Comments Add Comment

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको तलब रोकियो

१९ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मीले गत साउन महिनाको तलब पाएका छैनन् ।

राजधानीस्थित वीर अस्पतालका कर्मचारीहरू साउन महिनाको तलव पाउन नसकेको बताउँछन् । ‘कोरोना संक्रमितसँग जोखिम मोलेर काम गरिरहेका छौं’ वीर अस्पतालका एक चिकित्सकले भने, ‘एकातिर पर्याप्त सुरक्षा सामग्रीको अभाव छ अर्कोतिर भत्ताको त कुरै छोडौं, तलबसमेत पाएका छैनौँ ।’

वीरमै कार्यरत डा. भोविन्द्र कार्कीले यो विषय सामाजिक सञ्जालमै लेखेका छन् । ‘हामी स्वाथ्यकर्मीलाई भत्ता दिन्छु भनेर आश देखाउनुभन्दा हामीलाई चाहिने सामाग्री देऊ । नत्र भत्ताको आशले अन्तिम स्वास कहिले फेरिन्छ थाहा छैन । एउटा पञ्जाको भरमा लगातार १२ घन्टा काम गर्नुपर्ने अवस्था छ’, डा. कार्कीले लेखेका छन् ।

वीर अस्पतालका अर्का चिकित्सक भने तलबका बारेमा सोधखोज गर्दा कहिले कोरोनाका कारण एकाउण्ट बन्द छ भन्ने खबर आउने त कहिले तयारी हुँदैछ भन्ने जवाफ पाएको बताउँछन् ।

जोखिममा काम गरेर पनि परिवार पाल्न धौधौ पर्ने अवस्था आएको उनले बताए । तलब, भत्ता रोकिँदा दोहोरो तनावमा काम गर्नुपरेको उनको भनाइ छ ।

कहिले आउला जोखिम भत्ता ?

सरकारले ९ चैत २०७६ मा कोभिड–१९ संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी पारेको भत्ता व्यवस्थापनसम्बन्धी आदेशमा सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा कार्यरत जनशक्तिले पारिश्रमिकको शत प्रतिशत भत्ता पाउने उल्लेख छ । वीर अस्पताल, जनस्वास्थ्य प्रयोगशाला पाटन र त्रिवि शिक्षण अस्पतालमै कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै उक्त भत्ताबाट वञ्चित छन् ।

सरकारले चिकित्सक, नर्स, प्यारामेडिक्स र प्रयोगशालाकर्मीलाई तलबको शत प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. सविन थपलियाले भने, ‘हामीले चैत महिनादेखि कोभिड–१९ का बिरामीको उपचार शुरु गरेका हौँ । तर, जोखिम भत्ता भने अहिलेसम्म कुनै कर्मचारीले पाएका छैनौं ।’

त्रिवि शिक्षण अस्पतालमा ६४ जना संक्रमितको उपचार चलिरहेको छ । उनीहरू मध्ये ६ जना आइसियु र ५८ जना आइसोलेसनमा छन् ।

त्यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा नौ जना आइसियुमा र एक सयभन्दा बढी आइसोलेसनमा संक्रमितको उपचार भइरहेको छ । आफूहरूले एक हजार ४५९ जना संक्रमितको उपचार गरिसकेको पाटन अस्पतालका अधिकारीहरू बताउँछन् ।

करारका स्वास्थ्यकर्मीलाई दोहोरो तनाव

करारमा कार्यरत चिकित्सकका लागि वीर अस्पतालले दुई महिनाको मात्र म्याद थप गरेको छ । वीरमा कार्यरत करारका चिकित्सकलाई छ÷छ महिनाको म्याद थप्नुपर्ने भए पनि यसपटक भने दुई महिनाको मात्र म्याद थप गरेको गरेको एक मेडिकल अफिसरले बताए ।

‘असार मसान्तमै म्याद थप हुनुपर्ने हो, तर, भदौ महिनाको दोस्रो हप्तामात्र हामीले म्याद थपको कागज हात पा¥यौँ’, नाम उल्लेख गर्न नचाहने ती मेडिकल अफिसर भन्छन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा भत्ता पठाइसकेको जानकारी पाएको बताए । उनी भन्छन्, ‘आठ÷दश दिनमा अस्पतालमा बजेट आइपुग्छ कि !’

यसअघि ८० लाख रुपैयाँ बजेट आए पनि त्यो रकम भत्ताका लागि अपुग हुने भएपछि कोरोनाको मेडिकल सामग्री खरिद गरेको डा. सेन्चुरीले बताए । ‘पहिला इमरजेन्सी, फिवर क्लिनिक, आइसीयु, आइसोलेसनको फ्रण्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको नाम पठाएका थियौँ’, उनले भने, ‘अहिले त वार्डमा पनि कोभिड संक्रमित देखिन थालेकाले उहाँहरूका नाम पनि पठाउनुपर्ने भएको छ ।

तलबको विषयमा भने डा. सेन्चुरीले आर्थिक वर्षको पहिलो महिना भएकाले निकासा हुन ढिलाइ भएको जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीले भत्ता नपाएको अस्वीकार गरे ।

शैक्षिक भत्ता पनि कटौती

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफूहरूको शैक्षिक भत्तासमेत कटौती गरेको वीर अस्पताल युरो सर्जरी विभागका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए ।

‘विद्यार्थीको शैक्षिक सत्र खेर जान दिनु हुँदैन भनेर भर्चुअल कक्षाबाट पनि नियमित अध्यापन गराइरहेका छौँ’ डा. श्रेष्ठले भने, ‘तर, न्याम्सले कोरोना सुरुभएदेखि शैक्षिक भत्ता पनि दिन छोडेको छ ।’

भुक्तानी प्रणाली अपडेट गर्दा ढिलो भएको हो : अर्थ मन्त्रालय

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले समेत साउन महिनाको तलब पाउन बाँकी रहेको अर्थ मन्त्रालयले पनि स्वीकार गरेको छ । तर, उनीहरूले तलब नपाउनुमा गलत नियत वा नगद अभाव भने नभएको मन्त्रालयका सचिव शिशिर ढुंगानाले जानकारी दिए ।

भुक्तानी प्रणाली अपडेट गर्दा आर्थिक वर्षको पहिलो महिनाको तलब भुक्तानीमा ढिलो भएको सचिव ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘पहिला म्यानुअल रुपमा गर्दै आएको कामलाई प्रविधिमा लैजाने क्रममा ढिलो भएको हो ।’

नयाँ भुक्तानी प्रणालीमा पाउने कर्मचारीको प्यान नम्बरसहितको विवरण दर्ता भएपछि मात्रै तलब जान्छ । ढुंगाना भन्छन्, ‘बेलैमा विवरण इन्ट्री गर्नेहरूको तलब रोकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment