Comments Add Comment

दैलेखमा विभत्सरुपमा गोरु काटेको आरोपमा २ जना पक्राउ

२६ भदौ, सुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भैरवी गाउँपालिका-२ रावतकोटका २२ वर्षीय राजु विष्ट र भीमबहादुर विष्ट रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

‘घटनाबारे अनुसन्धान भैरहेको छ,’ एसएसपी बास्तोलाले भने, ‘हामीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं । बाँकी अनुसन्धानका क्रममा खुल्छ ।’

भैरवी गाउँपालिका-२, रावतकोटका कमल थापाको घर नजिक बाँधिएका दुईवटा गोरुलाई विभिन्न ठाउँमा विभत्सरुपमा काटेर हत्या प्रयास गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

शुक्रबार बिहान घाँस हाल्न जाँदा दुईटै गोरुलाई रक्ताम्मे अवस्थामा देखेपछि थापाले प्रहरीलाई खबर गरेका थिए । ‘हिजो बेलुका घर अगाडि गोरु बाँधेर, घाँस दिएर घर गए,’ उनेले भने, ‘बिहान घाँस हाल्न जाँदा त दुइटै गोरु रक्ताम्मे थिए । सायद गएराति नै होला गोरुको खुट्टा र मुख काटिएको छ ।’

एउटा गोरुको मुखमा धारिलो हतियारले छेदविछेद् पारेर काटिएको छ । अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ भने मुख र जुरोमा समेत धारिलो हतियारले काटिएको छ ।

दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा पक्राउ परेका व्यक्तिहरुसँग विवाद भएको जनाए । सामान्य विवादका कारण विष्टले नै गोरु काटेको थापाको आरोप छ ।

के छ कानुनी व्यवस्था ?

यस्तो कार्य गर्ने व्यक्तिलाई कैद र जरिवाना दुवै सजाय हुने कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिताको दफा २८९ मा यस्तो कार्यलाई पशुपंक्षीसम्बन्धी कसूरका रूपमा व्याख्या गरिएको छ ।

२८९ को उपदफा १ मा कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्‍याउने नियतले काम गर्न र गराउन नहुने उल्लेख छ । यसरी कुनै गाई गोरू मरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

उपदफा ३ मा कसैले गाई वा गोरूलाई कुटी अंगभंग पारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment