Comments Add Comment

मकवानपुरमा निषेधाज्ञा हट्यो, विहान १० बजेसम्म बजार खुल्ने

१५, भदौ, हेटौंडा । साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । निषेधाज्ञा हटाए पनि सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि खुला हुनेछ ।

शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द गरिएको छ । यीबाहेक अन्य व्यवसाय विहान ५ देखि १० बजेसम्म खुला हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

‘संक्रमणको जोखिम उस्तै छ तैपनि सबैको धारणा सहज बनाऔं भन्ने आयो त्यसैले बिहान १० बजेसम्म सबै व्यवसाय खोल्ने र दिनभर बन्द गर्ने तयारी गरेका छौं’ उनले भने ।

अब मकवानपुरमा उद्योगहरु पनि सञ्चालन गर्न पाइनेछ । उद्योग सञ्चालन गर्दा सम्भव भएसम्म उद्योग परिसरभित्रै कर्मचारी तथा श्रमिक राख्ने व्यवस्था मिलाउने र उद्योग परिसरभित्र राख्न सम्भव नभए विहान ६ बजेभित्र उद्योग परिसर प्रवेश गर्नुपर्ने र साँझ ६ बजेपछि बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ ।

उद्योगका कामदार र कर्मचारी घर फर्केपछि समुदायमा घुलमिल नहुने र बाहिरी जिल्लाबाट कामदार ल्याउन नपाइने निर्णय पनि बैठकले गरेको छ ।

हेटौंडा बजार क्षेत्रभित्र हुने लोड अनलोडको काम साँझ ७ देखि विहान ५ बजेसम्म गर्ने, कृषि र पशुपन्छी व्यवसायको उत्पादनदेखि बिक्री वितरणसम्मका सबै श्रृङ्खला खुला गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोरोना संक्रमण फैलिएपछि हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्र, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा हटाए पनि अत्यावश्यकबाहेकका यातायात बन्द हुनेछन् ।

निषेधाज्ञा हटेसंगै हेटौंडा बजार क्षेत्रमा परिचालन गरिएको नेपाली सेना व्यारेकमा फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment