Comments Add Comment

राम्रा गीत विस्तारै चल्छन्, तर चल्छन्…

अहिले एउटा गीत निकै चर्चामा छ । ‘तिनपाते…देखेर तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको ३ साता भयो । गीतको भिडियोमा करिब ३८ लाख भ्यूज छ । तर, यो गीतको भिडियोमा लाइक गर्नेको संख्या १ लाख २० हजारको हारहारीमा छ ।

यो गीतमा चलेका मोडल छैनन् । न यो गीतको भिडियोको मेकिङ रंगिन पाराले गरिएको छ । गीतमा सुजन चापागाँई र विद्या तिवारीको स्वर छ । यो गीत सार्वजनिक भएको सुरुवाती दिनमा दर्शकको आँखा यसमा परेको थिएन । तर, अहिले भने यो गीतले गती लिइरहेको छ ।

भिडियोको मेकिङमा गाउँले परिवेश, बाल्यकादेखि यूवा अवस्थाका साथीहरुको कथा बुनिएको छ । निकै साधारण शैलीमा तयार पारिएको भिडियो आकर्षक छ । तर, एकपटक सुनेर मात्र यो गीतको धित मर्दैन । बारम्बार सुन्न मन लाग्छ । सामाजिक संजालमा गीतले मोहनी लगाएका स्टाटस प्रशस्त भेटिन्छन् । यो गीत ढिलो चल्यो तर गज्जबले चलिरहेको छ ।

हुनत, अहिलेको जमाना भाइरलको हो भनिन्छ । उट्पट्याङ शब्द, टिकटकमा १५ सेकेन्डको अंश चलेपछि मेरो गीत चल्यो भनेर हल्ला फिजाउनेहरुको त कुनै कमी सांगीतिक दुनियाँमा छैन । तर, धेरै गीत आएका छन्, २ दिन चलेका छन् र गायब भएका छन् । गीत बनाउनेहरु युटुबको ट्रेन्डिङ र टिकटकमा १५ सेकेन्डको अंश चलेको भरमै गीत चलेको भ्रममा बाँचिरहेका छन् ।

तर, यो भ्रमबाट बाहिरिएर केही गीतहरु बन्छन् जुन विस्तारै चल्छन् तर चल्छन् । यस्तै, उदाहरणका पर्छ अर्को गीत ‘के माया लाग्छ र’ । निशान भट्टराइ र एलिना चौहानको आवाजमा समावेश यो गीतले सार्वजनिक भएको केही दिन गती नै लिएन । भाइरल गीतहरुको बजारमा यो गीत ओझेल परेको थियो । तर, जब विस्तारै यो गीतलाई सुन्ने दर्शकको संख्या बढ्न थाल्यो गीतको चर्चा पनि ब्यापक बन्दै गयो ।

यो गीतलाई अहिले युटुबमा १ करोड ३६ लाख भन्दा बढीले हेरिसकेका छन् । २ महिना अगाडि सार्वजनिक भएको यो गीतले जब गती समात्यो, यसपछि रोकिएन । गीत युटुबको ट्रेन्डिङको पहिलो स्थानमा पनि आयो । टिकटकमा यसका टुक्राहरुमा थुप्रैले अभिनय गरे । तर, मुख्यकुरा यो गीतको मिठासले सबैलाई मोहनी लगायो । सायद, यो गीत लामो समयसम्म बाँच्छ र दर्शकको मनमा बस्छ । गीतमा सुरविना कार्की र मुकुन भुषालको अभिनय छ ।

एक महिना अगाडि एउटा गीत सार्वजनिक भयो, ‘म हाँसे हाँस्छौं र’ । देवेन्द्र बब्लु र मेलिना राइको आवाजमा समावेश यो गीत विस्तारै लोकप्रिय बन्दैछ । यो गीतलाई १ महिनामा २३ लाख भन्दा बढी दर्शकले हेरेका छन् । गीतको भिडियोमा रोशनी कार्की र देवेन्द्र बब्लुको अभिनय हेर्न सकिन्छ । यो गीतले पनि अब लोकप्रियताको दौड समातिसकेको छ । दर्शकले यो गीतलाई रुचाएका छन् । गीतका शब्द, स्वर र संगीत कर्णप्रिय छन् । यो गीत पनि लामो समयसम्म सांगीतिक क्षेत्रमा चम्किनेमा दुइमत छैन ।

गायक प्रकाश सपुतले देवी घर्तीको आवाजमा ‘बदला बरिलै’ बोलको गीत सार्वजनिक गरे । यो गीत सार्वजनिक भएको केही दिन यसको स्पिड कम थियो । प्रकाश आफैले पनि अपेक्षा गरे अनुसार युटुबमा यसको भ्यूज देखिएको थिएन । तर, सार्वजनिक भएको १ महिनामा गीतलाई ५६ लाख भन्दा बढीले हेरिसकेका छन् ।

यो गीतको बिषयमा विभिन्न खालका तर्क र बहस पनि भैरहेका छन् । तर, गीतले जुन मर्म बोकेको छ, यसले गीतकार सपुतलाई नेपाली सांगीतिक दुनियाँमा अर्कै उचाई दिएको छ । गीतको सफलताको मापन भ्यूज, ट्रेन्डिङ र टिकटकमा मात्र सिमित हुनु हुँदैन । यसले सर्जकको श्रृजनालाई न्याय गर्दैन ।

गायक चक्र बमको आवाजमा समावेश ‘ओई काजल’ गीत सार्वजनिक भएको १ महिना भयो । १ महिनामा यो गीतलाई १ करोड पटक हेरिएको छ । सुरुवाती दिनमा दर्शकको नजरमा नपरेको यो गीतले जब भ्यूजको दौड समात्यो, रोकिएन । गीतलाई दर्शकले अत्याधिक रुचाए । न चलेका महंगा मोडल, न फिल्मका कलाकार । तैपनि गीत उत्कृष्ट हुँदा दर्शकले यसलाई रुचाए । यो गीत पनि विस्तारै चल्यो तर गज्जबले चलिरहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा  केही यस्ता सिमित गीतहरु बनेका छन्, जुन गीत विस्तारै चलेका छन् तर चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment