Comments Add Comment

बच्चालाई आफूले चाहेजस्तो बनाउन खोज्दा

एउटा भनाई छ, ‘हरेक बच्चा आफैमा विशेष हुन्छन् ।’ उनीहरुको आप्mनै खुबी, क्षमता, रुची हुन्छ । उनीहरुसँग केही आफ्नै जन्मजात गुण हुन्छन् । पारिवारिक वातावरणले पनि उनीहरुमा केही प्रभाव पारेको हुन्छ । त्यही अनुसार बच्चाको गुण, क्षमता, स्वभाव, प्रवृत्ति आदि विकास हुन्छ । जति–जति हुर्कदै जान्छ, उनीहरुको स्वभाव, गुण र क्षमता पनि प्रकट हुँदै जान्छ । एउटा विन्दुमा पुगेपछि उनीहरुले आफ्नो लक्ष्य निर्धारण गर्छन् ।

जबकी अभिभावकहरुको अपेक्षा भने फरक पनि हुनसक्छ । हरेक बच्चा जन्मनुअघि वा गर्भमा छँदा नै धेरै आमाबुवाले टुंगो गर्छन् कि, आफ्नो बच्चालाई के बनाउने ? कस्तो बनाउने ?

गर्भमा हुर्कदै गरेको बच्चा करियर योजना आमाबुवाले नै तय गरिदिन्छन् । जब बच्चा जन्मन्छन्, आमाबुवाले आफ्नो अपेक्षाको भारी बोकाइदिन्छन् । जस्तो कि, आमाबुवाले जे चाहेको हो त्यही अनुसार बच्चालाई हिँडाउने यत्न गर्छन् । यस्तो अवस्थामा धेरै अभिभावकले आफ्ना रहर एवं सौख बच्चामाथि लाद्ने गर्छन् । बच्चा जस्तो छ, त्यही अनुसार हुर्कन दिइदैन । बरु बुवाआमाको इच्छा अनुरुप उनले आफुलाई बदल्नुपर्ने हुन्छ ।

कतिपय आमाबुवाले आफुले पुरा गर्न नपाएका वा अधुरो रहेको इच्छा बच्चामाथि लाद्ने गर्छन् । जस्तो कोही डाक्टर बन्न चाहेका हुन्छन् तर विभिन्न कारणले उनले आफ्नो लक्ष्यमा पुग्न सकिरहेका हुँदैनन् । आफु डाक्टर बन्न नपाएको अधुरो रहर उनले आफ्नो बच्चामाथि लाद्ने गर्छन् । कोही कलाकार बन्न चाहेका हुन्छन् । तर, त्यसमा उनले सफलता पाएका हुँदैनन् । सफल कलाकार बन्ने त्यो रहर उनले आफ्नो बच्चमाथि लाद्ने गर्छन् ।

बच्चा गर्भमा छँदा नै बुवाआमाले उनीमाथि आपेक्षाको बोझ भिराइदिन्छन् । कतिसम्मभने आफन्त, छिमेकीसँगको देखासेखीमा समेत कतिपयले आफ्ना छोराछोरीको लक्ष्य निर्धारण गरिदिन्छन् । अरुकै देखासेखीमा आफ्नो बालबच्चालाई कस्तो बनाउने, के बनाउने भन्ने निर्णय गर्छन् ।

यसबीचमा बच्चालाई सोधिदैन, ‘तिमी के बन्छौं ?’

बच्चाहरु के बन्न चाहन्छन् त्यो टाढाको कुरा हो । खासमा बच्चाको रुची, इच्छा के छ ? उनीहरुको खुबी के हो ? क्षमता के हो ? बुवाआमाले पहिचान गर्न सक्नुपर्छ । बच्चाको रुची र खुबी अनुसार नै बुवाआमाले सही मार्गदर्शन दिलाउने हो ।

सुरुमा त उनीहरुलाई आफ्नैपनमा रमाउन र हुर्कन दिनुपर्छ । उनीहरु जस्तो छन्, त्यस्तै हुन दिनुपर्छ । उनीहरुमाथि निगरानी र हस्तक्षेप उचित हुँदैन । तर, आमाबुवाले बच्चालाई बच्चा जस्तै बन्न दिदैनन् । उनीहरुले बच्चलाई आफुजस्तै बनाउने प्रयास गर्छन् ।

गर्भ रहेदेखि नै हरेक दम्पतीले आफ्ना बच्चाका बारेमा अनेक कल्पना गर्न थाल्छन् । अनेक धारणा बनाउन थाल्छन् । तर, बच्चा जन्मिएपछि र हुर्कने क्रममा उनीहरुले सोचेजस्तै सबैकुरा नमिल्न सक्छ । बच्चाको रुपरंगदेखि रुची, स्वभाव पनि फरक हुनसक्छ । यस्तो अवस्थामा आमाबुवाले बच्चालाई आफुले सोचेजस्तो बनाउने भन्दा पनि बच्चा जस्तो छन् त्यही रुपमा स्विकार्नु उचित हुन्छ ।

आमाबुवाले आफ्नो धारणा वा आफुलाई लागेको कुरा अनुसार बच्चालाई डोहो¥याउन खोज्छन् । जबकी बच्चाको भावना बुझ्ने प्रयास गर्दैनन् । उनीहरुको भावनालाई सम्मान गर्दैनन् । बाबुआमाको अपेक्षाको बोझ बोक्नुपर्ने भएकाले नै कतिपय बच्चाले प्रगति गर्न सक्दैनन् । किनभने उनीहरुले आमाबुवालाई खुसी र सन्तुष्ट बनाउनका लागि आफ्नो गुण, रुची र क्षमतालाई त्याग्नुपर्ने हुन्छ ।

यसपछि बच्चालाई ‘कमजोर’, ‘असफल’को ट्याग लगाइन्छ । उनीहरुलाई निरुत्साहित एवं हतोत्साही गर्ने काम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment