Comments Add Comment

मलको ठेक्का सम्झौता रद्द, दुवै कम्पनीको धरौटी जफत

२१ भदौ, काठमाडौं । तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए । ‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने ।

यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच-पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ । साथै, थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ ।

फरक–फरक ठेक्का मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार ७२ दिनभित्र मल नेपाल ल्याइसक्नुपर्ने थियो । जसअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्नेमा दुवै कम्पनीले मल ल्याउन सकेका थिएनन् ।

यो पनि पढ्नुहोस राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेजले प्रतिमेट्रिक टन  ३२०.२५ डलरमा मल ल्याउने ठेक्का हात पारेको थियो भने र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीले ३९०.९० डलरमा मल ल्याउने भनेको थियो ।

धरौटी जफतसँगै कालो सूचीको प्रक्रिया अघि बढाइने

ठेक्का सम्झौता अनुसार रासायनिक मल नल्याउने दुई नेपाली ठेकदारलाई कालो सूचीमा राखिने भएको छ । प्रचण्डका घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिने र कानुनबमोजिम क्षतिपूर्ति भराईने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

लिमिटेडको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनीका महाप्रबन्धक नेत्रबहादर भण्डारीले अनलाइनखबरलाई बताए । ‘हामीले दुई कम्पनीलाई चारवटा कारबाही गरेका छौँ जसमध्ये कालोसूची सिफारिस पनि एक हो,’ भण्डारीले भने ।

ठेक्का सम्झौता रद्द र धरौटी जफत गरेर कारवाहीको प्रक्रिया थालिएको तथा दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको भण्डारीले बताए । दुईवटालाई कारवाही तत्काल गरिएको  र थप दुईवटालाई कारवाहीका लागि कानुनी सल्लाह आवश्यक भएकाले कम्पनीमा यसको प्रक्रिया चलिरहेको उनको भनाइ छ ।

यसैवीच, नेपालमा मल रसायनिक कारखाना खोल्नेबारे अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उच्चस्तरीय कार्यदलसमेत गठन गरेको छ । कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

यो पनि पढ्नुहोस रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल गठन

समितिले नेपालमा मल कारखाना खोल्नेबारे अध्ययन गर्ने  मन्त्री भुसालले बताए । मल कारखानाबारे भएका पुरानो अध्ययन र अबका सम्भावनाबारे कार्यदलले प्रतिवेदन तयार गर्ने र सोहीअनुसार थप कार्य अगाडि बढाउने मन्त्री भुसालको भनाइ छ ।

कृषि सामग्री कम्पनी लिमिटेडको वक्तव्य

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment