Comments Add Comment

बुटवलमा प्लाज्मा बैंक स्थापना

१४ भदौ, बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो ।

कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक स्थापना गरिएको हो ।

कोरोना संक्रमित व्यक्ति निको भएको १४ दिन पुगेपछि उसले दिने रगतबाट आरबीसी, डब्लुबीसी र प्लेटलेट्स छुट्याएर बाँकी रहेको रगतको अंश अर्थात प्लाज्मा जटिल अवस्थामा कोरोना संक्रमितलाई दिँदा निको भएकाले नेपालमा पनि यो विधि प्रयोगमा ल्याइएको छ ।

प्लाज्माले भाइरसको संक्रमणलाई रोकेर निष्क्रिय पारी रोग प्रतिरोधी क्षमता बढाउने हुनाले प्लाज्मा थेरापीलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका संयोजक डा.प्रशान्त आचार्यले बताए ।

कपिलवस्तुको जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरी कोरोना संक्रमण मुक्त व्यक्तिबाट रगत संकलन गरिएको छ र संकलित रगतलाई बुटवलको रक्त सञ्चार केन्द्रमा राखिएको छ ।

केन्द्रमा जम्मा हुने प्लाज्मा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका जटिल अवस्थाका संक्रमितलाई दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ का सदस्य डा. सम्राट पराजुलीले बताए ।

‘विश्वका धेरै देशमा प्लाज्मा थेरापी उपचार विधिले राम्रो नतिजा दिएको छ’ डा. पराजुलीले भने, ‘नेपालमा पनि १५ वटा अस्पतालमा शुरु भएको छ, काठमाडौंमा ८ दिन भेन्टिलेटरमा बसेका संक्रमित पनि निको भएका छन् ।’

प्लाज्मामा एन्टीबडीको मात्रा धेरै हुने भएकाले नियमअनुसार उपचार गर्न सकिएमा प्लाज्मा थेरापीबाट संक्रमितलाई संक्रमणमुक्त गराउन सकिने उनले बताए ।

बुटवलको कोरोना अस्पतालमा एकजना महिलामा प्लाज्मा थेरापी उपचार गरे पनि उनको मृत्यु भयो । अन्य तीन जनामा पनि प्लाज्मा थेरापीबाट उपचार भइरहेको र राम्रो रेस्पोन्स आएको डा. पराजुलीले बताए ।

स्थानीय तहहरुबाट तथ्यांक लिएर संक्रमणमुक्त व्यक्तिसँग सम्पर्क गरी उनीहरुले चाहेकै ठाउँमा रक्तदान गराई प्लाज्मा संकलन गरिने पराजुलीले जानकारी दिए । भदौभित्र कम्तीमा ५० जना संक्रमणमुक्त व्यक्तिको प्लाज्मा संकलन गर्ने लक्ष्य रहेको उनले बताए । संक्रमणमुक्त भएका व्यक्तिले प्लाज्मा दिँदा उनीहरुको स्वास्थ्यमा कुनै असर नगर्ने डा. पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment