Comments Add Comment

तेस्रो त्रैमासमै आर्थिक वृद्धिदर निराशाजनक, २.२७ प्रतिशतको लक्ष्य टाढा 

१९ भदौ, काठमाडौं । कोरोना महामारीका कारण उत्पन्न संकटले सरकारलाई घोषित आर्थिक वृद्धिको छेउछाउ पुग्न पनि हम्मे पर्ने देखिएको छ । बजेटमार्फत सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।

यस्तो अनुमान दोस्रो-तेस्रो त्रैमाससम्मको वृद्धिदरको सूचकमा आधारित भएर गरिएको थियो । तर, अन्तिम त्रैमासमा महामारीमा लकडाउन गरिएकाले विभिन्न आर्थिक गतिविधि ठप्प थियो ।

अघिल्लो आवको पहिलो र दोस्रो त्रैमास (साउन-पुस) सम्म आर्थिक वृद्धिदर सन्तोषजनक रुपमै अगाडि बढेको थियो । तर, तेस्रो त्रैमास (माघ-चैत) मा जाँदा भने कुल गार्हस्थ उत्पादन १ प्रतिशतभन्दा तल ओर्लिन थालेको देखिन्छ । कोरोनाको महामारीले आर्थिक गतिविधिहरुमा सुस्तता छाउँदा वृद्धिदर प्रभावित बनेको हो ।

तथ्यांक विभागका अनुसार उक्त आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ५.४ प्रतिशत कायम भएको थियो । दोस्रो त्रैमासमा ४.२ प्रतिशत रहेको वृद्धिदर तेस्रो त्रैमासमा भने ०.८ प्रतिशतमा झरेको थियो । कोरोना भाइरसका कारण चैतदेखि मुलुकमा बन्दाबन्दीको सुरुवात भएको थियो ।

विभागका अनुसार तेस्रो त्रैमासमा सबैभन्दा बढी आर्थिक वृद्धिदर विद्यूत, ग्यास र पानीको क्षेत्रमा -१९.९ प्रतिशत कायम भएको थियो । मत्स्यपालन क्षेत्रमा ७.१ प्रतिशत, यातायात, गोदाम तथा सञ्चार क्षेत्रमा ६.४ प्रतिशत र सार्वजनिक प्रशासन तथा सुरक्षामा ५.५ प्रतिशतको वृद्धिदर भएको छ । तर, आर्थिक वृद्धिमा मूख्य प्रभाव पार्ने अन्य क्षेत्रहरु भने यो त्रैमासमा खुम्चन पुगेका थिए । विभागका अनुसार औद्योगिक वस्तुको उत्पादन यो त्रैमासममा १२.१ प्रतिशत ऋणात्मक रहेको छ ।

होटेल, रेष्टुरेन्ट, थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा समेत क्रमशः ८.६, ६.६ र ६.१ प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ । जसले गर्दा समग्र कुल गार्हस्थ उत्पादनको वृद्धिदरलाई प्रभाव पारेको हो ।

कुल गार्हस्थ उत्पादनमा गणना हुने औद्योगिक क्षेत्रका कुल १३ उत्पादन क्षेत्रमध्ये तेस्रो त्रैमासमा ५ वटा क्षेत्र ऋणात्मक रहे । वृद्धिदर सकारात्मक रहेका क्षेत्रको समेत वृद्धिदर कमजोर बनेका कारण समग्रमा तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा खुम्चिएको विभागको तथ्यांकमा उल्लेख छ ।

चौथो चैत्रमास झनै कमजोर !

सरकारले सेवा क्षेत्र असार मसान्तसम्म प्रभावित भए पनि औद्योगिक र निर्माण क्षेत्र भने जेठबाटै सामान्य हुने अनुमान गरेको थियो । तर, उक्त अनुमान विपरित लकडाउन जेठ र असारमा समेत कायमै रह्यो ।

असारमा लकडाउन केही खुकुलो भएको थियो । यसले यातायात, औद्योगिक उत्पादन र निर्माण क्षेत्र केही चलायमान भयो ।

सोही कारण चौथो त्रैमासको तथ्यांकमा केही सुधार हुने झिनो आशा सरकारले लिएको छ । तर, चौथो त्रैमासको वृद्धिदर भने शून्य भन्दा तल नै रहने सम्भावना छ ।

तथ्यांक विभागले चौथो त्रैमासको तथ्यांक सार्वजनिक गरेको छैन । यो तथ्यांकले सरकारले प्रक्षेपण गरेको  २.२७ प्रतिशतको वृद्धिद्धर नभेटिने पक्कापक्कीजस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment