Comments Add Comment

फर्केर हेर्दा : यसरी गरे हरि खड्काले १३ अन्तर्राष्ट्रिय गोल

१२ भदौ, काठमाडौं । हरि खड्का । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई खेलाडीमध्ये एक । हरिले एक दशकभन्दा बढी समय नेपालका लागि खेलेर १३ गोल गरे ।

उनले फुटबल खेल्न छाडेको पनि १४ वर्ष पुगिसकेको छ । तर १३ वर्षअघि उनले राखेको त्यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् । हरिभन्दा केही पछिसम्म खेलेका निराजन रायमाझीले हरिको कीर्तिमान बराबरी गरे तोड्न सकेनन् । उनी पनि समान १३ गोलमा नै रोकिए ।

राष्ट्रिय टिम, नेपाल पुलिस क्लब, विदेशी लिग अनि प्रशिक्षक । फुटबलमा हरि खड्काको यात्रा रोमाञ्चक छ । केही इन्जुरी बाहेक उनले राष्ट्रिय टिममा निरन्तर एक दशक नै खेले । ११ वर्षको अन्तर्राष्ट्रिय खेल करियरमा उनले गरेका १३ गोललाई एकपटक फर्केर हेर्ने प्रयास यहाँ गरिएको छ ।

पहिलो गोल : साग विस्टोल गोल्डकप, सन् १९९५ (श्रीलंका)

सन् १९९५ मा श्रीलंकामा भएको सार्क विस्टोल गोल्डकपर्फत नै हरि खड्काले राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले श्रीलंका विरुद्ध पहिलो खेल खेल्न पाएका थिए जसमा नेपालले हार व्यहोर्यो ।

दोस्रो खेलमा हरिले पहिलो रोजाईँमा खेल्ने अवसर पाए । पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएकोले नेपाललाई समूह एबाट सेमिफाइनल स्थान सुरक्षित गर्न पाकिस्तानलाई कम्तिमा २-० को गोलअन्तरले हराउनु पर्ने थियो । संयोगवस हरिले पाकिस्तानविरुद्धको निर्णय भिडन्तमा मौका पाएँ ।

नेपालले पाकिस्तानलाई योजना अनुसार नै २-० ले हरायो । पहिलो गोलका लागि बालगोपालम हर्जनलाई पास मिलाएका हरिले दोस्रो गोल आफैं गरे । जुन नेपालको लागि उनको पहिलो गोल थियो ।

देवनारायणले डिबक्सको बाया साइडमा उपलब्ध गराएको पासमा हरिले गोल गरेका थिए । हरिले पहिलो अन्तर्राष्ट्रिय गोलको फरक किसिमले रेलिब्रेसन गरेका थिए ।

दोस्रो गोल : सातौं साफ गेम, १९९५ (भारत)

सातौँ दक्षिण एसियाली साफ च्याम्पियनसीप भारतको मद्रासमा भएको थियो । समूह चरणमा नेपालले माल्दिभ्ससँग खेल्यो । उक्त खेल नेपालको लागि ‘गर या मर’ को थियो । हारले नेपालको यात्रा समाप्त हुने थियो ।

माल्दिभ्स पनि त्यही अवस्थामा थियो । दुवै टोली जित चाहन्थे । माल्दिभ्सको रक्षात्मक रणनीति थियो । तर नेपालले खेलमा एउटा त्यस्तो अवसर बनायो, जसमा हरिले गोल गरे ।

दीपक अमात्यको पासमा हरिले गोलरक्षक अगाडि हावामा उडिरहेको बललाई दायाँ खुट्टाले भली प्रहार गरेर गोल गरे । त्यही गोलले नेपाल विजयी भयो र अर्को चरणमा प्रवेश पायो ।

तेस्रो गोल : एसियन कप छनोट, १९९६ (ओमान)

एसियन कप क्वालिफाइनिङ अन्तर्गत ओमानको मस्कटमा नेपालले समूह ५ मा प्रतिस्पर्धा गरेको थियो । पहिलो लेगमा नेपाल ओमानसंग २-१ ले पारजित भएको थियो, जसमा हरिले एक गोल गरेका थिए । स्ट्राइकर नरेन्द्र श्रेष्ठले दिएको पासमा उनले वान टचमै गोल गरेका थिए ।

चौथो गोल : विश्वकप छनोट, १९९७ (ओमान)

सन् १९९८ को फ्रान्समा हुने विश्वकप फुटबलका लागि नेपालले एसियन क्वालिफाइङ खेलेको थियो । उक्त खेल ओमानमा भएको थियो । नेपालको समूहमा मकाउ र ओमान थिए ।

पहिलो खेलमा मकाउविरुद्ध खेलेको नेपाल सुरुमै १-० ले पछि पर्‍यो । ओमानको सुल्तान रंगशालामा भएको खेलमा नेपालका लागि हरिले बराबरी गोल फर्काए । स्ट्राइकर नरेन्द्र श्रेष्ठको पासमा उनले गोल गरेका थिए ।

पाँचौ र छैटौं गोल : दक्षिण एसियाली गोल्डकप, १९९९ (भारत)

१९९९ को साग फेडेरेसन गोल्डकप अन्तर्गत भारतमा भएको माल्दिभ्सविरुद्धको खेलमा नेपाल ३-२ ले पराजित भएको थियो । उक्त खेलमा नेपालको लागी दुवै गोल हरि खड्काले गरे ।

समूह बी अन्तर्गत नेहरु रंगशालामा भएको खेलमा त्यतिबेला कडा प्रतिद्वन्द्वी मानिने माल्दिभ्सले नेपालविरुद्ध पहिलो मिनेटमै गोल गर्‍यो । पहिलो हाफमा नेपालले गोल फर्काउन सकेन । दोस्रो हाफमा भने नेपालले खेलमा सुधार गर्‍यो । खेलको ६५औँ मिनेटमा नरेश जोशीको पासमा हरिले गोल गर्दै नेपाललाई १-१ को बराबरीमा पुर्‍याए । त्यो उनको पाँचौँ अन्तर्राष्ट्रिय गोल थियो ।
माल्दिभ्सविरुद्ध १-१ को बराबरी गोल फर्काएपछि नेपाली खेलाडीको आत्मविश्वास बढेको थियो । नेपालले पकड बनाएको थियो । तर त्यसबेला सार्क क्षेत्रकै उत्कृष्ट टोली माल्दिभ्सले नेपालको गल्तीमा लगातार दुई गोल गर्दै ८५ मिनेटभित्र ३-१ को अग्रता बनायो । नेपालले अन्तिम समयसम्म पनि हार भने मानेन । खेल सकिन एक मिनेटअघि हरिले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर ३-२ मा झारेका थिए । त्यो हरिको छैटौं अन्तर्राष्ट्रिय गोल थियो ।

सातौ, आठौं, नवौं र दशौं गोल : आठौँ साफ, १९९९ (काठमाडौं)

सन् १९९९ मा आठौँ साफ खेलकुद प्रतियोगिता काठमाडौंमै भएको थियो । फुटबलमा आयोजक नेपाललाई नै स्वर्णपदकको दावेदार मानिएको थियो । घरेलु मैदान र समर्थकका कारण नेपाल स्वर्णका लागि निकै लालायित पनि थियो ।

नेपाल, भारत, पाकिस्तान र भुटान समूह बीमा थिए । भुटानविरुद्धको खेल नेपालले ७-० को फराकिलो अन्तरले जित्दा हरिले दुई गोल गरे । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा निकालेको ठूलो अन्तरको जित नै त्यही थियो । नेपालले कीर्तिमानी जित रचेको दिन हरिले दुई गोल गरेको थिए । त्यो समयम हरि आफ्नो खेल करियरकै उत्कृष्ट लयमा थिए ।

हरिले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए । उनले भुटानका गोलरक्षक अगाडि बढेको मौका छोपी बललाई चिप प्रहार गर्दै गोल गरे ।

भुटानविरुद्ध गरेको दोस्रो गोल हरिको आठौं अन्तर्राष्ट्रिय गोल थियो । तीन मिनेटको अन्तरमै हरिले अर्को गोल गरेका थिए । खेलको पाँचौ मिनेटमै नेपालले पेनाल्टीको अवसर पायो र त्यसमा हरिले सहजै गोल गरे । नेपालले पेनाल्टी प्रहार गर्ने अवस्थामा प्रशिक्षक कस्न्टाइनले हरिलाई जिम्मेवारी दिएका थिए । टिममा सिनियर खेलाडी भए पनि प्रशिक्षकको निर्देशन अनुसार हरिले सटिक पेनाल्टी प्रहार गरे ।

आठौं साफकै समूह चरणमा पाकिस्तानविरुद्ध नेपालले ३-१ को जित हात पार्दा हरिले १ गोल गरे । उनले खेल १-१ को बराबरी भएको अवस्थामा गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए ।

घरेलु मैदान र समर्थकको फाइदा लिँदै नेपाल आठौँ साफको फुटबलतर्फ सेमिफाइनलमा पुग्यो । फाइनल पुग्न नेपालले सेमिफाइनलमा माल्दिभ्सविरुद्ध खेलेको थियो । उक्त खेल नेपालले २-१ ले जित्दै फाइनलमा स्थान बनायो ।

दशरथ रंगशालामा २२ हजार दर्शक अगाडि नेपालमाथि दबाब पनि स्वभाविक रुपमा थियो । खेलको ११औँ मिनेटमै स्ट्राइकर नरेश जोशीले नेपाललाई १-० को अग्रता दिलाइसकेका थिए । त्यसको चार मिनेटपछि नै हरिले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । त्यो हरिको दशौँ गोल थियो । पहिलो हाफमै माल्दिभ्सले एक गोल फर्काए पनि नेपाल विजयी हुँदै फाइनल पुग्यो । फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै स्वर्णबाट भने बन्चित भएको थियो ।

एघारौं गोल : विश्वकप छनोट, २००२

सन् २००२ को विश्वकप अन्तर्गत एसियन छनोटमा नेपाल समूह ६ मा थियो । त्यस समूहमा नेपालसँगै इराक, मकाउ, काजकास्तान थिए । मकाउविरुद्धको खेल नेपालले ४-१ ले जित्दा हरिले आफ्नो एघारौं अन्तर्राष्ट्रिय गोल गरे । निराजन रायमाझी र हरिको तालमेलमा त्यो गोल भएको थियो । त्यो खेलमा निराजनले पनि दुई गोल गरेका थिए ।

१२औँ गोल : २००२ विश्वकप छनोट

२००२ को विश्वकप छनोट अन्तर्गत समूह ६ कै खेलमा नेपालले दुई लेगमा इराकसँग खेल्दा फराकिलो हार बेहोर्‍यो । एसियाकै शक्ति राष्ट्रविरुद्ध नेपालले दुई गोल फर्काउन भने सफल भयो ।

नेपाल ४-२ ले पराजित भएको खेलमा हरिले एक गोल गरेका थिए । मिडफिल्डर कुमार थापा तथा स्ट्राइकर निराजन रायमाझीको सहयोगमा हरिले त्यो गोल गरे । कुमारले निराजनलाई चलाखीपूर्ण तरिकाले ब्याक दिए । त्यसपछि निराजन र हरिबीच वान टु वा पास भयो । हरिले इराकका तीन डिफेन्डरलाई बिट गर्दै बल सानो डिबक्ससम्म पुर्‍याए र इराकका गोलरक्षक अगाडि बढेको अवस्थामा चिप गर्दै गोल गरे ।

त्यो गोललाई हरिले विशेष र उत्कृष्ट गोलका रुपमा लिएका छन् । त्यसबेला हरिको त्यस गोललाई कमेन्टेटरले ‘इन्टेलिजेन्ट’ संज्ञा दिएका थिए ।

१३औं गोल : २००३ एसियन छनोट

सन् २००४ को एसियन कपका लागि एएफसीले छनोट प्रतियोगिता आयोजना गरेको थियो । प्रिलिमिनरी राउण्डअन्तर्गत नेपाल समूह सी मा थियो । उक्त समूहमा नेपालसहित अफगानिस्तान र कीर्गिस्तान थिए ।

नेपाल र अफगानिस्तानबिचको खेल दशरथ रंगशालामै भएको थियो । उक्त खेल नेपालले ४-० ले सहजै जित्दा हरिले एक गोल गरे । जुन उनको राष्ट्रिय टिमको लागि १३औं तथा अन्तिम गोल बन्यो । त्यस खेलमा निराजन रायमाजीले दुई र दीपक लामाले एक गोल गरेका थिए ।

नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरु

हरि खड्का : १३ गोल

निराजन रायमाझी : १३ गोल

जुमानु राई : १० गोल

भरत खवास : १० गोल

गणेश थापा : ९ गोल

बसन्त थापा : ९ गोल

अनिल गुरुङ : ९ गोल

विमल घर्ती मगर : ८ गोल

तस्वीर : हरि खड्काको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment