+
+
Shares

धुले धावनमार्गमा नियमित उडान भइरहेको चौरजहारी विमानस्थल कालोपत्र भएपछि बन्द

विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्यन प्राधिकरणको कार्यालय र टावर छ तर एटीसी छैन । नेपाल वायु सेवा निगमको कार्यालय उठाएर नेपालगञ्ज पुर्‍याइएको छ । कर्मचारी सल्ले विमानस्थलमा सारिएको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ वैशाख २७ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौरजहारी विमानस्थल आठ वर्षदेखि बन्द छ र धावनमार्ग कालोपत्र भएपछि उडान रोकिएको छ।
  • स्थानीयले विमानस्थल बन्द हुँदा व्यापार र यातायातमा समस्या भएको र जनताले सहज हवाई सेवा नपाएको बताएका छन्।
  • नेपाल वायु सेवा निगमले कार्यालय नेपालगञ्ज सारिसकेको छ र आगामी साउनदेखि विमान उडान भर्ने तयारी भइरहेको छ।

२७ वैशाख, जाजरकोट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ स्थित चौरजहारी विमानस्थल आठ वर्षदेखि पूर्णरुपमा बन्द छ । वि.सं.२०२८ सालमा निर्मित यो विमानस्थलको कच्ची धावनमार्गमा नियमित उडान हुँदै आएता पनि कालोपत्र भएपछि भने बन्द भएको छ ।

विमानस्थल २०७७ सालयता बन्द छ । धावनमार्ग कालोपत्र भएपछि उडान थप हुने, व्यवसायिक तथा पर्यटकीय गतिविधिहरु बढ्ने, यातायात सुविधा थप सहज हुने अपेक्षा राखेका यहाँका स्थानीयहरु वर्षौसम्म विमानस्थल बन्द हुँदा निराश भएका छन् ।

राज्यको करोडौ लगानी भएको विमानस्थल बन्द हुनु दुर्भाग्य भएको स्थानीयवासीको भनाइ छ । विमान आउँदा चहलपहल हुने यस क्षेत्रको व्यापार व्यवसाय र चहलपहल सुनसान बनेको उनीहरु बताउँछन् ।

तत्कालीन अवस्थामा रुकुम, जाजरकोट, सल्यान र डोल्पालगायतका सर्वसाधारणको सहजताको लागि सञ्चालनमा आएको विमानस्थल बन्द हुँदा यहाँका नागरिकहरु मर्कामा परेका छन् ।

नयाँ सहरको रुपमा विकसित भइरहेको चौरजहारीमा रहेको विमानस्थल नै बन्द हुँदा जनताले सहज हवाई सेवा उपभोग गर्न नपाएको चौरजहारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजबहादुर बिष्टले बताए ।

उनले जनताले सहज र सरल यात्रा खोजिरहेको बेला करोडौ सरकारी बजेट खर्चिएको विमानस्थल बन्द हुनु लाजमर्दो रहेको बताए । राज्यको ठुलो सम्पति उपयोगमा नआउँदा जनताले कष्ट भोगिरहेको उनको भनाइ छ ।

सिमन चौरजहारी अस्पतालका प्रशासक दिलबहादुर गिरीले नियमित सञ्चालनको सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान पुग्न नसकेको बताए ।

निर्माण भएका संरचनाहरु उपयोग गरेर लगानीको सदुपयोग गर्नु नै प्राथमिक विषय रहेको उनको भनाइ छ । कालोपत्र भइसकेपछि यो वा त्यो बहानामा चौरजहारी विमानस्थल बन्द गरिनु गैरजिम्मेवार प्रवृति रहेको उनले बताए ।

हाल विमानस्थलमा झारपातले घेरेको छ । केही उपकरण समेत काम नलाग्ने अवस्थामा रहेका छन् ।  चौरजहारी विमानस्थलमा आगामी साउनदेखि विमान उडान भर्ने तयारी रहेको जनाएको छ ।

चौरजहारीमा रहेको नेपाल वायु सेवा निगमको कार्यालय उठाइएको छ । वायु सेवा निगमले कार्यालय उठाएर नेपालगन्ज लिइएपछि यहाँ कार्यरत कर्मचारी सुरेन्द्र नेपाली जिल्लाकै अर्को सल्ले विमानस्थलमा गएर काम गरिरहेका छन् ।

विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्यन प्राधिकरणको कार्यालय र टावर छ । तर, त्यहाँ लामो एयर ट्राफिक कन्ट्रोलर (एटीसी) छैन । यो टावर पनि बन्द छ । विमानस्थल सुरक्षाको लागि प्रहरी चौकी भए पनि त्योसमेत कामविहीन छ  ।

तत्कालीन अवस्थामा वायु सेवा निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले विमानस्थलमा रहेका महत्वपूर्ण सामग्रीहरू उठाएर लिएको बताएको छ । जहाजको अभाव रहेको र यात्रुको संख्या समेत कम भएको भन्दै यहाँको कार्यालय उठाइएको थियो । आगामी साउनमा जहाज चल्ने सम्भावना रहेको सल्ले विमानस्थल कार्यरत सुरेन्द्र नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?