Comments Add Comment

भारतमा कोरोना : संक्रमितको संख्यामा रेकर्ड, मृत्युदर भने कम

२४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो बढी प्रभावित मुलुक भारतमा अहिलेसम्म ४३ लाख ७० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । उनीहरुमध्ये ७३ हजारभन्दा धेरैको मृत्यु भएको छ । झण्डै ३४ लाख संक्रमणमुक्त भएका छन् ।

हाल देशरभरमा झण्डै ९ लाख सक्रिय संक्रमित रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबारको रेकर्ड

भारतमा गत मार्चबाट निरन्तर कोरोना संक्रमित भेटिन थालेका हुन् । अगष्ट ७ मा कोरोना संक्रमितको संख्या २० लाख नाघेको थियो । तर एक महिनामा ४२ लाख नाघ्यो ।

सोमबार त रेकर्ड नै बनाएर एकैदिनमा अहिलेसम्मकै धेरै ९० हजार ८०२ संक्रमित भेटिए । दैनिक भेटिने नयाँ संक्रमितको संख्याले ९० हजारको आँकडा भने आइतबार छोएको थियो । मंगलबार ७५ हजार ८०९ मा संक्रमित भेटिएकामा बुधबार फेरि  ८९ हजार ७०६ संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसका कारण भएको मृत्युको आंकडामा पनि भारत तेस्रो स्थानमा छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ८९ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा एक लाख २६ हजारभन्दा धेरैले ज्यान गुमाए । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार नाघेको छ ।

भारतको कमजोर स्वास्थ्य प्रणाली, गरिबी र सचेतनाको अभावजस्ता कुराले कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा फैलिन्छ भन्ने पूर्वानुमान त पहिला नै थियो ।

सरकारले सही समयमा कोरोना नियन्त्रणको लागि सही कदम चाल्न नसक्नुले संक्रमण बढाउन थप सहयोग गर्‍यो । यद्यपि भारतको मृत्युदर भने अन्य मुलुकको तुलनामा कम छ ।

मृतक संख्याको वृद्धिदर पनि कम छ । गत अगष्ट १ मा भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ हजार पुगेको थियो । यो संख्या दोब्बर हुन भने एक महिना ९ दिन लागेको छ । संक्रमित संख्या दोब्बर हुन लागेको समयभन्दा यो समय बढी हो ।

भारतमा कोरोनाका समग्र संक्रमितमध्ये मृत्यु हुनेको संख्या एक दशमलव ७ प्रतिशत छ । जबकी विश्वव्यापीरुपमा भने यो दर तीन दशमलव ३ प्रतिशतको हाराहारीमा छ । प्रति १० लाख मानिसमा कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा ४८ छ । जबकी विश्वव्यापी औसत ११० छ । साथै यो दरमा बेलायत, ब्राजिल, अमेरिका, मेक्सिको, कोलम्बिया, इरान, दक्षिण अफ्रिकालगायतका मुलुक अगाडि छन् ।

मृत्युदर कम हुनुको कारण

भारतीय विशेषज्ञहरुका अनुसार अहिले भारतमा धेरै नयाँ संक्रमित फेला परिरहेको र फेला पर्नेमा अधिकांशमा कोरोना भाइरसको कुनै लक्षण नदेखिनु वा सामान्य लक्षण मात्र देखिने गरेको छ ।

लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका संक्रमितमा कोरोनाका कारण मृत्यु हुनेको जोखिम निकै कम हुन्छ । त्यसैले पनि भारतमा कोरोना भाइरसको मृत्युदर कम देखिएको हो । केहीले भने भारतले समयमा नै आवश्यक संख्यामा आईसीयू बेड र अक्सिजनको क्षमता विस्तार गरेको कारण मृत्युदरमा कमी आएको हुन सक्ने बताएका छन् ।

त्यसो त भारतले सार्वजनिक गरेको मृत्युको तथ्यांकमा पनि आशंका गर्ने प्रशस्त स्थान छन् । द लेसेन्टमा प्रकाशित एक प्रतिवेदनअनुसार भारतमा विभिन्न कारणले डब्ल्यूएचओको मापदण्डअनुसार कोरोनाबाट भएको मृत्युमा समावेश गर्नुपर्नेहरुलाई समावेश गरिएको छैन ।

घरमै मृत्यु भएकाहरु पनि सरकारी तथ्यांकमा नजोडिएको हुनसक्छ । यसले पनि भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या अन्य मुलुकको तुलनामा कम देखिएको हुन सक्छ ।

भारतमा कोरोना संक्रकणबाट मृत्यु हुनेको दर कम देखिनुको अर्को कारण रोग प्रतिरोधी क्षमता पनि हो । भारतमा औलो, बीसीजी, पोलियोलगायतका विभिन्न खोपहरुको कारण मानिसहरुमा कोरोना भाइरसको कारण देखिने केही लक्षणहरुसँग मिल्दोजुल्दो रोगविरुद्ध विकास भएको प्रतिरोधी क्षमताको कारण मानिसहरुमा कोरोना भाइरसको लक्षण पनि कम देखिएको छ र मृत्यु हुनेको संख्या पनि कम छ ।

यसअघि बीबीसीले प्रकाशित गरेको एक सर्वेक्षणले पनि यो कुरालाई पुष्टि गरेको थियो । अफ्रिकामा गरिएको उक्त अध्ययनमा मानिसहरुमा अन्य भाइरसका लागि दिइएको खोपले उनीहरुमा कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास भएको पाइएको थियो । अफ्रिकामा पनि कोरोना भाइरसको संक्रमणको मृत्युदर अन्य क्षेत्रको तुलनामा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment