+
+
Shares

बुटवलमा स्वास्थ्य सामग्रीमा कालोबजारी

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १५ गते १०:१५

१५ भदौ, बुटवल । कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै बुटवलका केही व्यवसायीले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएको छ ।

कोरोना महामारी फैलिएसँगै बढी माग भएका मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु व्यवसायीले चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।

बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गर्दा तीन सय रुपैयाँमा पाइने एक प्याकेट सर्जिकल मास्कलाई ६ सय रुपैयाँमा र ब्लिचिङ पाउडर तथा सेनिटाइजर पनि दोब्बर मूल्यमा बिक्री गरेर कालोबजारी गरेको पाइएको हो ।

व्यवसायीहरुले स्वास्थ्य सामग्रीको कृत्रिम अभाव श्रृजना गरेर खरिद मूल्यभन्दा दोब्बरदेखि चार–पाँच गुणा बढी मूल्यमा बिक्री गरेको पाइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

‘खरिद बिल र बिक्री बिल मागेर अनुगमन गर्दा व्यवसायीले खरिद मूल्यभन्दा दोब्बरदेखि चार–पाँच गुणा बढी मूल्यमा सामान बेचेर कालोबजारी गरेको पायौं,’ उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक आचार्यले भनिन्, ‘पहिलोपटकलाई सचेत बनाएर छोडिएको छ, अर्कोपटक पनि कालोबजारी गरेको भेटिए कानुअनुसार हदैसम्म कारबाही गर्छौं ।’

अनुगमन समिति आएको थाहा पाएपछि केही व्यवसायीले पसल बन्द गरेर हिँडेका वाणिज्य कार्यालयका प्रमुख हरि शर्माले बताए ।  कालोबजारी हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने र कारबाही प्रभावकारी बनाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठक बताउँछन् । बजार अनुगमन मौसमी र देखाउनका लागि मात्रै गरिँदा उपभोक्ताहरु सधैं ठगिनुपरेको पाठकको गुनासो छ ।

विषम परिस्थिति र संकटका बेला कालोबजारी झनै मौलाउने हुँदा सरकारको पर्याप्त ध्यान जानुपर्ने उनले सुझाए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?