Comments Add Comment

कोरोनाले थलिएको भारतमा चौतर्फी संकट

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको दोसो स्थानमा भारत आइपुगेको छ । पहिलो स्थानमा अमेरिका छ । यसअघि दोस्रो स्थानमा ब्राजिल थियो, तर भारतले ब्राजिललाई जितेको छ ।

नेपालसँग खुल्ला सीमाना जोडिएको भारत विश्वकै दोस्रो संक्रमित सूचीमा उक्लनु नेपालका लागि पनि सुखद विषय होइन ।

भारतमा अहिलेसम्म ४२ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने ७१ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यतिमात्र होइन, अहिले भारतमा दैनिक ९० हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित देखिन थालेका छन् ।

चिरञ्जीवी आचार्य

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने भारतमा अझै कोरोना भाइरसको कहर रोकिने संकेत देखिएको छैन ।

कोरोना भाइरसको संकट सामना गर्दैगर्दा भारतका सामु अन्य समस्याहरु पनि देखिएका छन् । जसले संकट थप बढाएको छ ।

बढ्दो क्रममा क्षयरोगको समस्या

कोरोना भाइरसको महामारी नियन्त्रणमा आफ्नो ध्यान खर्च गरेको भारतमा त्यसको प्रभाव आगामी दिनमा क्षयरोगजस्ता अन्य रोगमा समेत देखिन सक्ने जानकारहरुले चेतावनी दिएका छन् ।

महामारीमा भारत सरकारले आफ्नो ध्यान केन्द्रित गर्दैगर्दा क्षयरोगमा ध्यान नपुगेको र यसका कारण क्षयरोगको संक्रमण पनि बढ्न सक्ने र संक्रमितले उपचार पाउन नसक्ने अवस्था देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर क्षयरोगबाट हुने मृत्युमध्ये एक तिहाइ भारतमा हुने गर्छ । कोरोना महामारी शुरु हुनुभन्दा पहिला भारतमा क्षयरोगको कारण दैनिक एक हजार तीन सय मानिसको मृत्यु हुने गरेको थियो । त्यसैले भारतका लागि क्षयरोग ठूलो समस्याको रुपमा रहँदै आएको छ ।

भारतले सन् २०२५ सम्म मुलुकबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लक्ष्यअनुसार क्षयरोग उन्मूलनका लागि यस वर्ष भारतले करिब ३० लाख क्षयरोगबाट संक्रमित भएका मानिस पहिचान गर्ने लक्ष्य लिएको छ । तर, १० अगष्टसम्मको तथ्यांक हेर्ने हो भने केवल १० लाख ५५ हजार संक्रमित फेला परेका छन् । यो लक्ष्यप्राप्ति ३६ प्रतिशतभन्दा पनि कम हो । अहिले पनि विश्वभर सबैभन्दा धेरै क्षयरोगका बिरामी भारतमा नै छन् ।

क्षयरोगका बिरामीको पहिचानमा मात्र होइन, पहिचान भइसकेका क्षयरोगका बिरामीको औषधि उपचारमा पनि समस्या पाइएको छ । महामारीको कारण क्षयरोगका बिरामीले खाने औषधि पाउन पनि समस्या हुने गरेको बीबीसीले गरेको रिपोर्टिङमा पाइएको थियो ।

औषधि लिइरहेका बिरामीले औषधि बीचमा छुटेको अवस्थामा क्षयरोग निको हुँदैन । लाखौंको संख्यामा क्षयरोगका बिरामी रहेको भारतमा औषधि खाँदै गरेर बीचमा छाड्ने क्षयरोगका बिरामीको संख्या पनि बढेको पाइएको छ । यसले भारतमा क्षयरोगका बिरामीको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, महामारीका कारण अन्य प्राणघातक रोगका लागि पनि पर्याप्त ध्यान दिन नसकिएको भारतका स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

आर्थिक संकट

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेको अर्को क्षेत्र भारतीय अर्थतन्त्र हो । सन् २०२४ सम्म ५० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने महत्वाकांक्षी लक्ष्य लिएर अघि बढेको भारतले सन् २०२० को पहिलो त्रैमासमा केवल तीन दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । यद्यपि वर्षको शुरुवाती तीन महिनामा भारतको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीको त्यति ठूलो असर पर्न पाएको थिएन ।

सन् २०२० को दोस्रो त्रैमासमा भने भारतको अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले ऋणात्मक भयो । यो सन् १९९६ मा भारतले त्रैमासिक विवरण सार्वजनिक गर्न थालेयताकै सबैभन्दा ठूलो गिरावट हो ।

सन् २०२० को दोस्रो त्रैमासको शुरुदेखि नै महामारी नियन्त्रणका लागि लगाइएको कडा प्रतिबन्धको कारण अर्थतन्त्र पनि समस्यामा परेको हो । यो अवधिमा संरचना निर्माण, व्यापार तथा होटल, उत्पादनमूलक क्षेत्र, उद्योग, खानीलगायतका महत्वपूर्ण क्षेत्रमा ठूलो गिरावट आएको देखिएको छ ।

यद्यपि वर्षको तेस्रो त्रैमासमा भारतको अर्थतन्त्रमा केही सुधार आउन सक्ने अर्थविदहरुले बताएका छन् । यद्यपि अझै पनि केही प्रतिबन्ध अझै जारी रहेको र कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकाले तेस्रो त्रैमासमा पनि अर्थतन्त्रमा धेरै सुधार भने नआउने विश्लेषकहरुले बताएका छन् ।

आन्तरिक आलोचना र सलहको प्रकोप

कोरोना भाइरसको महामारीको बीचमा भारतमा सरकारको पनि लोकप्रियतामा कमी आयो । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि लकडाउन घोषणा गर्नुपूर्व पर्याप्त अध्ययन र यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरकारको आलोचना भएको थियो ।

लामो समयको लकडाउनका कारण विभिन्न राज्यमा फसेका मजदुरहरुले त अझ घर फर्किन पाउनुपर्ने माग राख्दै आन्दोलन नै गरे । यस्तै समस्याको बीचमा शुरुमा खासै धेरै संक्रमित नभेटिँदै लकडाउनको घोषणा गरेको भारतलाई संक्रमित संख्या बढेसँगै लकडाउन खोल्नुपर्ने बाध्यता आइप¥यो । जसका कारण अहिले दिनानुदिन कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । जसको कारण सरकारले सही समयमा सही निर्णय लिन नसकेको भन्दै आलोचना भयो ।

विपक्षीहरुले भारतले लगाएको लकडाउनले कोरोना भाइरसको संक्रमण पनि रोक्न नसकेको र आर्थिक संकटबाट पनि बच्न नसकेको भन्दै सरकारमाथि प्रहार गर्दै आएका छन् ।

कोरोना भाइरसको महामारीकै बीचमा भारत सलहको चपेटामा पनि प¥यो । पाकिस्तान हुँदै भारत आएका सलहको कारण राजस्थान, मध्य प्रदेश र गुजरात सबैभन्दा नराम्ररी प्रभावित बने । सलहको कारण हजारौं हेक्टरमा लगाइएको बाली सलहले नष्ट ग¥यो ।

कूटनीतिक विवाद

कोरोना भाइरसको महामारीको समयमा भारतमा कूटनीतिक विवाद पनि चुलिएको छ । महामारीकै बीचमा गत जुन महिनाको मध्यमा भारतको लद्दाखस्थित चिनियाँ सीमा क्षेत्रमा दुई मुलुकका सेनाको बीचमा झडप भयो । यो झडपमा परी २० भारतीय सैनिकको मृत्यु भयो । यो झडपभन्दा अघिदेखि नै भारत–चीनबीच सीमाको विषयमा विवाद देखिएको थियो ।

झडपपछि भारतले टिकटकसहित ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । जसमा अधिकांश चिनियाँ कम्पनी थिए । चीनसँग पनि भारतको यो विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने सहमति भएको थियो ।

तर, विवाद यतिमै रोकिएन, एक साताअघि पुनः भारत–चीन सीमाक्षेत्रमा दुवै तर्फका सैनिक बीच झडप भयो । यो झडपपछि अहिले भारतले चीनसँग सम्बन्ध रहेका पबजीसहित ११८ मोबाइल एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसले यी दुई मुलुकबीचको सम्बन्धमा तनाव उत्कर्षमा पुगेको छ ।

यो तनावको कारण यी दुई मुलुकबीच महामारी नियन्त्रणमा कुनै किसिमको समन्वय हुन सकेन । जुन समन्वय कोरोना भाइरस नियन्त्रणको लागि महत्वपूर्ण सावित हुन पनि सक्थ्यो ।

चीनमात्र होइन, अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पनि चिसिएको छ । भारतले आफ्नो शक्तिको प्रयोग गर्दै उक्त नेपाली भूमिमा आफ्नो कब्जा जमाउँदै आएको छ । जसमा नेपालले भने आपत्ति जनाइरहेको छ । भारतले नेपालको भूमि प्रयोग गरेर मान सरोवर जाने बाटोको उद्घाटन गरेसँगै त्यसको विरोधमा नेपालले गत जेठ ७ मा नेपाललले कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी ग¥यो । यससँगै नेपाल र भारतको सम्बन्ध झन् चिसिएको छ ।

लामो समयदेखि भारतको प्रतिद्वन्द्वीको रुपमा रहँदै आएको पाकिस्तानले पनि महामारीकै बीचमा जम्मु कश्मीरलाई आफ्नो नक्सामा देखाउँदै नयाँ राजनीतिक नक्सा जारी ग¥यो । अघिल्लो वर्ष भारतले जम्मु र कश्मीरलाई दिँदै आएको स्वायत्तता खोस्दै नयाँ राजनीतिक नक्सा जारी गरेसँगै त्यसमा पाकिस्तान र नेपाललले आपत्ति जनाएका थिए । त्यसैको विरोधस्वरुप यी दुवै मुलुकले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेका हुन् ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment