Comments Add Comment

संकटकालमा मात्रै सेना परिचालन हुन्छ : प्रधानसेनापति

'रक्षा मन्त्रालय र जंगी अड्डावीच द्विविधा छैन'

२४ भदौ, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरे ।

सम्पादकहरुसँगको अन्तरक्रियामा सम्वोधन गर्दै प्रधानसेनापति थापाले भने, ‘सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्दछ। यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।’

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएको थापाले बताए । ‘नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको छ’ थापाले भने, ‘सरकारको आदेश पालना गर्नु सेनाको दायित्व हो ।’

स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डावीच कुनै द्विविधा नरहेको प्रधानसेनापति थापाले बताए । स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको म्यान्डेटअनुसार गरिएको बताउँदै उनले त्यसका लागि अहोरात्र खटिने जर्नेलहरु र मन्त्रालयका कर्मचारीलाई निरुत्साहित गर्न नहुने गुनासोसमेत गरे । थापाले भने, ‘उहाँहरुले मेहनतपूर्ण ढंगले काम गर्नुभयो, त्यसको प्रशंशा गर्नुपर्छ । उहाँहरुको कामलाई अवमूल्यन गरियो भने भविष्यमा यस्ता काम गर्दा दुईचोटि सोच्नुपर्ने हुन्छ ।’

प्रधानसेनापति थापाले सैन्य प्रमुखको जिम्मेवारी २०७५ साल भदौ २४ गतेदेखि सम्हालेका हुन् । आफ्नो दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको र अब तेस्रो वर्षमा नेपाली सेनाको सुदृढीकरणमा जोड दिने उनले बताए । सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानसेनापति थापाले आफूले दुई वर्षमा गरेका कामहरुको फेहरिस्थ प्रस्तुत गरेका थिए । तीन वर्षे कार्यकाल पूरा भएपछि थप अवधि पदमा बस्ने कुनै ईच्छा नरहेको थापाले बताए । आफूले संगठनात्मक र व्यक्तिगत रुपमा पनि पारदर्शितालाई रणनीति बनाएको उनले बताए ।

प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा र सूचनाको हकका वीचमा अन्तरसम्बन्ध रहेको बताउँदै सञ्चार माध्यमसँग सेनाले सुमधुर सम्बन्ध बनाउन चाहेको बताए । नेपाली सेनालाई व्यवसायीकरण गर्नुपर्ने बताउँदै उनले कल्याणकारी कोष, बाटो निर्माण जस्ता विषयलाई ब्यापारसँग जोड्न नमिल्ने बताए । उनले भने,’कल्याणकारी कोष व्यापारीकरण होइन ।’

यो पनि पढ्नुहोस ‘एउटा सिपाही जागिर छाडेर किन विदेश जान्छ ?’

नेपाली सेनाको संख्या र लोकतान्त्रीकरणका विषयमा हुने गरेको बहसलाई सेनाले सकारात्मक रुपमा लिएको थापाले बताए । ‘नेपाली सेनाको लोकतान्त्रीकरण भन्दै आइएको छ,’ थापाले भने, ‘यसलाई नेपाली सेनाको व्यवसायीकरण भन्दा राम्रो सुनिन्छ ।’

सानो देशको सेनाले पनि आफ्नो मुलुकको रक्षा गर्न सक्ने बताउँदै प्रधानसेनापति थापाले युद्धका लागि सेना सधैं तयारी अवस्थामा रहनुपर्ने बताए । थापाले भने, सानो हुँदैमा राष्ट्रको रक्षा गर्न सक्दैनौं भन्ने होइन, अंग्रेजसँग पनि हामी लडेकै हौं ।’

जंगी अड्डामा सम्पादकहरुसँग छलफल गर्नुअघि प्रधानसेनापति थापाले आफ्नो कार्यकालको दोस्रो वर्षगाँठ पूरा भएको अवसरमा सेनाका सकल दर्जालाई तीन घण्टा लामो सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment