Comments Add Comment

भर्चुअल सोह्र श्राद्धको व्यापारीकरण : दररेट नै तोकेर ब्राह्मण आपूर्ति

‘भर्चुअल श्राद्ध’ सञ्चालक भन्छन्- क्लाइन्टको चासो छ, तर धम्की आयो

१८ भदौ, काठमाडौं । सोह्र श्राद्ध अर्थात दिवंगत पितृहरुप्रति श्रद्धा अर्पण गर्ने समय । १७ भदौबाट सुरु भएको यस वर्षको सोह्र श्राद्धलाई कोरोना महामारीले प्रभावित बनाएको छ । संक्रमणको जोखिमका कारण पुरोहितहरुले यजमानको घर–घरमा गएर श्राद्ध गराइदिने अवस्था अहिले छैन ।

यता केही अनलाइन एप सञ्चालक र पुरोहितहरु भर्चुअल माध्यमबाटै श्राद्ध गराइदिने भन्दै तम्सिएका छन् । यसले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । के अनलाइनमार्फत विधिपूर्वक श्राद्ध सम्पन्न हुन सक्छ ?

यो प्रश्नको उत्तर खोज्नुअघि श्राद्धको मर्म के हो भन्ने सही बुझाइ आवश्यक छ ।

हिन्दू धर्मको शास्त्रीय मान्यताअनुसार मान्छेको मृत्यूपछि उसको निश्चित विधि विधानबाट क्रियाकर्म गरिन्छ । यी पैतृक कर्महरु पूरा नगरेमा मृतकको आत्माले शान्ति पाउँदैन भन्ने धार्मिक विश्वास रही आएको छ । यस्तै क्रियाकर्मअन्तरगतको महत्वपूर्ण पाटो हो वार्षिक श्राद्ध ।

दिवंगत पितृहरुको स्मरणमा निश्चित विधिद्वारा श्रद्धा र सम्मान अर्पण गर्ने कार्यलाई नै श्राद्ध भन्ने गरिन्छ । पितृहरुको तिथि पारेर पुरुष सन्तान (छोरा–नाति) ले हरेक वर्ष श्राद्ध गर्ने गर्छन् । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ ।

यस्तो श्राद्धमा आफूले पुजेका पुरोहित वा ब्राह्मणलाई पितृको प्रतीकका रुपमा लिएर मुद्रा वा द्रव्य दान दिने गरिन्छ । यसरी दान गरेको वस्तु पितृसम्म पुग्छ भन्ने धार्मिक विश्वास छ ।

विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नुपर्ने शास्त्रमा उल्लेख छ । सोह्र श्राद्ध चाहिँ एकैपटक धेरै पितृको सम्झनामा गरिने हो । विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा एकमुष्ट गरिने श्राद्धलाई सोह्र श्राद्ध भन्ने गरिन्छ । यो आश्विन कृष्ण पक्षको १५ दिन र शुक्लपक्षको एक दिन गरी १६ दिनसम्म चल्ने भएकाले यसको नाम सोह्र श्राद्ध रहन गएको हो ।

सोह्र श्राद्धको व्यापारीकरण

हरेक वर्ष सोह्र श्राद्धको अवसर ब्राह्मण/पुरोहितहरुका लागि अत्यधिक व्यस्त हुन्छन् । उनीहरुले वर्षभरिमा सबैभन्दा बढी दान द्रव्य प्राप्त गर्ने अवसर पनि हो यो । यसपालि कोरोनाले गर्दा उनीहरुको पेशामा धक्का लागेको छ ।

महामारीको डरले गर्दा यजमानले पुरोहितलाई घरमा डाकेर श्राद्ध गर्न डराइरहेका छन् । अर्कोतर्फ सरकारले निषेधाज्ञा लगाएर हिँडडुलमा कडाइसमेत गरेको छ । यस्तो अवस्थामा केही पुरोहितहरुले भर्चुअल माध्यमबाटै श्राद्ध गर्न सकिने तर्क गरेका हुन् । ज्योतिष सेवा दिँदै आएका केही साइटहरुले यो कामको व्यवसायीकरण गरिरहेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शनिबार सूचना निकालेर भर्चुअल प्रविधिबाट सोह्र श्राद्ध गराउन नगरवासीलाई आग्रह गर्‍यो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले सोह्र श्राद्धमा संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै ४ बुँदे सूचना जारी गरेका थिए ।

सूचनाको दोस्रो बुँदामा भनिएको छ, ‘एकजना पुरोहित सोह्र श्राद्ध कार्यमा एकै दिनमा समेत धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यसपटक विशेष परिस्थितिका कारण यथासक्य वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) माध्यमबाट सोह्र श्राद्ध गर्ने/गराउने व्यवस्था मिलाउने ।

यसै गरी, तेस्रो बुँदामा भनिएको छ, ‘…पुरोहितहरुले समेत यस विषम् परिस्थितिमा प्रविधिको उच्चतम प्रयोग गरी समयमै आफ्ना यजमानहरुसँग परामर्श गरी सोहीबमोजिम तयार रहनका लागि जानकारी गराउने ।’

श्राद्ध गर्दा आफन्त, छरछिमेकी, ईष्टमित्र, बन्धुवान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्र सामेल हुने व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरिएको छ ।

यसरी स्थानीय तहबाट भर्चुअल श्राद्धलाई ‘मान्यता’ दिइएपछि केही पुरोहितहरु हौसिएका छन् । उनीहरुलाई अनलाइनमार्फत विभिन्न व्यवसाय गर्दै आएका कम्पनीले ‘हायर’ गरेर सोह्र श्राद्धको व्यापारीकरण गरेका हुन् । उनीहरु यजमानलाई ‘क्लाइन्ट’ भन्ने गर्छन् ।

नेपालमा सबैभन्दा बढी डाउनलोड भएको बहुउपयोगी एप ‘हाम्रो पात्रो’ले ‘सोह्र श्राद्धमा पितृहरुलाई सम्झिनुहोस्’ भन्दै नयाँ सेवा थालेको छ । हाम्रो पात्रोले विज्ञापनमा लेखेको छ, ‘हाम्रा प्रमाणित गुरुहरुद्वारा घरमै बसीबसी भिडियो कलमार्फत सीदा दानको प्रक्रिया सम्पन्न गर्नुहोस् ।’

यो पनि पढ्नुहोस भर्चुअल सोह्र श्राद्ध : पढ्न सजिलो, सिदा पुर्‍याउन गाह्रो !

विज्ञापनमा थप भनिएको छ, ‘कल गर्नुभन्दा पहिले आफ्नो वंशमा दिवंगत बुवा, हजुरबुवा, बुढा हजुरबुवा सधर्मपत्नी सहितको नामावली र मावलीतर्फको वंशमा दिवंगत हुनु भएका आमाको बुवा, हजुरबुवा, बुढा हजुरबुवा सधर्मपत्नी सहितको नामावली र सम्भव भएसम्म अन्य पितृदेवहरूको नामावली तयार राख्नु पर्नेछ ।

सिदा दान गर्ने व्यक्तिले कालो, नीलो हरियो वा रातोबाहेक सात्विक (सेतो र पहेंलो) वस्त्र लगाएमा उत्तम हुनेछ । सिदा दान गर्नुभन्दा पहिले बिहान नित्य स्नान गरेर जातीय परम्परा अनुसार चोखो भएर पानी र एउटा सिक्का पैसा लिएर आफ्ना पितृहरूलाई स्मरण गर्दै दक्षिणतर्फ फर्किएर बस्नुपर्ने हुन्छ ।’

यो पूर्ण श्राद्ध नभएर पितृहरुलाई श्रद्धापूर्वक स्मरण गर्नका लागि गुरुहरुले गर्ने सिदा दानको संकल्प मात्र भएको साइटमा उल्लेख छ ।

घर–पार्लर नामक कम्पनीले तीन महिना अगाडिदेखि नै घर–पण्डित सेवा सुरु गरेको थियो । अहिले यसले ‘अनलाइनबाटै श्राद्ध गरौं, संक्रमणबाट बचौं’ भन्ने नाराका साथ श्राद्ध प्याकेज ल्याएको छ । लाजिम्पाटमा रहेको ‘एस्ट्रो विधा’ कम्पनीले अनलाइन सोह्र श्राद्धको प्याकेज अघि सारेको छ । यस कम्पनीसँग ६ जना पुरोहितहरु आवद्ध छन् ।

तर, श्राद्धजस्तो धार्मिक कर्म विद्यार्थीहरुलाई अनलाइनबाट पढाएजस्तो भर्चुअल माध्यमबाट गर्न नहुने धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष तथा राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराई यस्तो कुरा सुन्दैमा अचम्भित छन् । भर्चुअल श्राद्धको कुरालाई उनी हावादारी मान्छन् ।

‘केही पुरोहितहरु यस्तो काममा कस्सिएका छन् भन्ने सुनेको छु,’ उनले भने, ‘तर, यसरी श्राद्ध गर्नु र गराउनुको कुनै तुक हुँदैन । केवल पैसाका लागि यजमानको आँखामा छारो हाल्ने काम मात्र हो ।’

‘क्लाइन्टहरुको चासो धेरै छ, तर धम्की आयो’

सोह्र श्राद्धको प्याकेज दिइरहेको ‘एस्ट्रो विधा’ का सञ्चालक परिवेश कोइराला आफूहरुले पुरोहितलाई मासिक तलव दिएर नै भर्ति गरेको बताउँछन् । उनका अनुसार यजमानले कम्पनीलाई सेवा शुल्कका रुपमा निश्चित रकम पठाउनुपर्ने हुन्छ ।

कम्पनीले पुरोहितलाई मासिक तलब साथै काम गरेको दिन भत्ता दिने गरेको छ ।  कम्पनीले भर्चुअल श्राद्धका लागि न्यूनतम शुल्क नै सार्वजनिक गरेको छ । जसअनुसार इच्छुक यजमानले कम्पनीलाई दुई हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ ।

कोइरालाले भने, ‘धेरै क्लाइन्टहरुले चासो देखाउनुभएको छ । दैनिक दुईवटाको लागि त बुक नै भइसक्यो । तर, मलाई अरु पुरोहितहरुले फोन गरेर धम्क्याइरहेका छन् ।’

हिजोबाट आफूलाई १ सयभन्दा बढी कल आएको भन्दै उनले थपे, ‘सयमध्ये ३० वटा जति क्लाइन्टको थियो होला, बाँकी अन्य पुरोहितका धम्की र चेतावनीका फोन थिए । धेरै दबाव आएपछि हामीले फेसबुकबाट पोष्ट हटाउनुपर्‍यो ।’

आफूहरुले श्राद्ध विधिलाई समयानुकुल र प्रविधिमैत्री बनाउने प्रयास गरेको उनी बताउँछन् । विदेशमा धेरै समयदेखि यस्तै प्रकारले सेवा दिइरहेको उनको भनाइ छ ।

कोइरालाले भने, ‘हामीले सन् २०१६ देखि विदेशमा ज्योतिष र अन्य सेवा दिँदै आएका छौं । विदेशमा बस्नेहरुले नेपालमा कुनै पूजा लगाउन चाहेमा हामी यहाँ पण्डितको व्यवस्था गरेर अनुष्ठान गराइदिन्छौ । सबै विधि र प्रक्रिया उहाँहरुले भिडियो कलमा हेर्नुहुन्छ । हामी कुरिअरमार्फत प्रसाद उहाँहरुलाई पठाउछौं ।’

अहिले यही प्रक्रिया नेपालमा पनि अपनाउन खोजेको उनले बताए । कम्पनीमा आवद्ध गुरुहरु कम्प्युटर चलाउन पोख्त भएकाले सहजरुपमा सेवा दिन सकिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस भर्चुअल र मास्कसहितको सोह्र श्राद्ध

कम्पनीले रेट नै तोकेर विज्ञापन गरेको विषयमा भने धेरैले आलोचना गरेका छन् । श्राद्धमा पुरोहितलाई दिने दक्षिणा यजमानले स्वेच्छाको विषय भएकाले यसलाई मजदुरको ज्याला तोकेजसरी तोक्न नमिल्ने बताउँछन् प्रा.डा. भट्टराई ।

‘यस्तो कार्य आपत्तिजनक छ । यसले हाम्रो धर्म–परम्परालाई नै विकृत बनाउँछ,’ उनले भने ।

रेट नै तोकेर विज्ञापन गर्दा त श्राद्धको समेत व्यापारिकरण गरेको देखियो नि ? भन्ने प्रश्नमा ‘एस्ट्रो विधा’का कोइरालाले जवाफ दिए, ‘खासमा धेरैलाई पैसा लाग्ने हो भन्ने अन्योल हुँदोरहेछ । सोध्न पनि अप्ठेरो मान्नुहन्छ । त्यही भएर हामीले न्यूनतम सेवा शुल्क सार्वजनिक गरेका हौं, ता कि हाम्रा क्लाइन्टहरु सुरुमै स्पष्ट हुन सक्नुहोस् ।’

उनी थप्छन्, ‘यदि कसैलाई अतिरिक्त दक्षिणा दिन मन भएसम्वन्धी पुरोहितलाई व्यक्तिगत तवरबाट दिन सक्नुहुन्छ, त्यसमा हामी केही भन्दैनौं ।’

पैसा भुक्तानी गर्दा इ–सेवा वा अन्य कुनै पनि डिजिटल माध्यमको प्रयोग गर्नसकिने कोइराला बताउँछन् ।

भर्चुअल विधिका अप्ठेरा

भर्चुअल विधि एकातर्फ शास्त्रीय मान्यता अनुकल छैन भने अर्कोतर्फ यसका व्यवहारिक कठिनाइ पनि धेरै छन् । धेरै जजमानहरु श्राद्धका सामग्रीहरु आफैंले तयार पार्न सक्दैनन् । अरु प्रक्रियामा पनि पुरोहितको भौतिक उपस्थिति आवश्यक पर्छ ।

जस्तो, श्राद्धको एउटा अनिवार्य विधि गोदान अर्थात गाईदान हो । श्राद्धमा कुश र पानी समातेर गाईको प्रतीकका रुपमा पैसा राखेर पुरोहितलाई अर्पण गर्ने गरिन्छ । यस कार्यका लागि दान लिने व्यक्ति अर्थात् पुरोहितको भौतिक उपस्थिति हुनैपर्छ, जुन भर्चुअल श्राद्धमा सम्भव छैन ।

भर्चुअल श्राद्धका पक्षधर तथा हिन्दू धर्मशास्त्रका जानकार समुद्र घिमिरे भन्छन्, ‘हो, यसमा अलिकति जटिलता छ । तर, यदि घरमा वा नजिकमा तपाईंका ज्वाइँ वा भाञ्जा छन् भने उनीहरुलाई गोदान गर्न सकिने विकल्प हुन्छ । यस्तो हुनेहरुलाई मात्रै भर्चुअल श्राद्ध गर्न सुझाव दिएका छौं ।’

यसैगरी, श्राद्धपछि ब्राह्मणलाई सीदा अर्पण गर्ने अर्को समस्या छ । घिमिरेले यस्तो सीदा पुरोहितको साटो कोही दीनदुःखीलाई पनि दिँदा हुने बताए । त्यो नभए परिस्थिति सहज भएपछि पुरोहितको घरमै पुर्याउन सकिने उनको भनाइ छ ।

अर्को समस्या ब्राह्मण भोजन पनि हो । श्राद्धपछि ब्राह्मणलाई भोजन गराउनुपर्ने हुन्छ । ‘अड्को पड्को तेलको धुप’ भनेजस्तो यसमा पनि ज्वाइँ, भाञ्जालाई नै खुवाउन सकिने उनको भनाइ छ ।

घिमिरे भन्छन्, ‘केही प्राविधिक जटिलताहरु त छन् । तर, हामीले हाम्रो धर्म–परम्परालाई समय र परिस्थितिअनुसार संशोधन गर्दै जानुपर्ने हुन्छ ।

यो महामारीका बेलामा आफ्नो स्वास्थ्यलाई जोखिममा पार्नुभन्दा यसरी पनि जान सकिन्छ भनेर विकल्प दिएका हौं । तर, अनावश्यकरुपमा यसलाई सनसनी बनाउने काम भइरहेको छ । हामीलाई धर्म बिगार्न खोजेको आरोप लगाइएको छ ।’

उनीहरु पण्डित होइनन्, व्यापारी हुन् : प्रा.डा. माधव भट्टराई

सबैलाई थाहा छ कि अहिले परिस्थिति असहज छ । तर, हाम्रो धार्मिक परम्पराहरु त्यति धेरै जडसुत्रीय पनि छैनन् । सोह्र श्राद्धको विषयमा पनि लचकता अपनाउन सकिन्छ ।

सोह्र श्राद्ध यही दिनमा नै गर्नुपर्छ भन्ने अनिवार्यता छैन । अष्टमीमा गर्न पाइन्छ । एकादशीमा गर्न पाइन्छ । बाबुको तिथिमा वा हजुरबाको तिथिमा गर्न पाइन्छ । उस्तै परे दशैं लागेपछि पनि गर्न पाइन्छ । यति मात्र होइन, अन्तिम विकल्पका रुपमा पौषे औंशीमा पनि गर्दा हुन्छ । यतिसम्म लचकता छ । त्यसो भएकाले अहिले भुर्चअल श्राद्धको जुन फन्डा ल्याइएको छ, त्यो अनावश्यक र अवाञ्छित कुरा हो ।

भौतिकरुपमा नै पुरोहित उपस्थित हुन नसकेमा त्यस्तो श्राद्धको अर्थ र औचित्य हुँदैन । मलाई लाग्छ कि सरकारले अहिले रोकेको पनि छैन । महामारीकै बीचमा पनि सुरक्षित तरिकाले श्राद्ध गर्न गराउन नसकिने होइन । एउटा पण्डित यजमान कहाँ जाँदा जुलुस लिएर त जाँदैन । साइकलमा वा हिँडेर एक्लै नै जाने हो । यजमान र पण्डितबीच पनि दुरी कायम गरेर सुरक्षित तरिकाले श्राद्ध गराउन सकिन्छ । यदि यजमान र पण्डित दुवै क्वारेन्टाइनमा बसेका छन् भने त झन् सजिलो भइहाल्यो ।

अहिले त श्राद्धका सामग्रीहरु एउटै पसलमा सबै किन्न पाइन्छ । यजमानले सरजमहरु पहिल्यै किनेर तयारी राख्नुपर्यो । त्यसपछि पण्डितले गएर श्राद्ध गराइहाल्छन् । पण्डितले यजमानसँग हात मिलाउने वा अंकमाल गर्ने हाम्रो परम्परा होइन । त्यसैले शारीरिक संसर्ग बेगर नै काम सम्पन्न हुन सक्छ ।

त्यो पनि नगर्ने हो भने अरु पनि विकल्प छन् । अहिले नपढेका मान्छे कोही हुँदैन । बजारमा श्राद्धपद्धति भन्ने किताब किन्न पाइन्छ । त्यो ल्याएर आफैंले पढे पनि भयो । एउटा प्रतिनिधिका रुपमा ज्वाइँ–चेलालाई राखेर आफैंले श्राद्ध गर्न सकिन्छ ।

मुख्य कुरा श्रद्धा हो । यदि तपाईंमा आफ्नो पितृप्रति श्रद्धा छैन भने त जसरी गर्दा पनि भयो । नगर्दा पनि भयो । अहिले कतिपयले गर्दैनन् पनि । तर, यदि श्रद्धा छ भने श्राद्ध विधिपूर्वक नै गर्नुपर्छ । शास्त्रले भनेका कुराहरु पालना गर्नुपर्छ ।

महामारीमा सोह्र श्राद्धलाई के कसरी गर्न सकिन्छ भनेर मैले विद्वान गुरुहरुसँग पनि छलफल गरेको छु । कसैले पनि भर्चुअल श्राद्धलाई समर्थन गर्नुभएको छैन । मलाई धेरै व्यक्तिले फोन गरेर पनि जिज्ञासा राख्नुभएको छ । सबैलाई म यही भन्छु कि गरिसकेपछि विधिपूर्वक गरौं । विभिन्न बाहानावाजी गरेर अनलाइन श्राद्धको फन्डामा लाग्नु भनेको आफ्ना पितृहरुलाई छल गर्नु हो ।

यसरी अनलाइन श्राद्ध गराउँछौं भन्नेहरु पनि वास्तविक पण्डित वा पुरोहित होइनन् । उनीहरु नक्कली काम गर्ने व्यापारीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment