थियौं, अझै स्बाव संकलन भएको छैन ।’

यही तरिकाको कन्ट्याक्ट ट्रेसिङले संक्रमण नियन्त्रण गर्न गाह्रो हुने जनश्वास्थ विज्ञहरु बताउँछन् ।

तर काठमाडौंको उत्तरतर्फ रहेको टोखा नगरपालिका कन्ट्याक्ट ट्रेसिङमा अपवाद बनेको छ ।

०००

एक हप्ताअघि टोखा नगरपालिकाले एउटा निर्णय गरेको छ, होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँको प्रोत्साहन भत्ता प्रदान गर्ने । नगर प्रमुख प्रकाश अधिकारी भन्छन्, ‘संक्रमितको साथमा नगरपालिका पनि छ भन्ने आभाष दिलाउन र पौष्टिक आहारका लागि संक्रमितलाई रकम दिने व्यवस्था गरेका हौँ ।’

अस्पताल वा नगरपालिकाको आइसोलेसनमा बस्नेहरुले भने यो प्रोत्साहन भत्ता पाउने छैनन् । तर उनीहरुका लागि पनि प्रतिदिन ७५० रुपैयाँ बराबरको पौष्टिक खानाको व्यवस्था नगरपालिकाकाले गरेको छ ।

हालसम्म टोखाका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, उनीहरुमध्ये दुई जनाको मृत्यु भएको छ । ४५ जना कोरोनामुक्त भइसकेका छन् । छ जना नगरपालिकाको आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन् । हरेक संक्रमितसँग नगरपालिका व्यक्तिगत सम्पर्कमा रहेको नगरपालिकाका स्वास्थ विभागका प्रवक्ता बसन्त गैरे बताउँछन् ।

एक दिन ट्रेसिङ, अर्को दिन स्वाब संकलन

नगरपालिकाले तीन वटा टिम बनाएको छ, संक्रमितलाई सम्पर्क गर्ने, ट्रेसिङ गर्ने र स्बाव संकलन गर्ने ।

प्रवक्ता गैरेका अनुसार कुनै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि शुरुमा संक्रमितको केस स्टडी गरिन्छ । त्यही टिमले ट्रेसिङको पनि काम गर्छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुको सूची तयार भएपछि स्बाव संकलन गर्ने टिम फिल्डमा पुग्छ । बसन्त भन्छन्, ‘हामीले एसएमएसबाटै ट्रेसिङमा परेकाहरुलाई स्वाब संकलन गर्ने स्थानबारे जानकारी दिन्छौं र अनिवार्य उपस्थित हुन आग्रह गर्छौ ।’

बिहीबार मात्रै ६४ जनाको स्वाव संकलन गरेको छ । मंगलबार १०४ जनाको स्बाव संकलन गरेर राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको थियो ।

स्वाब परिक्षणको रिपोर्ट पनि नगरपालिकाले आफ्नै सिस्टमबाट सम्बन्धित व्यक्तिलाई जानकारी गराउँछ । ‘कुनै व्यक्तिको रिपोर्ट पोजेटिभ आयो भने संक्रमितको रोजाइमै होम आइसोलेसन वा संघिय सरकार वा नगरपालिकाको आइसोलेसनमा बस्ने निर्णय गर्छौं’ बसन्तले भने, ‘लक्षण देखिएको अवस्थामा अनिवार्य आइसोलेसनमा राख्ने गरेका छौं ।’

ट्रेसिङकै टिमले संक्रमितको नियमित फलोआफ गर्छ । लक्षण देखिए नदेिखएको जानकारी लिने गर्छ । यदि लक्षण देखिएमा सम्पर्क गर्न नम्बर उपलब्ध गराइएको छ ।

पीसीआर विधिबाट परीक्षणका लागि नगरपालिका आफैंले ३०० किट खरिद गरेको थियो । नगरपालिकाले भदौ १ देखि ७ सम्ममात्र संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा २९८ जनाको पीसीआर परिक्षण गरिसकेको छ ।

टोखामा १४ जेठमा पहिलो संक्रमित देखिएको थियो । हालसम्म नगरपालिकाले १५ सयभन्दा बढीको पीसीआर टेष्ट गरिएको नगर प्रमुख प्रकाश बताउँछन् ।

नगरपालिकाको आफ्नै आसोलेसन

नगरपालिकाले चन्द्रेश्वरी प्राथामिक स्वास्थ्य केन्द्रको भवनमा १७ बेडको आइसोलेसन वार्ड तयार पारेको छ । १५ बेडको आइसोलेसन थप्ने तयारी छ । ‘केन्द्रीय सरकारले निर्माण गरेको बलम्बुको क्वारेन्टाइन भरियो भनेपछि हामीले आइसोलेसन वार्ड तयार पारेका हौँ’, नगर प्रमुखले भने ।

प्रत्येक वडामा फ्रन्टलाइनमा काम गर्नेहरुको पीसीआर परिक्षण गर्न लागिएको छ । फुटपाथ पसल सञ्चालक, स्वयंसेवी, स्वास्थ्यकर्मी, सफाई कर्मचारीलगायतलाई प्राथमिकतामा राखिएको छ । ‘प्रत्येक वडाका एकएक सयको दरले पीसीआर गर्ने योजना बनाएका छौँ’, नगर प्रमुख प्रकाशले भने, ‘त्यसका लागि नामावली संकलनको काम भइरहेको छ ।’

स्वाब संकलनका लागि नगरपालिकाले आफ्नै प्राविधिक टिम तयार पारेको छ । ‘६ जनालाई स्वाब संकलनको लागि तालिम प्रदान गरेका छौँ’, प्रमुख प्रकाशले थपे । चार वटा निजी तथा सरकारी अस्पतालसँग पनि सहकार्य गरेर आफूहरुले स्वाब संकलनको काम गरिरहेको उनले बताए ।

टोखाका संक्रमित

टोखामा ११ वटा वडा छन्, जसमध्ये १० नम्बर वडामा सबैभन्दा बढी २० जना संक्रमित भेटिएका छन् । वडा नम्बर आठमा संक्रमितको संख्या शून्य छ भने १ मा दुई, २ मा एक र वडा नम्बर ९ मा पाँच जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment