Comments Add Comment

बार्सा र मेसीको चेस गेम, विजेता को होला ?

१४ भदौ, काठमाडौं । लिओनल मेसीले आफूले आइतबार पिसिआर टेष्ट नगर्ने भनेर बार्सिलोनालाई जानकारी गराए । मेसी आफैँ क्लब छाड्ने मनसायमा रहेकाले कोरोना परीक्षणसमेत नगराउने अवस्थामा पुगेका हुन् ।

गत मंगलबार क्लब छाड्ने मनसायसहित मेसीले क्लबलाई पत्र लेखेका थिए । उनको सम्झौता अझै एक वर्ष बाँकी रहेपनि उनी क्लब छाड्न स्वतन्त्र रहेको उनलाई लागेको थियो । यद्यपि बार्सिलोना समरमा मेसीलाई गुमाउन चाहँदैन ।

क्लबको भनाइ के छ भने यदि मेसीले क्लब छाड्ने हो भने यो जानकारी १० जुनअघि नै गराउनुपर्थ्यो। यसको अर्थ अब मेसी र क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ चेसको गेममा फसेका छन् । जसमा हरेक चालको महत्व छ र एक मात्र विजेता हुन सक्छ ।

यदि मेसी क्लबमा रहने हो भने बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् । मेसीले सोमबारदेखि सुरु हुने प्रि सिजनअघि पिसिआर टेष्ट नगर्ने भनेर जवाफ फर्काएका छन् । कप्तान मेसीले आफूलाई बार्सिलोना छाड्नुपर्ने अवस्थामा पुर्‍याएको अनुभव गरेका छन् ।

बार्तामेउले यसअघि जनवरीमा एर्नेस्टो भेलभर्डलाई बर्खास्त गर्दै किके सेटिएनलाई प्रशिक्षक बनाएका थिए । जुन राम्रो भएन । टिमको योजना खराब रह्यो र भविष्यको पनि अनिश्चित बन्यो ।

दुई महिनाअघि बार्तामेउ मेसी क्लबमै बस्नेमा पक्का थिए । ‘उनी आरामदायी छन् र उनले बार्सिलोनमामै सन्यास लिनेमा कुनै शंका छैन,’ बार्तामेउले भनेका थिए, ‘उनको सम्झौता नवीकरण गर्नु हाम्रो दायित्व हो ।’

त्यसयता क्लबको हकमा विभिन्न खराब निर्णयहरु भएका छन् । जसमध्ये पहिलो नयाँ प्रशिक्षक रोनाल्ड कोएमनले फरवार्ड लुइस सुआरेजलाई अर्को सिजनको लागि आफ्नो योजनामा नभएको भन्नु हो ।

यो चेस खेलमा के छ भने मेसीको पक्षमा एक कुरा छ, फ्यान । यस अवरोधमा कुनै अन्त्य छैन ।

बार्सिलोनामा मेसीको रिलिज क्लज ७ सय मिलियन युरो छ । कुनै क्लबले त्यो रकम तिरे मात्र बार्सिलोनालाई उनलाई छाड्न दिनेछ । तर मेसी भने क्लबमा काम गर्न अस्वीकार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment