Comments Add Comment

कोरोनामुक्त भएर घर जाँदा छिमेकीले गरे स्वागत

१६ भदौ, विराटनगर । विराटनगर महानगरपालिका-१२ का किशोर धमला २० दिनपछि कोरोना मुक्त भए । २० दिन होल्डिङ आइसोलेसनमा बसेका उनलाई घर जान पाउँदा खुसी थिए ।

घर पुगेपछि उनको खुसीको सीमा रहेन । संक्रमणमुक्त भएपछि घर पुगेका उनलाई छिमेकीहरुले स्वागत गरे । मंगलबार संक्रमण मुक्त भएका धमला, उनकी श्रीमती र छोरीलाई छिमेकीले फूलका गुच्चा दिएर स्वागत सम्मान गरे ।

कोरोना संक्रमणमुक्त भएकाहरुलाई समाजमा तिरस्कृत गरेको विषय नयाँ होइन् । तर आलोक टोलका स्थानीयबासीले भने संक्रमणमुक्त भएर आएकालाई स्वागत गरे । ‘टोलमा सम्मान पाउँदा धेरै खुसी छ,’ धमला भन्छन्, ‘कोरोना रोग होइन । हाम्रो टोलबासीको कामबाट समाजले सिक्नुपर्छ ।’

संक्रमणमुक्त भएकाहरुलाई समाजले अर्कै व्यवहार गरेका धमलाले पनि सुनेका थिए । आफ्नो टोलबाट नयाँ सन्देश दिएकाले खुसी लागेकेा उनले बताए ।

‘संक्रमण मुक्त भएकालाई पनि समाजले राम्रो दृष्टिले हेर्दैनन् भन्ने सुनिरहेका बेला सबैको सहयोग र सम्मान पाउँदा खुसीको सीमै रहेन,’ उनले भने, ‘संक्रमण जोसुकैमा हुन सक्छ ।समाजले सकारात्मक व्यवहार देखाइदिए मात्रै पनि कोरोना सहजै पचाउन बल पुग्छ ।’

नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्षसमेत रहेका धमलालाई साउन २८ गते बुधबार कोरोना पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी मारवाडी सेवा सदनमा बसे ।

उनको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोराको रिपोर्ट पनि भदौ १ गते पोजेटिभ आएको थियो । लक्षण नदेखिएपछि तीन जनाले ‘होम आइसोलेसन’ बसेका थिए ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै धमलासहित श्रीमती र छोरी उपचारपछि मंगलबार कोरोना मुक्त भएका छन् ।

स्थानीय जगदिश तिम्सिनाले सकारात्मक सन्देश प्रवाह गर्न स्वागत सम्मान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment