Comments Add Comment

काठ नियन्त्रणमा लिँदा स्थानीयसँग झडप, प्रहरीसहित ५ जना घाइते

२२ भदौ, जनकपुरधाम । काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो ।

प्रहरीले स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०÷७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उक्त समूहको आक्रमणमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए । दुबैको महेन्द्रनगर हेल्थकेयरमा उपचार भईरहेको उनले बताए ।

उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ ।

स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment