Comments Add Comment

वीरगञ्जमा ५ जनाले गरे प्लाज्मा दान

१८ फागुन, वीरगञ्ज । वीरगञ्जमा प्लाज्मा थेरापीका लागि कोरोना संक्रमणमुक्त भएकाहरुले सामूहिक ‘प्लाज्मा दान’ गरेका छन् । नेपाल चिकित्सक संघ नारायणीको कार्यालयमा आयोजित कार्यक्रममा ५ जनाले ‘प्लाज्मा दान’ गरेका हुन् ।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’ मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सरोकार समाजका ओमप्रकाश सर्राफले जानकारी दिए । ‘प्लाज्मा बैंक’ का लागि रक्तसञ्चार केन्द्र वीरगञ्जमा आवश्यक बन्दोबस्त गरिसकिएको छ ।

तीन महिनादेखि थालिएको प्रयासले सार्थकता पाएको चिकित्सक संघ नारायणीका अध्यक्ष डा. अरुण सिंहले बताए । गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको उनको भनाइ छ ।

वीरगञ्जमा भदौं १४ गतेबाट प्लाज्मा थेरापी शुरु गरिएको थियो । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर अधिकारीले उनलाई प्लाज्मा दिएका थिए ।

चिकित्सक संघका सचिव एवं नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार प्लाज्मा दिइएका संक्रमितको स्वास्थ्य अवस्था सुधारोउन्मुख छ ।

‘पहिलो चरणमा वीरगञ्जमा लक्षण बिनाका संक्रमित थिए, पारासिटामोल समेत नचाहिएको अवस्थामा प्लाज्मा के चाहिएला भन्ने भयो’ उनले भने ‘पछिल्लो समयमा कडा कोभिड संक्रमितको संख्या बढी देखिएको छ । गम्भीर अवस्थाका बिरामी पनि आइरहेका छन् । त्यसैले ‘प्लाज्मा थेरापी’ शुरु गरेका हौं ।’

एउटा व्यक्तिले दिएको प्लाज्माले तीन जनाको ज्यान जोगाउन सक्छ भन्ने सुनेर प्लाज्मा दान गरेको वीरगञ्ज–४ का वडा अध्यक्ष जगत साह कानुले बताए । ‘प्लाज्मा दान गर्दा एक त तीन जनासम्म संक्रमितको ज्यान बाँच्न सक्छ’ उनले भने ‘अर्को तर्फ संक्रमणमुक्त भइसकेकाहरुलाई प्लाज्मा दान गर्न पनि प्रोत्साहन मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment