Comments Add Comment

दुग्ध व्यवसायमा २० अर्ब नोक्सानी भएको अनुमान

२१ भदौ, काठमाडौं । कोभिड-१९ को महामारी कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले दुग्ध व्यवसायीले २० अर्ब रुपैयाँ नोक्सानी ब्याहोरेको दावी गरेका छन् । कोभिड-१९का कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको उनीहरुको भनाइ छ ।

कोरोनाका कारण डेरी उद्योगको ६० प्रतिशत बजार घटेको नेपाल डेरी एसोसियसनले जनाएको छ । ‘कोरोनाका कारण अर्बौंको नोक्सान भएपनि डेरी उद्योगबाट जसोतसो सेवा दिइरहेको छौं,’ एसोसियसनका महासचिव प्रल्हाद दाहालले भने ।

‘कोभिड-१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरुबारे कृषि पत्रकारहरुको साझा फोरम -अनाज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा उनले किसानले पनि धेरै नोक्सान ब्यहोरेको, तर बाहिर नदेखिएको बताए ।

सामान्य अवस्थामा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनेमा ३१ लाख दूध मात्र बजारमा जाने गरेको दाहालले बताए । अत्यावश्यक क्षेत्रको रुपमा डेरी क्षेत्रलाई राखिएपनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो उद्योगी व्यवसायीको छ ।

कोरोना महामारीका कारण किसानले उत्पादन गरेको दूध संकलनमा ३० प्रतिशत ह्रास आएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए ।

‘देशभरि सहकारीमा दैनिक ६ लाख लिटर दूध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ’ देवकोटाले भने । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाउँदा किसान साह्रै पीडामा परेको भन्दै देवकोटाले सरकारको ध्यानाकर्षण गराए । सरकारले किसानलाई सुविधा दिन गरेको बाचा पनि अधुरै भएको उनको भनाइ थियो ।

छलफलमा बोल्दै बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र नभई किसानलाई पनि निकै समस्या भएको बताए ।

दुग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने उनको भनाइ थियो । किसानले उत्पादन गरेको दूधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा निजी क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

दुग्ध क्षेत्रमा उत्पादनको समस्या नभएपनि विक्री वितरणमा अप्ठ्यारो रहेको दुग्ध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठको धारणा थियो ।

उत्पादित वस्तुको बिक्री नहुँदा भण्डारण गर्नु परेको र यसले घाटा सहनु परेको श्रेष्ठको भनाइ थियो । ‘घीउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ , र त्यसलाई कसरी बेच्ने ?’ श्रेष्ठले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment