Comments Add Comment

४ मिनेटको गीत, ८ मिनेटको भिडियो

पछिल्लो समय कुनै पनि गीतको सर्जक आफैले म्यूजिक भिडियोमा लगानी गर्ने र आफ्नै युटुब च्यानल खोलेर गीत सार्वजनिक गर्ने क्रम बढेको छ । थोरै मात्र सर्जकले अहिले कुनै व्यवसायिक कम्पनीलाई गीतको अधिकार दिने गरेका छन् । यसैले, पनि कलाकारको भिडियोमा लगानीको आम्दानीको मुख्य श्रोत युटुब बनेको छ ।

युटुबबाटै रकम कमाएर लगानी उठाउने चक्करमा धेरै कलाकार लाग्दा अहिले गीतसंगीतमा पनि विकृती बढेको चर्चा हुन थालेको छ । यसैले त बजारमा लामो समय चल्ने भन्दा पनि केही दिन चल्ने गीतहरु हाबी हुन थालेका छन् । जसले, गीतसंगीतको मार्धुयता मर्न थालेको टिप्पणी समेत नभएको होइन ।

पछिल्लो केही समययता तपाइले कुनै म्यूजिक भिडियो युटुबमा हेर्नु भयो भने, प्रायको लम्बाई ८ देखि १० मिनेटको हुने गर्छ । तर, भिडियो हेदैै जाँदा गीत ४ देखि ५ मिनेटमा सकिन्छ । यसपछि, भिडियो निर्माणकर्ताले सोही गीतको मेकिङ भिडियो, गायक–गायिकाको रेकडिङ भिडियो आदि राखेर ८ देखि १० मिनेट लम्बाएका हुन्छन् ।

धेरै दर्शकले यसलाई पट्यारलाग्दो पनि बनाएको छ । कतिपयलाई गीत सकिएपछि फेरि किन तन्काएको होला भन्ने पनि लाग्न सक्छ । उसो त, भिडियो कती मिनेट हेर्ने भन्ने अधिकार पूर्ण रुपमा दर्शकको हुन्छ ।

यसरी, भिडियो तन्काउनुको केही कारण छन् । म्यूजिक भिडियो निर्देशक तथा गायक सरोज वली भन्छन्–‘यसको मुख्य उद्देश्य भनेको नै युटुबबाट पैसा धेरै आउँछ भनेर नै हो । अहिले ८ मिनेट भिडियो बनाउँदा युटुबले विज्ञापन धेरै हालिदिन्छ । जसलेगर्दा, पैसा धेरै आउने संभावना हुन्छ ।’

आठ मिनेट भन्दा लामो भिडियोमा मात्र युटुबले विज्ञापन धेरै राखिदिने भएकाले सर्जकहरुले भिडियोको समय बढाएका हुन् । वली भन्छन्–‘८ मिनेट भन्दा कम समयका भिडियो भन्दा ८ मिनेट भन्दा लामो समयका भिडियोमा पैसा धेरै आएको मैले पनि पाएको छु ।’ अर्कोतिर भिडियो लामो हुँदा दर्शकले पनि लामो समयसम्म हेर्ने र यसले ट्रेन्डिङमा पनि चाडो पर्ने वुझाई वलीको छ ।

तर, यो कुरालाई ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल अस्विकार गर्छन् । उनी भन्छन्–‘यो सबै भ्रम हो । भिडियो लामो हुँदैमा पैसा धेरै आउने होइन । २ घन्टा भन्दा लामो चलचित्रले भन्दा ४ मिनेटका भिडियोबाट बढी पैसा आएको उदाहरण मसँग प्रशस्त छन् । दर्शकले चलचित्र पनि पुरै हेरेका हुन्छन्, भिडियो पनि पुरै हेर्छन् । तर, पैसामा खासै अन्तर छैन ।’

व्यवसायिक कम्पनीहरुले भन्दा व्यक्तिगत रुपमा खोलिएका युटुब च्यानलमा लामो भिडियो हाबी देखिएका छन् । तर, यसले युटुब च्यानलप्रतिको दर्शकको विश्वसनियता कमजोर हुने टिप्पणी केहीको छ ।

अर्कोतिर, भिडियो लामो देखेपछि दर्शकले सो भिडियो क्लिक गर्ने संभावना पनि कम हुन्छ । तर, युटुब नै आम्दानीको मुख्य श्रोत हुँदा धेरै सर्जकले गीत सकिएपछि पनि विभिन्न तानाबुना बुनेर भिडियो तन्काउने गरेका छन् । यसले, दर्शकलाई च्यानल र सो गीतप्रति नै पट्यार लाग्ने संभावना पनि उत्तिकै हुन्छ भन्ने वुझ्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment