+
+
Shares

नियमित फ्लाइट सीमित गर्दा भाडादर चार्टर्डको भन्दा महँगो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २१:४५

१४ भदौ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार सरकारलाई दुई पन्ना लामो पत्र पठाएर भनेको छ, ‘नियमित फ्लाइटलाई प्रतिस्पर्धी नबनाए यात्रु -‘घर फर्किने नेपालीहरुले मँहगो मूल्यमा यात्रा गर्नुपर्ने अवस्था आउँदैछ ।’

पत्रमा नियमित उडानका लागि मलेसियाबाट एकतर्फी उडानको भाडा ८७ हजार (२९ सय रिंगेट)भन्दा बढीसम्म उठाउन सुरु भएको जानकारी पनि दिइएको थियो । स्रोतका अनुसार दूताबासको पत्रमा नियमित उडानमा मलेसियाबाट यात्रु लैजान कुन एयरलाइन्सले कति भाडा उठाउँदैछन् भन्ने विस्तृत विवरण पनि थियो । कसैले २२ सय रिंगेट, कसैले २५ सय रिंगेट त कसैले २९ सय रिंगेटसम्म भाडा असुल्न लागेको जानकारीसहित परराष्ट्र मन्त्रालयमा पठाएको पत्रको बोधार्थ पर्यटन र श्रम मन्त्रालयका साथै  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), नेपाल एयरलाइन्सलाई पनि छ ।

जब कि मलेसियाबाट सरकारले चार्टर्ड उडानमा यात्रुलाई (४७ हजार) १५९० रिंगेटमा नेपाल ल्याइरहेको थियो । महामारी अघि यस्तो भाडादर ३० हजारसम्म थियो ।

मलेसिया मात्रै होइन, नियमित उडान खोल्ने भनिएका देशबाट उडान अनुमति लिएका अधिकांश एयरलाइन्सले यसैगरी चार्टर्ड भन्दा चर्को भाडा तय गरेका छन् ।

सरकारले १६ भदौबाट नियमित उडानको मिति तोकेको छ । यसअनुसार नियमिततर्फ दैनिक २ उडान मात्र हुनेछन् । सोहीअनुसार टिकट बुक गर्न खोज्दा यात्रुले कतै सीट नै उपलब्ध नभएको र कतै चार्टर्डभन्दा पनि महंगो परेको गुनासो गरेका छन् ।

एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काका अनुसार नेपाल आउन अनुमति पाएका विदेशी र स्वदेशी एयरलाइन्ससँग यसअघि टिकट काटेका धेरै यात्रु ‘क्यू -लाइनमा छन् । र, काठमाडौं आउन उनीहरुलाई प्राथमिकतामा राखेकाले कतिपय एयरलाइन्सले थप टिकट बिक्री सिस्टममा नराखेको उनले बताए ।

नेपाल फर्किन चाहेनहरुको संख्या धेरै भएपछि एयरलाइन्सले फेयर शुल्क पनि बढाउने गरेको छ ।

अन्तर्राष्ट्रिय उडानको टिकट मूल्य तोक्ने प्रचलन छैन, बजारको प्रतिस्पर्धाले नै तय हुने गरेको छ । जति धेरै वायुसेवाले चाप अनुसार उडान गर्ने अनुमति पाउँछन्, यात्रु धेरैतिर बाँडिन्छन् । र, आफूतिर तान्न टिकटको मूल्य प्रतिस्पर्धी हुन्छ ।

काठमाडौंमा सामान्य अवस्थामा दैनिक ६०/६२ वटासम्म अन्तराष्ट्रिय उडान अवतरण हुने थियो । त्यसमाथि चैतपछि पहिलो पटक नियमित फ्लाइट हुन लागेकाले यात्रुको चाप अझ धेरै छ । तर सरकारले दैनिक दुई वटा मात्र फ्लाइट गर्ने गरेर एयसलाइन्सहरु तोकेपछि उनीहरुको मनोमानी सुरु भएको छ ।

पहिले खाडीका ६ देश र मलेसियाका नेपाली राजदूतावासहरुले नियमित उडान सस्तो हुने भन्दै चार्टर्ड नगर्न सरकारलाई पटक-पटक पटक सुझाव दिएका थिए । त्यसरी सुझाव दिनेमध्ये मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्ड पनि थिए ।

उनका अनुसार मलेसियाबाट ९ हजार व्यक्ति नेपाल फर्किन दूतावासमा नाम दर्ता गरेर पालो कुरिरहेका छन् । तर नियमित उडान खुलेपछि अलपत्र पर्नेहरु चार्टडभन्दा महँगो भाडा तिरेर फर्किन सक्ने अवस्था न्युन बनेको छ ।

‘हामीले नियमित उडान यसरी खोलौं भनेको होइन,’ राजदूत पाण्डेले अनलाइनखबरसँग भने, ‘सरकारले महिनामा मलेसियाबाट १३ वटा उडान गर्ने गरी नियमित उडान खोलेको छ, तर यसले प्रतिस्पर्धा संकुचित भएको छ, जान चाहने मान्छे धेरै भएकाले एयरलाइन्सहरुले भाडा महँगो राखेका हुन् ।’

उनकाअनुसार दूतावासले सरकारलाई महिनामा ६५ वटासम्म फ्लाइट गरेमा मात्रै भाडा सस्तो हुने र त्यसको लाभ पाउने अवस्था छ ।  अहिलेकै मोडालिटीमा नियमित उडान खोलेमा जान चाहनेहरुको ठूलो संख्यामा लाभ एयरलाइन्सहरुले उठाएर मनोमानी बढी शुल्क तय हुने उनको भनाइ छ ।

‘मलेसियाबाट मालिन्दो, मलेसियन, हिमालय र नेपाल एयरलाइन्सले नियमित उडान भर्छन्, यी कम्पनीलाई हप्तामा कम्तिमा ४-४ वटा फ्लाइट दिनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा मात्रै एयरलाइन्सबीच प्रतिस्पर्धा बढ्छ । जता सस्तो हुन्छ, यात्रुले त्यतै जान्छन्, चार्टर्डभन्दा सस्तो पनि उडान हुन्छ ।’

त्यसो गर्न नसकिने भए नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्डभन्दा भाडा सस्तो गर्न लगाउनुपर्ने उनको भनाइ छ । नियमित उडानमा एयरपोर्टमा तिर्ने शुल्क सस्तो पर्ने भएकाले १५ सय रिंगेटभन्दा कममा उडान गर्न सकिने उनको तर्क छ । उनले भने, ‘नियमित फ्लाइट खुलेपछि चार्टडभन्दा सस्तो पर्ने गरी भाडा तय गर्न प्रतिस्पर्धाको वातावरण सरकारले बनाउनुपर्छ ।’

यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास कमिटीले पनि आइतबार नै परराष्ट्र, पर्यटन र श्रममन्त्रीलाई भेटेर नियमित उडानको टिकट शुल्क चार्टर्डभन्दा महँगो भएकोमा ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?