Comments Add Comment

सीपीएल : पुरनको शतकमा गायाना विजयी, जुक्सको रोमाञ्चक जित

१५ भदौ, काठमाडौं । निकोलस पुरनले यस सिजनको पहिलो शतक प्रहार गर्दा गायना अमेजन वारियर्सले क्यारेबियन प्रिमियर लिग सीपीएलमा तेस्रो जित हात पारेको छ ।

पुरनले अविजित १०० रन बनाएपछि गायानाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ७ विकेटले पराजित गरेको हो । पुरनको करियरको यो पहिलो टी-२० शतक समेत हो ।

क्वीन्स पार्क ओभलमा भएको खेलमा प्याट्रिओट्सले दिएको १५१ रनको लक्ष्य गायानाले पुरनको शतकको मद्दतमा १७.३ ओभर खेल्दै ३ विकेट गुमाएर सहजरुपमा पूरा गरेको हो । पुरनले ४५ बल खेल्दै ४ चौका र १० छक्का प्रहार गरे ।

यस्तै रोस टेलरले २५ अविजित २५ रन जोडे । २५ रन हुँदा ३ विकेट गुमाए पनि पुरन र टेलरले चौथो विकेटका लागि अविजित १२८ रनको साझेदारी गरे ।  प्याट्रिओट्सका जन रस जागेशरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रिओट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो ।

प्याट्रिओट्सका जोसुअ डा शिल्भाले सर्वाधिक ५९ र दिनेश रामदिनले ३७ रन बनाए । गायनाका कप्तान क्रिस ग्रीनले २ विकेट लिए ।

तेस्रो जितपछि ७ खेलबाट ६ अंक जोडेको गायाना तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २ अंक मात्र रहेको प्याट्रिओट्स अन्तिम स्थानमा छ ।

जुक्सको रोमाञ्चक जित

लो स्कोरिङ खेलमा सेन्ट लुसिया जुक्सले बार्डोस ट्राइडेन्ट्समाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । जुक्सले दिएको ९३ रनको लक्ष्य पछ्याएको बार्बेडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । बार्बेडोसका लागि ओपनर जोन्सन चार्ल्सले ३९ रन बनाए पनि जितसम्म पुग्न पर्याप्त भएन । जुक्सका लागि जाभेल ग्लेन र केसरिक विलियम्सले २-२ विकेट लिए ।

त्यसअघि क्वीन्स पार्क ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्स १८ ओभरभित्रै ९२ रनमा अलआउट भएको थियो । जुक्सका लागि नजिबुल्ला जद्रानले सर्वाधिक २२ रन बनाउँदा लेनिको बाउचरले १८ र रोस्टन चेजले १४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बार्बेडोसका हेएडन वाल्सले ३ र रेएमन रेइफरले २ विकेट लिए ।

जितपछि ७ खेलबाट १० अंकसहित जुक्स दोस्रो स्थानमा छ । समान खेलबाट ४ अंक मात्र रहेको बार्बेडोस पाँचौ स्थानमा छ ।

ट्रिनबागो ३ खेल अगावै सेमिफाइनलमा

बार्बेडोस र प्याट्रिओट्सको हारपछि शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्सको सेमिफाइनलमा स्थान पक्का भएको छ ।

यस सिजनको एक्लो अपराजित टिम ट्रिनबागो ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ ।

बार्बेडोस र प्याट्रिओट्सले बाँकी खेल जितपनि ट्रिनबाऊलाई भेट्न सक्ने छैन जसले गर्दा शीर्ष चारमा उसको स्थान पक्का हुनेछ ।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टिमहरु सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment