Comments Add Comment

‘मेडिकल सिटी’मा बिजोग : अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

१४ भदौ, चितवन । चितवनको भरतपुरले ‘मेडिकल सिटी’को उपनाम पाएको छ । तर त्यही भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्युवरण गर्नु परेको छ ।

५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई पछिल्लो समय जण्डिस पनि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी अस्पताल लगे । तर अवस्था जटिल रहेको भन्दै चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सुझाए ।

तर, भरतपुरका सुविधा सम्पन्न अस्पतालमा बेलैमा पुर्‍याए बिरामीलाई बचाउन सकिने परिवारको आशा त्यतिबेला टुट्यो, जतिबेला होमबहादुरलाई एम्बुलेन्समा राखेर ५ घण्टासम्म अस्पतालहरु चाहार्दा पनि उपचार पाएनन् ।

आफन्तले होमबहादुरलाई करिब रातको १२ बजे पूर्व-पश्चिम राजमार्गसँग नजिकै रहेको चितवन मेडिकल कलेजमा लगेका थिए । तर अस्पतालले आईसीयू भरिएको भन्दै अर्को अस्पताल लैजान सुझाएपछि एम्बुलेन्सबाट नझारी नारायणी सामुदायिक अस्पतालमा लगियो । उनी बेलाबखत उपचारका लागि यहाँ आउने गर्दथेँ । तर, उनलाई बोकेको एम्बुलेन्स अस्पताल पुग्दा अस्पतालको गेट बन्द थियो । चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा बसेकाले उपचार हुन नसक्ने भनेर उनलाई गेटबाहिरबाटै फकाईयो ।

एम्बुलेन्स, नजिकैको मनकामना अस्पताल पुग्यो । तर त्यहाँ पनि होमबहादुरको उपचार हुन सकेन । त्यसपछि उनीहरु पुरानो मेडिकल कलेज पुगे । पुरानो मेडिकल कलेजले पनि बिरामी हेर्न मानेन । कारण बतायो, ‘यहाँ आईसीयू र भेन्टिलेटर खाली छैन ।’ एकपछि अर्को अस्पतालले भर्ना लिन नमान्दा टेकप्रसाद र माया आत्तिसकेका थिए । कावासोतीबाट हिँडाउँदा होस्मा रहेका होमबहादुर अस्पतालको चक्कर काट्दाकाट्दै शिथिल भइसकेका थिए ।

त्यसैले उनीहरु फेरि चितवन मेडिकल कलेज पुगे, बिरामीलाई भर्न गर्न हारगुहार गरे । तर बिरामीलाई आईसीयूमा राख्नुपर्ने भएको तर आईसीयू बेड खाली नभएको भन्दै अन्यत्र लैजान भनियो । बरु भरतपुर अस्पताल लैजान सुझाएपछि उनीहरु कोभिड बिरामीको उपचारमा केन्द्रित भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुगे । तर त्यहाँ पनि उपचार हुन सकेन ।

‘रातभरी एम्बुलेन्समा राखेर अस्पताल चाहार्दा चाहार्दै ५ घण्टा वितिसकेको थियो, दाइ निकै सिकिस्त बनिसक्नुभएको थियो’ भाइ टेकप्रसादले भने ।

एकपछि अर्को अस्पतालले भर्ना लिन नमानेपछि होमबहादुरका आफन्तले प्रहरी-प्रशासन गुहारे । प्रहरीले ‘विरामीको उपचार गर्नुस्’ भनेपछि एक जना चिकित्सक आए । होमबहादुरलाई एम्बुलेन्सबाट झिकेर आकस्मिक कक्षमा करिब डेढ घण्टा राखेर उपचार गरे । तर बिरामीको अवस्था सुधार नभएपछि चिकित्कसले जतिसक्दो छिटो सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरे ।

उनीहरूले फेरि बिरामी लिएर तेस्रो पटक चितवन मेडिकल कलेज पुगे र आकस्मिक कक्ष अगाडि एम्बुलेन्स रोकेर हारगुहार गरे । अस्पतालका कर्मचारी आएर ज्वरो नाप्दा १०५ डिग्री आएको भनियो र बिरामी लैजान ल्याइएको स्ट्रेचर रित्तै भित्र फिर्ता लगे । अन्य एम्बुलेन्सहरु बिरामी लिएर आउन थालेको भन्दै होमबहादुर चढेको एम्बुलेन्सलाई हटाउन लगाए ।

त्यसपछि आफन्तको अस्पताल परिसरमै रुवावासी चल्यो । त्यसपछि बल्ल डाक्टर आएर बिरामीलाई भित्र लगे । केहीबेरमा भेन्टिलेटरको जोहो गरेर बिरामी राखियो । त्यसको केही समयमै होमबहादुरको मृत्यु भएको उनका ज्वाइ बुद्ध आलेले बताए । ‘पहिलोपटक ल्याउँदा नै भर्ना गरेर उपचार गरिदिएको भए उहाँ बाँच्नुहुन्थ्यो कि !’ उनले भने, ‘अस्पतालहरुको लपर्वाहीका कारण उहाँलाई गुमायौं ।’

यसबारे मृतकका आफन्तले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जानकारी गराएका छन् । भट्टराईले भने जिल्लामा उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अस्पतालहरुलाई स्पष्ट निर्देशन दिइएको बताए । ‘हामीले एउटा संयन्त्र नै बनाएका छौं, कसैले पनि उपचार नपाएर मर्नु हुँदैन हाम्रो स्पष्ट निर्देशन छ’ प्रजिअ भट्टराईले भने ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले भने बिरामीलाई भेन्टिलेटरमा राखेर बचाउने प्रयास गरेपनि नसकिएको बताए । ‘हामीले उहाँलाई बचाउनका लागि अन्तिमसम्म प्रयास गरेको हो, दीर्घरोगी र निकै जटिल अवस्थामा पुगेकाले बचाउन सकिएन’ उनले भने, ‘हामी जिम्मेवारीबाट पन्छिएका छैनौं ।’ यद्यपि एउटा अस्पतालले रिफर गर्दा अर्कोसँग समन्वय नभएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment