News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले भारतलाई हराएपछि नेपाली यू–१९ टोली एसीसी यू–१९ एसिया कपको समूह चरणबाट एक खेल बाँकी छँदै बाहिरिएको छ।
- नेपालले पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा यूएईसँग हार बेहोरेको थियो, र अब पाकिस्तानसँग अन्तिम खेल खेल्न बाँकी छ।
- भारत र यूएईबीचको खेलपछि कम्तीमा एक टोलीले चार अंक पुर्याउने भएकाले नेपाल शीर्ष दुईमा पुग्न नसक्ने भएको हो।
२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो।
आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का भएको हो। पाकिस्तानले लगातार दुई खेल जित्दै चार अंक जोडेको छ। भारत र यूएईले समान दुई अंक बनाएका छन्।
नेपालले भने पहिलो खेलमा शुक्रबार भारतसँग र दोस्रो खेलमा आइतबार यूएईसँग हार बेहोरेको थियो। यसअघि पाकिस्तानले यूएईलाई पराजित गरेको थियो भने भारतले नेपाललाई हराएको थियो।
समूह चरणमा नेपालले अब पाकिस्तानसँग खेल्न बाँकी छ। त्यस्तै, भारत र यूएईबीच पनि खेल हुनेछ। अन्तिम खेल जिते पनि नेपालको अधिकतम दुई अंक मात्र हुनेछ।
भारत र यूएईबीचको खेलको नतिजा आएमा कम्तीमा एक टोलीले चार अंक पुर्याउने निश्चित भएकाले नेपाल शीर्ष दुईमा पुग्न सक्ने छैन।
भारत र यूएईबीचको खेल नतिजाविहीन भए पनि दुवै टोलीको तीन–तीन अंक हुनेछ। त्यसैले अन्तिम खेलअघि नै नेपालको प्रतियोगितामा यात्रा टुंगिएको हो।
प्रतिक्रिया 4