Comments Add Comment

‘मेडिकल सिटी’मा कोरोनाको बढ्दो संक्रमण

चितवनमा क्रिटिकल केयरमा क्षमता कति ?

१५ भदौ, चितवन । साउन २४ गतेसम्म चितवनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ जना थियो ।

तर भदौ १५ मा आइपुग्दा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ, संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । संक्रमण समुदायमा पुगेको संकेतका रुपमा गम्भीर प्रकृतिका बिरामी अस्पताल आउन थालेका छन् र ६ जनाको मृत्यु भइसकेको छ ।

संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले ३२ साउनको मध्यरातदेखि जारी गरेको निषेधाज्ञा १९ भदौसम्म लम्ब्याइएको छ तर दैनिक भेटिने संक्रमितको संख्या बढ्दो छ । अहिले देखिएको संक्रमण साउन ६ गतेबाट लकडाउन खुल्दाको परिणाम भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् ।

बढी संक्रमित भरतपुरमा

चितवनमा हालसम्म ७०३ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार भदौ १३ गते सबैभन्दा बढी १०२ जनामा संक्रमण पुष्टि भएको थियो । कुल संक्रमितमध्ये १६० जना कोरोनामुक्त भइसकेका छन् ।

सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा छन् । यहाँ अहिलेसम्म ४२० जना संक्रमित भएका छन् । ठूलो क्षेत्र, अस्पताल, उद्योग तथा व्यवसाय बढी भएकोले महानगरपालिका कोरोना संक्रमणको केन्द्र बनेको छ ।

रत्ननगर नगरपालिका ९६ जना, राप्ती नगरपालिकाका ८२, खैरहनीमा ४३, कालिका नगरपालिका ९ र इच्छाकामना गाउँपालिकामा तीन जना संक्रमित भएका छन् । राप्तीमा संक्रमितमध्ये अधिकांश सशस्त्र प्रहरी छन् भने जिल्लाभरीमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।

४० बिरामी आईसीयूमा, भेन्टिलेरमा १० जना

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।

चितवन मेडिकल कलेजले कोरोनाका सम्भावित संक्रमित राख्न २९, संक्रमण पुष्टि भइसकेकाहरुलाई राख्न ६२ आइसोलेसन बेड र ५९ आईसीयू बेड छुट्याएको छ । हाल ९१ जना कोरोना संक्रमित अस्पतालमा छन्, जसमध्ये ३० जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा छन् । दुई जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

भरतपुर अस्पतालमा ७६ जना कोरोना संक्रमित छन् । उनीहरुमध्ये १० जना आईसीयूमा छन् । दुई जना भेन्टिलेटरमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि क्यान्सर अस्पतालले तीन थान भेन्टिलेटर भरतपुर अस्पताललाई सहयोग गरेको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा २८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जनसम्पर्क प्रमुख दुर्गा न्यौपानेका अनुसार कसैलाई पनि आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको छैन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना संक्रमित छन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार कुल संक्रमित २६ मध्ये ४ जना निको भएका छन् । १४ जना होम आइसोलेसनमा छन् । भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा ५ जना संक्रमितले उपचार भइरहेको छ भने सेन्ट्रलमा ५ जना, मौलाकालिका अस्पतालमा ३ जना र पुष्पाञ्जलीमा एक जना संक्रमित उपचाररत छन् ।

उनीहरु सबै चितवनका भने होइनन् । आसपासका जिल्लाबाट समेत उपचारका लागि अस्पताल आउँदा संक्रमण पुष्टि भएकाहरु चितवनमा नै उपचाररत छन् । यसरी उपचारका लागि आएकामध्ये ७ जनाको मृत्यु भएको छ । मकवानपुरका तीन जना तथा नवलपरासी, बारा, कैलाली र गोरखाका एकएक जना संक्रमितको चितवनका अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ ।

संक्रमितको मृत्यु विवरण

क्र.स.

 

मृत्यु

 

ठेगाना

 

उमेर लिङ्ग मृत्यु भएको अस्पताल
२७ जेठ भरतपुर-११, चितवन ६८ बर्ष पुरूष भरतपुर अस्पताल
१३ असार गोदावरी-७, कैलाली ५० बर्ष पुरूष भरतपुर अस्पताल
२ भदौ खैरहनी-३, चितवन १०९ बर्ष महिला घरमा मृत्युपछि कोरोना पुष्टि
४ भदौ रत्ननगर-१३, चितवन  ६५ महिला भरतपुर अस्पताल
४ भदौ हेटौडा-४, मकवानपुर ५६ बर्ष पुरूष पुरानो मेडिकल कलेजमा   (मृत्युपछि कोरोना पुष्टि)
६ भदौ हेटौडा-३, मकवानपुर ६५ बर्ष महिला पुरानो मेडिकल कलेज
१२ भदौ हेटौडा-१९, मकवानपुर ७१ बर्ष महिला चितवन मेडिकल कलेज
१२ भदौ भरतपुर-२, चितवन ५१ बर्ष पुरूष पुष्पाञ्जली अस्पताल
१२, भदौ गोरखा-१३, गोरखा ३८ बर्ष पुरूष भरतपुर अस्पताल
१० १३, भदौ निजगढ-७, बारा ४७ बर्ष महिला चितवन मेडिकल कलेज
११ १३ भदौ विनयत्रिवेणी-६, नवलपरासी ६२ बर्ष पुरूष चितवन मेडिकल कलेज
१२ १४ भदौ भरतपुर-११, चितवन ५२ बर्ष पुरूष चितवन मेडिकल कलेज
१३ १५ भदौ भरतपुर-६, चितवन ७८ बर्ष पुरूष भरतपुर अस्पताल

चितवनमा क्रिटिकल केयरमा क्षमता कति ?

मेडिकल सिटी भनेर चिनिने भरतपुरका अस्पतालहरुमा गम्भीर प्रकृतिका बिरामीहरु बढ्न थालेका छन् । तर बिरामीको चाप बढी व्यवस्थापन गर्न गाह्रो हुने देखिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार ५० बेडमाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १७६ वटा आईसीयू र ५० भेन्टिलेटर बेड छन् । आइसोलेसन बेड संख्या झण्डै ३०० छ । केही एनआईसीयू र पीआईसीयू छन् ।
समग्र जिल्लामा ५०० चिकित्सक, १५०० नर्स, करीव ४०० पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३५० हाराहारीमा छ । तर क्रिटिकल केयरका लागि अहिले भएको ‘ब्याकअप’ कम भएको स्वास्थ्य कार्यालय प्रमुख तिवारी
बताउँछन् ।
‘हामी आइसोलेसन बेडलाई त बढाउन सकौंला, तर आईसीयू र भेन्टिलेटर तत्कालै बढाउन सक्ने अवस्थामा छैनौं’ तिवारीले भनेका छन् । उनका अनुसार करिव २०० आईसीयू र ८० भेन्टिलेटर यहाँको न्यूनत्तम आवश्यकता हो ।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जिल्लामा तीन हजार मानिसमा संक्रमण देखिएमा अस्पतालहरुले नधान्ने बताउँछन् । कोरोना संक्रमण भएका बिरामीहरूको करीव ५ प्रतिशतलाई क्रिटिकल केयर चाहिनसक्छ । तर अहिले जिल्लामा भएको सबै आईसीयू र भेन्टिलेटरलाई कोरोनाका बिरामीका लागि मात्रै उपचार गराउन नसकिने लम्साल बताउँछन् । मुटु, बेन स्ट्रोक, आकस्मिक अप्रेशन गरिएका बिरामीलाई तत्काल आईसीयू र भेन्टिलेटर चाहिने भन्दै उनले भने, अस्पतालहरुले कोरोना संक्रमितभन्दा त्यस्ता बिरामीलाई बढी प्राथमिकता दिनुपर्छ ।’

स्वास्थ्य कार्यालय, चितवनका प्रमुख तिवारीले कोरोना संक्रमण समुदाय स्तरुमा पुगेपछि संक्रमितहरुको पहिचान गरेर उपचार गराउन कठिन हुने बताउँछन् । त्योे अवस्था आउनुअघि नै अस्पतालमा आधारित तयारीसँगसँगै आम नागरिक स्तरमा सचेतना फैलाएर संक्रमण नै नहुनेतर्फ जोड दिनुपर्ने बताउँछन् ।

७ स्थानीय तहका तीन आइसोलेसन सेन्टर

संक्रमितको संख्या बढेपछि सात स्थानीय तहले तीनबाट आइसोलेसन केन्द्र तयार गरेका छन् । लक्षण नभएका संक्रमितहरुलाई राख्न आइसोलेसन केन्द्र तयार गरिएको हो ।

क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा माडी नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । नगरपालिकाले वडा नम्बर ५ को छरछरेमा आइसोलेसन केन्द्र बनाएर तीन जना संक्रमित राखेको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीका अनुसार यो केन्द्रमा २० जनासम्म संक्रमित राख्न सकिन्छ ।

पूर्वी चितवनका चार वटा नगरपालिकाले मिलेर संयुक्त रुपमा आइसोलेसन केन्द्र तयार गरेका छन् । आर्थिक लगायतका व्यवस्थापन संयुक्त रुपमा गर्ने गरी रत्ननगर नगरपालिका–५ को टरौलीस्थित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रको भवनमा ६२ वेठको आइसोलेसन बनेको छ ।

यहाँ रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका लक्षण नभएका संक्रमितहरुलाई राखिने रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । अहिले २३ जना संक्रमित छन् । दुई स्वास्थ्यकर्मी, केही प्रहरी र जनप्रतिनिधिले आइसोलेसन केन्द्रको रेखदेख गरिरहेको नगर प्रमुख बनले बताए ।

सबैभन्दा बढी संक्रमित भएका भरतपुर महानगरमा आइतबार मात्र आइसोलेसन सेन्टर तयार गरेको छ ।

भरतपुरमा महानगरका कोरोना संक्रमित राख्न भरतपुर–१ योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ वेडको आइसोलेसन सेन्टर बनाइएको हो । अहिले ७ जना संक्रमित छन् । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

आइसोलेसन सेन्टर व्यवस्थापनका लागि महानगरले प्रदेश सरकारसँग एक करोड रुपैयाँ माग गरेको छ । बागमती प्रदेश सरकारले कोरोना अस्पताल चलाउन एक करोडसहयोग गरेको थियो । यो अस्पताल गएको असार २ गतेबाट बन्द छ ।

चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाले अहिलेसम्म आइसोलेन केन्द्र बनाएको छैन । ‘हामीले सोच त बनाएका छौं, तयार गर्न सकेका छैनौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले भने, ‘अब चाँडै नै तयार गछौं ।’ वडा नं. ४ कुरिनटार नजिक रहेको ट्रमा सेन्टरमा आइसोलेसन केन्द्र बनाउन खोजेको तर सहमति भइनसकेको उनले बताए ।

गाउँपालिकामा तीन जना संक्रमित भरतपुरमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment