Comments Add Comment

उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन : कर असुलीमा मात्रै ध्यान दिएका छैनौं

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायलाई समस्यामा फस्न नदिने बताएका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।

अर्थमन्त्रालयको जिम्मेवारीसमेत आफैंले राखेपछि प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रसँग छलफल गरेका हुन् । छलफलमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलका साथै अन्य मन्त्रीहरुको पनि उपस्थिति थियो ।

छलफलमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु सहभागी थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष सतिश मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतका उद्योगी व्यवसायीहरु बालुवाटारको सहभागी बैठकमा सहभागी थिए ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै होइन, निजी क्षेत्रको विकासका लागि पनि केन्द्रित रहेको उद्योगी व्यवसायीहरुलाई बताए । अहिले सरकारको मुख्य ध्यान नागरिकको जीवन बचाउन केन्द्रित भएको प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई बताए ।

छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘निजी क्षेत्रको समस्या प्रधानमन्त्रीज्यूले सुन्नुभयो, उहाँले उद्योग व्यवसायमा समस्या पर्न नदिने बताउनुभएको छ ।’ थापाका अनुसार नेपालमा काम गरेर खान समस्या नरहेको भन्दै स्वदेशमै परिश्रम गर्नुपर्नेमा समेत प्रधानमन्त्रीको जोड छ ।

‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरु यो अवस्था बुझेर देशभित्र क्रियाशील हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो,’ थापाले भने ।

छलफलमा निजी क्षेत्रका अगुवाहरुले बन्दाबन्दी नै सधैं समाधान नभएको भन्दै मापदण्ड बनाएर बन्दाबन्दी खोल्नुपर्ने माग राखेका थिए ।

यो पनि पढ्नुहोस अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा बालुवाटारमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment