Comments Add Comment

रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको शिलान्यास

१८ भदौ, गुल्मी । निकै सुस्त गतिमा काम भइरहेको रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको शिलान्यास भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गरेका हुन् ।

टर्मिनल भवनसहित कन्ट्रोल टावर बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जे.भीसँग सम्झौता भएको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्सट्रक्सनका व्यावस्थापक हरि कुमार श्रेष्ठले जानकारी दिए ।

०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । अहिलेको भन्दा कोभिडको संक्रमण नबढेमा अन्तिम मिति अगाडि नै काम सम्पन्न गर्ने श्रेष्ठले जानकारी दिए ।

टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास गर्दै प्रमुख जिल्ला अधिकारी शर्मा र मेयर भुसालले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनीहरुले कोभिडको कारण निर्माणको काम र ढुवानीमा कुनै अवरोध नहुने बताए ।

विमानस्थलको धावनमार्ग निर्माणको काम गत वर्षदेखि नै सुरु भएको थियो । तर धावनमार्गको कामले अपेक्षाकृत गति लिएको छैन । सम्झौता अनुसार ०७७ कात्तिकसम्म धावनमार्ग कालोपत्रे गरिसक्नुपर्ने भएपनि अहिलेसम्म करिब ३५ प्रतिशत काम मात्रै भएको विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले जानकारी दिए ।

धावनमार्गको लम्बाइ ५ सय २० मिटर र चौडाइ २० मिटर छ । धावनमार्ग निर्माणका लागि ०७६ साउनमा रौताहा हरि जेभीसँग सात करोड २५ लाखमा सम्झौता भएको थियो ।

गुल्मीको रेसुंगा विमानस्थल निर्माणको शिलान्यास ०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए । ०७२ सालबाट मात्रै औपचारिक रुपमा विमानस्थल निर्माणको काम सुरु भएको थियो ।

विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका ४६ घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गरिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल ओगटेको छ । करिब ५६ रोपनी सार्वजनिक जग्गा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment